विराटनगर । मोरङ जिल्लामा हिजो र आजगरी दुई दिनमा दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । आज पनि विराटनगर लगायत मोरङको भिन्दाभिन्दै ठाउँमा भएका सडक दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
ग्रामथान गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा को ६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा पैदल यात्रु ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ ।
दुर्घटनामा परेर घाइते भएका ग्रामथान –३ का माझीको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारले बताए ।
त्यस्तै कोशी राजमार्ग अन्तर्गत विराटनगर ३ मा रहेको तिरुपति पेट्रोल पम्प अगाडि आइतबार दिउँसो को ३७ प ९५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
ट्राफिक प्रमुख पोदारका अनुसार साधुको भेषमा पैदल यात्रा गरिरहेका बेला उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले अन्दाजी ६०÷६५ वर्षीय वृद्धलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
पहिचान नखुलेका वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको पोदारले बताए । मोटरसाइकल चालक सुनसरीको दुहवी नगरपालिका–१ का २८ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन् । चौधरीको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता जहदा गाउँपालिका– ५ स्थित भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । को ३७ प ९७४३ र को १२ प ६२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ९७४३ का चालक जहदा–५ का २५ वर्षीय वीरेन्द्र मण्डलको मृत्यु भएको हो ।
दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा आइतबार बिहान ११ बजे विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि को १२ प ६२२ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
यसै गरी मोरङको रतुवामाई नगरपालिका–१ स्थित भित्री सडक खण्डमा शनिबारराति रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरी निरीक्षक पोदारका अनुसार सडकमा रोकेर राखेको को २ त २८०० नम्बरको ट्याक्टरमा को २७ प ४६५० नम्बरको मोटरसाइकल पछाडिबाट आएर ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय अवित मियाँको उपचारका क्रममा राति ११ बजे रंगेली अस्पतालमा मृत्यु भएको हो । यसैविच मोरङको विभिन्न स्थानमा ३ जनाको सवारी दुर्घटनमा परी ज्यान गएको ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।