विराटनगर । पूर्वी नेपालको सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। उक्त क्षेत्र नेपाल–तिब्बत सीमा क्षेत्रमा पर्दछ।
भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ। बिहानै गएको भूकम्पले स्थानीयवासी त्रसित भएका छन्। यद्यपि, भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भए/नभएको विवरण सार्वजनिक भइसकेको छैन।
यता अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यको मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर दूरीमा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको हो।