विराटनगर । विराट एक्स्पोमा राखिएका खानाका स्टलले उपभोक्तालाई आकर्षित गरेको छ । विशेषगरी नयाँ खालका खानाका परिकारले उपभोक्तालाई लोभ्याउने गरेको हो ।
एक्स्पोमा चटपटे, पुच्का जस्ता परिकारको पनि उत्तिकै धेरै माग छ । उपभोक्ताले चाउमिन, चाट, समोसा, लस्सी, आइसक्रिम पनि धेरै रुचाउने गरेको व्यवसायी लोकेन्द्र भगतले बताए ।
उपभोक्ताले मम, डोसा, जेरी पाउभाजी लगायतका खानाका परिकारका स्वादलाई पनि रुचाउने गरेका छन् । यस्तै एक्स्पोमा कुखुराको मासुबाट बनेको भिन्नैखालको परिकारमा उपभोक्ताको विशेष आकर्षण देखिएको छ । विराटनगरका पर्शुराम गिरीले राख्नु भएको स्टलको चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको छ । विदेशतिर सावर भनेर चिनिने चिकन रोलमा उपभोक्ताले धेरै रुचि देखाएपछि उत्साहित बन्नु भएका गिरीले विराटनगरमै होटल सञ्चालनको सोचसमेत बनाइसकेको बताए ।
एक्स्पोमा राखिएका खानाका स्टलमा राखिएका परिकार निक्कै स्वादिलो रहेको उपभोक्ता सुनिता घिमिरेले बताइन् । स्वादिला खाना पस्किरहेका स्टलहरूको सर्भिस पनि राम्रो भएको घिमिरेको भनाइ छ ।
गुणस्तरीय र स्वादिला परिकारकै कारण एक्स्पोमा राखिएका खानाका स्टलमा उपभोक्ता झुम्मिने गरेका छन् । स्वादिला परिकार पस्किरहेका स्टलहरूले एक्स्पोको अवलोकन गर्न आउनेहरूको मन लोभ्याउने गरेको छ ।
एक्स्पोमा दैनिक अवलोकनकर्ताको भीड बढ्दै गएको छ । बुधबार एक्स्पोमा ३५ हजार बढीले अवलोकन गर्नुका साथै ७ करोड रुपैयाँ बढीको कारोबार भएको जनाएको छ । एक्स्पोमा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढीले अवलोकन गरेका छन् भने २६ करोडभन्दा बढीको कारोबार भइसकेको जनाएको छ । एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीका अनुसार दैनिक विभिन्न कलाकारले साँगीतिक महोल बनाउने क्रममा बिहीबार गायक तथा संगीतिकार कालीप्रसाद बाँस्कोटाको प्रस्तुति रहने बताए ।