विराटनगर । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रियस्तरको अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा प्रेरणा प्रियम मेहता चौथो भएकी छन् ।
एसटीयू सेन्टर नेपालले आयोजना गरेको प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत मेहताले पहिलो चरण पार गर्दै दोस्रो चरणमा चौथो (सान्त्वना) स्थान हासिल गरेकी हुन् । देशभरका ९८ कलेजका प्रतिस्पर्धी सहभागी उक्त प्रतियोगितामा ९५ जनालाई पछि पार्दै उनले यो सफलता हात पारेकी हुन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख नौ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए भने चौथो भएकी मेहताले नगद नौ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । अनलाइन माध्यमबाट आह्वान गरिएको प्रतियोगिताको नतिजा अनलाइन भोटिङको ५० प्रतिशत र निर्णायकको मूल्यांकनको ५० प्रतिशत अंकभारका आधारमा तय गरिएको सेन्टरका संयोजक प्रज्ज्वल अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रा.डा. जीवलाल सापकोटा र डा. गीता त्रिपाठी रहेका थिए । उक्त सेन्टरमा जलवायु विज्ञ विजय हितानसमेत आबद्ध छन् । यसैबीच, कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले प्रेरणा पढाइमा समेत अब्बल रहेको बताउँदै कलेजले नियमित रूपमा आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा पनि उनको सक्रिय सहभागिता रहने गरेको जानकारी दिए ।