आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै , ओमानसँग बदला लिने अवसर

आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै , ओमानसँग बदला लिने अवसर

आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज (आइतबार) नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदानमा भएको पहिलो खेलमा १८ रनले पराजित भएको नेपाल सिरिज अन्तर्गत आज तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० मा सुरु हुने छ ।

आजको खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर छ ।नेपालले प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । आजको खेलमा पनि नेपाल जित निकाल्दै सिरिजमा आफूलाई बलियो बनाउने योजनामा छ । ओमानलाई पराजित गर्न सकेमा नेपाललाई अघिल्लो चरणका खेलहरुमा सहज हुनेछ । उता ओमान पनि नेपाललाई लगातार दुई खेलमा हराउने योजनामा छ ।

खेलअघि बोल्दै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अघिल्लो खेलमा जस्तो गल्ती नदोहोर्याउने बताएका छन् । उनले पहिलो खेलमा नेपाली टोलीको घेरै कुरामा कमजोरी भएको हुनाले जित्न लागेको खेल पनि गुमाउनु परेको बताए ।

“पहिलो खेलमा हाम्रो कमजोरी धेरै ठाउँमा भयो । अघिल्लो खेलमा भएको कमजोरीलाई नदोहोर्याउने पक्षमा हामी छौं । हामीले फिल्डिङ र ब्याटिङको कुरामा धेरै ध्यान दिन आवश्यक छ । घरेलु मैदान भएकाले हामीलाई धेरै कुरामा सहज छ । यो अवसरलाई हामीले गुमाउनु हुँदैन,” कप्तान मल्लले भने ।

यस्तो छ नेपाल र ओमानको हालसम्मको रेकर्ड

नेपालले ओमानसँग यसअघि ८ पटक खेलिसकेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला पाँचवटै खेलमा पराजय बेहोरेको छ । ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो ।

जसमा नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५३ रन बनाएको थियो भने १५४ रनको लक्ष्य पछ्याएको ओमान ३५.३ ओभर खेल्दै सबै विकेट गुमाउँदै ४८ रनमा समेटिएको थियो । जुन खेलमा नेपाल १०५ रनले विजयी भएको थियो ।

ओमनसँगको दोस्रो खेल नेपालले सन् २०१० अप्रिलमा भएको एसीसी ट्रफी एलिटमा खेलेको थियो ।

त्यसमा पनि नेपालले ओमानमाथि ६ विकेटको शानदार जित हात पारेको थियो । ओमानले दिएको १६९ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ३८.३ ओभरमा पूरा गरेको थियो ।

त्यस्तै, नेपाल र ओमानबीच तेस्रो भेट सन् २०१३ मे २ को आईसीसी क्रिकेट लिग डिभिजन ३ मा भएको थियो । तेस्रो खेलमा पनि नेपालले २८ रनको जित हात पारेको थियो । निर्धारित ५० ओभरमा नेपालले ९ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

१६१ रनको लक्ष्य पछ्याएको ओमनलाई नेपालले ४६.४ ओभरमा सबै विकेट समाप्त पार्दै १३२ रनमा समेटिएको थियो ।त्यसको १ वर्षपछि सन् २०१४ मे ४ मा भएको एसीसी प्रिमियर लिगमा भने पहिलो पटक ओमनसँग नेपाल पराजित भएको थियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४५ ओभरमा सबै विकेटको क्षतिमा १५७ रन बनाएको थियो । जसलाई ओमनले ४७.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि नेपाल २ विकेटले पराजित भएको थियो ।नेपाल र ओमानको भेट सन् २०१५ नोभेम्बर १४ मा भएको एसोसिएट म्याचमा पनि नेपाल पराजित भएको थियो ।

पहिलो ब्याटिङ गरेको नेपालले ४९.३ ओभर खेल्दै १८४ रन बनाएको थियो भने १८५ रनको लक्ष्य पछ्याएको ओमानले ४८.१ ओभरमा पूरा गरेपछि नेपाल ओमनसँग ३ विकेटले पराजित भएको थियो ।

नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । टस हारेर पहिला ब्याटिङ निम्तो पाएको नेपालले १३८ रन बनाएको थियो भने उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो ।

त्यसपछि नेपालले एसिया कप क्वालिफायर्समा नेपाल ओमानसँग पराजित भएको थियो ।

जसमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

जवाफमा ब्याटिङ गरेको ओमानले ४८ ओभरमा मात्र तीन विकेट गुमाएर २२४ रन बनाएको थियो । त्यस्तै ओमानले आयोजना गरेका टि–ट्वान्टी सिरियामा नेपाल ओमानसँग सहजै पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ११ ओभरमा अल आउट हुँदै ६४ रन बनाएको थियो ।  जवाफमा ब्याटिङ गरेको ओमानले ११ ओभर ५ बलमा चार विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।

घरेलु मैदानमा भएको पहिलो एकदिवसीय सिरिजमा नेपालले टस जितेर पहिले बलिङ गरेको थियो ।

ओमानले निर्धारित ५० ओभरमा सबै ९ विकेट गुमाउँदै १९७ रन बनायो जवाफमा ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १७९ रन बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्