प्रदेश–एककाे नाम सहमतिबाट टुंगाे लगाउँछाैँ: मुख्यमन्त्री राई

प्रदेश–एककाे नाम सहमतिबाट टुंगाे लगाउँछाैँ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश एकको नाम सर्वसम्मत तरिकाले टुंग्याउनमा सरकार दत्तचित्त भएर लागिपरेको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्। विराटनगरमा शनिबार रिपब्लिक हेराल्ड मिडियाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले केही समयपछि प्रदेशसभा बैठक बस्ने र प्रदेश एकको नामको विषयमा छलफल अघि बढ्ने बताए। उनले भने, ‘प्रदेशको स्थायी राजधानी सहमतिबाटै जुटेको पाठ अनुसरण गर्दै नाममा पनि हामी सर्वसम्मत रुपमै सहमति जुटाउने छाैँ।’

प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागि सक्दासमेत प्रदेशको नाम जुराउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ। सोही सन्दर्भमा मुख्यमन्त्री राईले प्रदेशको नाम पनि सर्वसम्मत रुपबाट टुंग्याउने बताए।

कार्यक्रममा मुख्यमन्त्री राईले मिडियाले नकारात्मक कुरालाई अधिक प्रश्रय दिँदै आएको गुनासो गरे। पछिल्लो समय कार्यक्रमहरुमा मुख्यमन्त्री राई मिडियामा आउने नकारात्मक विषयमाथि टिप्पणी गर्दै आएका छन्। उनले भने, ‘यहाँ धेरै मिडियामा, समाजमा नकारात्मकताले गाँजेको छ। हेराई, सोच, बोलाई सबैलाई नकारात्मकताले गाँजेको छ। यी सबैबाट नकारात्मकतालाई हटाउन मिडियाको भूमिका अहम रहने गर्दछ’, उनले भने, ‘मिडियामा विशेषगरि अनलाइनको सबैभन्दा बढी दुरुपयोग भइरहेको छ। मिडियाको दुरुपयोग गर्ने क्रममा यसको प्रभावकारीता बढाउने कुरामा हामीले जिम्मेवारीबोध गर्नु आवश्यक छ।’

कार्यक्रममा उनले नयाँ नेपाल निर्माण तथा संविधान र संघीयता कार्यान्वयमा समेत मिडियाको भूमिका महत्वपूर्ण हुने बताए। सोही कार्यक्रममा नेपाली कांग्रेस प्रदेश एकका प्रमुख सचेतक केदार कार्कीले मिडिया विधेयकले सञ्चारजगतलाई अंकुश लगाउने खेलमा सरकार लागेको आरोप लगाए।

मिडियामा नकारात्मक विषय हावी हुँदै गएको सन्दर्भमा प्रमुख सचेतक कार्कीले भने, ‘प्रमुखको पदमा आसिनलाई अब मान सम्मान र सकारात्मक कुराको अपेक्षा बढेको छ। जे–जे काम हुन्छ त्यसमा सकारात्मक कुरामात्र लेखिदिने इच्छा पलाएको छ। यसले हामी प्रजातान्त्रिक परिपार्टीबाट आएर निरंकुशवादी हुन खोजिरहेको जनाउँछ।’

मिडियामा नकारात्मक समाचार नआओस् भन्नुको अर्थ सबै कुरामा मिडियाको भूमिकालाई कम गराउने चाहना बढेको प्रमुख सचेतक कार्कीले उल्लेख गरे। समाचार लेखेकै भरमा पत्रकारलाई धम्की दिने प्रवृत्ति रहेको हुनाले मिडियाले निष्पक्ष रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा हेराल्डका अध्यक्ष प्रभात खड्काले सत्य तथ्य कुरामा अडिग रहेर काम गर्ने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्