हामी नेपाली कति लाचार !

हामी नेपाली कति लाचार !

सुभाष भण्डारी ।

खाडिमा नेपाली अलपत्र पर्छन । उनीहरुलाई घर फिर्ता गराउनु पर्यो भने हामीलाई गाह्रो हुन्छ । सरकार छ, तर त्यसको अनुभुती नागरिकमा छैन । विदेशमा कुनै नेपालीको मृत्यु हुन्छ, उसलाइ नेपालमा परिवारको जिम्मा लगाउन हामीले चन्दा उठाउनु पर्छ ।
बिना कारण बिना कसुर हाम्रा नेपाली दाजु भाइ दिदी बहिनीलाई मृत्युदण्डको फैसला हुन्छ, ब्लडमनी उठाउन हामीले संसार भरबाट चन्दा उठाउनु पर्छ । सँगैका अरु छिमेकी देशमा कुनै समस्या आउने बितिकै तत्काल उद्दार हुने मात्र हैन आफ्ना नागरिकका बचाउका लागि जस्तोसुकै कदम चाल्न पनि तयार हुन्छ ।
अहिले चीन कै उदाहरण लिदा पनि कोरोना भाइरसको संक्रमण क्षेत्र बुहानबाट अमेरिका श्रीलंका भारत लगायतका देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काइ सके । हामी भने यहाँ ठाउँ खोजेर बसिरहेका छौँ । उनीहरुलाई सुरक्षित स्वदेश फर्काएर निश्चित ठाउँमा राख्नका लागि समेत हाम्रो सरकारलाइ हम्मेहम्मे परेको देखिन्छ । अरु त त्यस्तै हो, उनीहरुलाई लिन जाने मानिसहरुका लागि आवश्यक उपकरणको समेत ब्यवस्था हामीसँग छैन र अरु देशबाट माग्नु पर्ने बाध्यता आएकै हो त ? यो गम्भीर प्रश्न उब्जीएको छ ।
उता चीनमा रहेका नेपाली बिद्यार्थीहरु मनोबैज्ञानिक त्रासमा रहेका छन् । उनीहरुलाई भोक टार्न समेत समस्या हुन थालेको छ । नेपालले फर्काउन सक्दैन भने अन्तराष्ट्रिय समुदाय गुहार्न बाध्यहुने उनीहरुले भन्दै आएका छन् । आज भोली भनेको पनि लामो समय भईसकेपछि उनीहरु उद्दार हुने हो की हौ भन्ने त्रासमा छन् । उद्दार गर्ने भनेको हप्तौँ बित्यो तर उनीहरुको उद्दार हुन सकेको छैन ।
परिवारका सदस्यको चीनमा मस्या देखेर यतधा उनीहरुको परिवार तनावमा छ । यस्तो अवस्थामा दुई तिहाइको सरकारले के हेर्दैछ ? ती चीनमा अलपत्र समस्यामा परेका आफ्ना परिवारलाई सकुशल फिर्ता ल्याएर राखोस् भन्ने चाहना उनीहरुको अभिभावकमा छ । सरकारका जिम्मेवार ब्यक्तिलाई नै थाहा छैन उनीहरुको उद्दार कहिले हुन्छ भनेर । यो कस्तो गैर जिम्मेवारीपन हो ? हाम्रो सरकार यतीसम्म लाचार छ भन्ने जनतालाई महसुस गराइनु को कारण के हो ? यसको जवाफ उनीहरुका परिवार खोजिरहेका छन् ।
यो भन्दा ठुलो लाचारी अरु के हुन सक्छ र ? हरेक क्षण, के हरेक पल हामी नेपाली अरुको साहारामा बाँच्नु पर्ने हो ? हाम्रो स्वाधिनता र स्वाभिमान केबल लेखिने शब्द र बोली भएको छ । नुनदेखि सुनसम्म अरुको भर पर्नु पर्ने हाम्रो बाध्यता छ । जनतालाई सपना देखाउन माहिर हाम्रा नेता अनि उनै नेताको पछि लाग्ने हामी जनता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्