विराटनगरको देवकोटा चोकमा रहेको उमेश गिरीले चलाएको "गिरी पान पसल" को उमेर ४० बर्ष माथि पुगेको छ । बि.स २०३६ सालमा उमेश १३ बर्षको छदा सुरु गरिएको उक्त पान पसलले नै गिरीको घर परिवार चलेको छ , छोराहरु पढाएका छन् र जीवन निर्वाह गर्दै आएका छन् । उनले यहिँ पान पसलबाट आफ्ना २ सन्तान पढाएका छन् ।
४० बर्ष अघि २२ सय रुपैयामा उमेशका बुबाले उनलाई यो पसल किनीदिएका थिए । कुनै समय पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला पनि उक्त पसलमा आएर पान खाने गरेको उनि गर्वको साथ सुनाउछन् । पंचायत कालमा उनको पसलमा धेरै नेता आएर मिटिंग गर्थे तथा पान खान आउथे । अहिले पनि प्रदेश १ का ठुला नेता उनकोमा आउने गरेको सुनाउछन् ।
उमेशलाई ८-९ किसिमको पान बनाउन आउछ । उनलाई कसैले पान बनाउन भने सिकाएको हैन , आफै काम गर्दा गर्दै मिठो बनाउन थालेका हुन् । उनको पसलमा कुनै समय बिहान देखि रातिसम्म निक्कै भिड हुन्थ्यो । उनि बसेको भवन पुरानो जिल्ला विकास समितिको हो , नजिकै जिल्ला विकास समिति रहेको कारण कुनै बेला ६५ गाबिसका मानिस त्यहाँ आउथे तर संघियता आएपछि उनको ब्यापार ओरालो लाग्न थाल्यो । जिल्ला बिकास समितिको काम गाउँ गाउँमा हुन थालेपछि उनको अनुसार पसलमा मानिसहरुको चहलपहल खासै छैन अहिले ।
जनआन्दोलनको समयमा उनि पनि जुलुसमा गए तर प्रहरीको कुटाइबाट उनि घाइते भए । "मेरुदण्डको समस्या थियो , जनआन्दोलनको कुटाइले झन् बल्झियो" उनि त्यो दिन सम्झन्छन् ।आन्दोलनका घाइते भएपनि उनले कुनै सुविधा नपाएको उनि दुखेसो पोख्छन ।पंचायतकाल तथा जनआन्दोलनको समय धेरै नेतालाई प्रहरीबाट बच्न सहयोग गरेपनि कुनैपनि नेताले उनलाई पछी नहेरेको उनि दुख व्यक्त गर्छन ।
उनि आफु कर्ममा बिश्वास राख्ने गरेको र सधै मेहनत गरेर जीवन चलाउने उनको उदेश्य रहेको छ । पत्रकारितामा उनलाई ऋषि धमला एकदम मन पर्ने गरेको र उनले ऋषि धमलालाई उनि जस्तै अपांगहरुको लागि आवाज उठाउन अनुरोध गर्न धेरै पटक सम्पर्क गर्न खोजेपनि नसकेको बताउछन ।
उनको अनुरोध छ सरकारलाई "शारीरिक रुपमा अशक्तहरुको निम्ति सरकारले केहि गर्दिनु पर्यो" ।
-प्रस्तुति : बिबेक दाहाल