विराटनगरमा हँसाउँदै र रुवाउँदै ‘छिँडीभरिको आकाश’ सकियो

विराटनगरमा हँसाउँदै र रुवाउँदै ‘छिँडीभरिको आकाश’  सकियो

विराटनगर । साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेको ‘छिँडीभरिको आकाश’ कथालाई नाटकमा रूपान्तरण गरेर विराटनगरमा मञ्चन गरिएको छ।

प्रधानले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर पुग्दा देखेका र भोगेका घटना उतारेर तयार पारेको कथाको युवा साहित्यकार कटवाल दीपकले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन्। हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मंसिर २८ गतेदेखि यसको मञ्चन सुरु भएको थियो। छिनमै हँसाउँदै र छिनमै रुवाउँदै ‘छिँडीभरिको आकाश’ नाटकको मञ्चन सकिएको छ।

हरेक दिन दर्शकको उल्लेख्य सहभागिता र उपस्थितमा मञ्चन गरिएको नाटकले दुव्र्यसनले एउटा परिवारलाई कसरी तहसनहस बनाउँछ भन्ने देखाएको थियो। नाटकले रुवाउने मात्रै काम गरेन, पेट मिचिमिची हँसाउन बाध्य पनि पारेको थियो। नाटकमा हँसाउने र रुवाउने दुवै दृश्य भएकाले पनि दर्शकले रुचाएको निर्देशक कटवालले बताए।

नाटक हेरिरहँदा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की,मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठी, प्याब्सन मोरङकी वरिष्ठ उपाध्यक्ष शीतला सुब्बा, सचिव प्रेमलाल सुवाल, वरिष्ठ समाजसेवी बेणीगोपाल मुन्दडालगायत पनि आँसु झार्न बाध्य भएका थिए। गोजीबाट रुमाल झिकेर थामिन नसकेको आँसु पुछ्दै उनीहरूले नाटक भने हेरिरहे।

‘नाटकको कथामा घटेको घटना क्रमभन्दा हाम्रो समाज अझै पनि माथि उठ्न सकेको छैन भन्ने प्रस्ट हुन्छ’, एसपी अधिकारीले भने, ‘त्यही भएर तहसनहस भएको परिवार र बिगिँ्रदै गएको समाजको दुर्दशा प्रस्तुत गरिएका कारण पनि नाटकले सबैलाई रुवाएको हो।’ नाटकबाट प्रभावित भएका राठीले कलाकारलाई प्रोत्साहित गर्न भन्दै १० हजार रुपैयाँ प्रदान पनि गरे।

कुलतका कारण परिवार ध्वस्त भएको विषय उठान गर्दै नाटकमा बेरोजगारी, महिला हिंसा, बालमनोविज्ञानलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको थियो। नाटकको मञ्चन ३२ वटा सोमा गरिएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्षसमेत रहेका कटवालले बताए। ११ हजारभन्दा बढी दर्शकले नाटक हेरेको जानकारी उनले दिए।

विद्यालय र क्याम्पसले अग्रिम सो बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाएका थिए। ग्रामीण र सहरिया जीवनलाई सशक्त रूपमा उठान गरिएको नाटक मानिसलाई सही मार्गमा लाग्न प्रेरित गर्ने खालको भएकाले पनि दर्शकको चाप बढेको आयोजक संस्थाका सल्लाहकार मीनकुमार नवोदितको भनाइ छ। ‘दुव्र्यसनका कारण एउटा परिवार कसरी ध्वस्त हुन्छ भन्ने विषय कारुणिक रूपमा प्रस्तुत गरिएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भयो,’ उनले भने, ‘नराम्रो काममा लाग्दा कस्तो परिणाम प्राप्त हुन्छ भन्ने सन्देश दिएकाले पनि विद्यार्थीले बढी रुचाए।’ अहिले विद्यार्थीलाई नाटक देखाउनु भनेको भोलिका दर्शक तयार गर्नु भएको उनको भनाइ छ।

विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन्। नाटकमा सन्देश बाराकोटी, अनुशा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, विवेक आचार्य, पार्वती कटवाल, अनुशा भण्डारीले अभिनय गरे। यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटकसमेत यही मञ्चन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्