मोरङमा दुर्घटना ४ को मृत्यु, ३ घाईते, घाईतेको विराट नर्सिङ होममा उपचार हुदै

मोरङमा दुर्घटना ४ को मृत्यु, ३ घाईते, घाईतेको विराट नर्सिङ होममा उपचार हुदै

विराटनगर । मोरङको अलगअलग स्थानमा शनिबार बिहान र शुक्रबारराति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किएर शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरमा बिहान ७ बजेतिर इटहरीतर्फ नै जाँदै गरेको तीन जना सवार प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले दुर्घटनामा सिरहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको जानकारी दिए । घाइते अवस्थाका दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । यही दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव गम्भीर घाइते भएका छन् ।
उनको चिन्ताजनक अवस्थामा कोशी अस्पतालमै उपचार भइरहेको छ । डीएसपी थापाले तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकल ओभरटेक गर्ने क्रममा टिपरको अगाडिको चक्कामा ठोक्किएर दुर्घटना हुन पुगेको जानकारी दिए । प्रहरीका अनुसार मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३५ वर्षीय शशिकुमार थन्दारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसैविच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा शुक्रबार राति ११ः५५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईको घटनास्थलमै मृत्यु भएको डीएसपी थापाले बताए । उनकाअनुसार विशाल को ३७ प १७ नम्बर र अर्पण अर्को मोटरसाइकलका चालक हुन् । दुवै मोटरसाइकलका चालकले मापसे गरेको खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय लक्ष्मण खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्