मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा हुने

मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा हुने

विराटनगर । मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ६ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. १ समितिको आयोजनामा हुने प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइने जनाईएको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने जनाएको हो ।
तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगितामा प्रदेशका १४ जिल्लाले सहभागिता जनाउने छन् । प्रतियोगितामा समूह ए मा झापा, धनकुटा, ताप्लेजुङ र इलाम बिच प्रतिस्पर्धा गर्नेछन् । समूह बी मा भोजपुर, उदयपुर र सोलुखुम्बु, समूह सी मा सुनसरी, पाँचथर र संखुवासभा, समूह डी मा ओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ बिच प्रतिस्पर्धा हुनेछ । समूह बिजेता र उपबिजेताले नकाउट खेल खेल्ने आयोजकले जानकारी दिएको छ ।
एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाले प्रतियोगितामा प्रथम हुने समुहले १ लाख ५१ हजार, दोस्रो ले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुने समुहले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार, उदयमान, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट डिफेन्सर र बेस्ट सर्भरलाई जनही १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने थापाले जनाए । प्रतियोगितामा ४८ लाख लाग्ने अनुमान गरिएको छ ।
१२ जना खेलाडी, टीम ब्यवस्थापक र प्रशिक्षक गरि एउटा जिल्लाबाट १४ जनाको समूहले सहभागिता जनाउने छ्न । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले उद्घाटन गर्ने प्रतियोगिताको समापन मुख्यमन्त्री शेरधन राईबाट हुने अध्यक्ष थापाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा प्रतियोगिता आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै यसले आन्तरिक पर्यटन प्रवद्र्धन समेत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्