विराटनगर । कुरा आज भन्दा २८ बर्ष पहिलाको हो । विराटनगरको ट्राफिक चोकको दक्षिणमा निल सदन थियो । त्यसको आसपास बिहानै सबैसाधारणको ओहोर दोहोर हुन्थ्यो । हरेक दिन पुर्वाञ्चल आश्रममा शारदा अधिकारी आउजाउ गर्थिन् । उनी अस्पतालमा ड्युटि गर्थिन् गर्ने अनी आश्रममा सहयोग गर्थिन् । एकदिन बिहानै उनी त्यही सडकमा हिँड्दै गर्दा करिब ६ बजेतिर त्यो निल सदनको छेउमा एउटा बच्चा नालीमा र आमा सडकमा लडिरहेको देखिन् । उनले त्यो बारेमा आश्रममा फोन गरेर जानकारी दिईन् । सीता पोखरेलले एम्बुलेन्स बोलाईन् र उनलाई तत्काल अस्पताल लिएर जान भनिन् । त्यो बेला ती शिशु र महिलालाई उठाउने कोही पनि देखिएनन् ।बच्चा र आमा दुबैलाई कोशी अञ्चल अस्पताल पठाईन् । उपचार हुँदै गर्दा उनी दिउँसो १२ बजे तिर त्यहाँ गईन् ।
आमाको अबस्था निक्कै अप्ठेरो थियो, बेहोशी अबस्थाकी आमा अस्पताल लगेर होस् आएपछि कराउँदै हिडिन्, तर बच्चाको त्यही अस्पतामा उपचार हुँदै थियो । अस्पतालबाटै आमा भागेपछि बच्चालाई कसले हेर्ने समस्या देखियो । अस्पतालमा उपचारका लागि राखिएको शिशुलाई सीताले तीनदिनको उपचार पछि आश्रममा ल्याएकी थिईन् ।
गाईको दुध खुवाउने, लिटो खुवाउने गर्दै हुर्काएकी सितासँग ति शिशुमात्र थिएनन् दुध खाने दुधे बालकहरु मात्र ७ जना सहित १७ जना थिए । दुधे बालबालिकालाई हुर्काउँदै उर्दा ति शिशु करिब ६ महिनाको पुगेकी थिईन् । उनको नाम आश्रममा श्यामा राखिएको थियो । उनलाई श्यामा भनेर बोलाउँदा यताउता हेर्ने बोलुँला झै गर्ने ति शिशुलाई लिनको लागि बिभिन्न ठाउँहरुबाट आउँथे तर सीता आफैँले हुर्काउने भन्थिन् ।
एकदिन पुर्वाञ्चल आश्रममा केही ब्यक्तिहरु पुगे । धेरै जना बालबालिकाहरु रहेकोले त्यहाँको बारेमा जानकारी लिएर फर्किएका स्पेनी नागरिक डाक्टर लुईस पुजलले त्यहाँको एउटा बच्चा आफ्ने धर्म पुत्रको रुपमा लैजाने मनस्थितीमा पुगे । उनी कानुनी प्रक्रियामा लागे । जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुगेर एउटा शिशु विदेश लैजानको लागि सबै कानुनी प्रक्रिया पुरा गरेर त्यहाँ पुगे । यतिका कानुनी प्रक्रिया पुरा गरेर आएका लुईसलाई कुन बच्चा दिने त भन्नेमा सिता अन्यौलमा परिन् । त्यो बेलाकी सबैभन्दा सानी र सबैकी प्यारी त्यही छोरी श्यामालाई दिने मनस्थितीमा सिता पुगिन् र श्यामालाई डाक्टर लुईसको जिम्मा लगाईन् । श्यामालाई लुईसको जिम्मा लगाउँदा उनको मन कुँडिएको थियो । त्यसरी पठाएको शिशुको बारेमा बेला बेला जानकारी लिन भने उनले कहिल्यै छाडिनन् ।
२८बर्ष पछि...
विराटनगरको निल सदनको नालीमा फालिएको बालिका स्पेन पुगेर २८ बर्षपछि आफन्त खोज्न फर्किईन् । स्पेनका डाक्टर लुईस् र नर्स मुन्से पिनेदाले बुबा र आमा बनेर उनलाई हुर्काए । अहिले उनी २८ बर्ष पुगेकी छिन् । उनी सानै हुँदा स्पेन लगिएकोमा बिस्तारै उनी बढ्दै जाँदा लुईस र मुन्सेको अर्को एउटा छोरा पनि जन्मियो पाउ पुजल । उनीहरु अहिले दुईजना छन् ।
शुक्रवार उनीहरुको सबै परिवार बिराटनगर आयो । श्यामालाई आफुलाई नेपालबाट लगिएको हो भन्ने कुरा उनका बुबा लुईस र आमा मुन्सेले यस अगाडी नै जानकारी गराई सकेका थिए । ६ महिनाकी हुँदा स्पेन लगिएकी श्यामा अहिले लाया भएकी छिन् । उनको नाम लाया पुजल पिनेदा हो ।
उनलाई नेपाली बोल्न आउँदैन । उनी आफु कस्तो अबस्थामा थिएँ भनेर जानकारी लिनको लागि नेपालमा आउँदा अर्को आमाबुबा पाएकोमा खुसी हुँदै उनका आँसु टिलपिलाए । शुक्रवार साँझ उनलाई नालीमा फालिएको ठाउँको बारेमा जानकारी लिन मात्र गईनन् त्यो बेला भाडाको आश्रम बसेको घर पनि हेर्न गईन् ।
त्यो बेला आश्रम ३ वटा कोठाबाट चल्थ्यो । आश्रममा १७ जना बालबालिकाहरु थिए । जीवन उपहारको रुपमा पाएकोमा लाया खुसी छिन् । दोश्रो आमाबुबा मिलाईदिएकोमा उनले निक्कै खुसी ब्यक्त गर्दै आफ्नी धर्मआमा मुन्सेलाई र बुबा लुईसलाई धेरै धन्यवाद दिईन् । ‘लायालाई लिएर २८ बर्ष पछि पहिलो पटक आएको हुँ, मुन्सेले भनिन्, त्यो बेला एउटा छोरी लिएर गएको थिएँ, अहिले एक छोरा र एक छोरी लिएर आएकी छु ।’
शुक्रवार र शनिवार दुईदिन आश्रममा बिताएकी लाया हिड्नै लाग्दा आश्रम संचालन गर्दै आएकी सिताका गहभरी आँसु थिए । सिताले भनिन्, ‘आज फेरी सम्झाउन आई रुवाएर गइ ।’ सिता यसरी आउने आँसु हर्षको हुने गरेको सुनाउँछिन् ।