झापामा जारी सताक्षी गोल्डकपको उपाधिका मच्छिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दै

झापामा जारी सताक्षी गोल्डकपको उपाधिका मच्छिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दै

-राजु पौडेल

झापा, फागुन ११ । झापामा जारी सताक्षी गोल्डकपको उपाधिका लागि आज यो वर्षको शहीद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्री स्टार क्लब भिड्दैछन् ।

लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेल्न लागेका छन् । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आज दिउँसो थ्री स्टारले लिगमा खाएको दुई गोलको बदला लिने प्रयास गर्नेछ ।

लिगको नवौँ राउन्डको दोस्रो खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोल अन्तरले हराएको थियो ।
लिग च्याम्पियन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई फेरि पराजित गरेर आफूलाई नेपाली फुटबलमा अब्बल सावित गरी फाइनल यात्रा तय गरेको हो । थ्री स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेर उपाधि होडमा उक्लिएको थियो ।

आफ्नो टिममा स्टार खेलाडी भएकाले त्यसको फाइदा उठाउने मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालको भनाइ छ । आफ्नो टिममा कुनै कमजोरी नभएको दाबी गरेका उनले यसअघिको खेलमा देवेन्द्र तामाङ घाइते भएकाले भनेजस्तो खेल नभएको बताए ।

शतप्रतिशत जित निकाल्ने प्रयासमा रहेको थ्रि स्टारका प्रशिक्षक मेघरजा केसीको भनाइ छ । ६० प्रतिशतभन्दा बढी सफल भइरहेको भन्दै उनले फाइनल खेलमा बाँकी ४० प्रतिशत पूरा गर्ने दाबी गरे । लिग च्याम्पियन मच्छिन्द्रलाई पराजित गर्दै सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि थ्री स्टारले जितेर लैजाने उनले महत्वांकाक्षी विश्वास लिएका छन् ।

थ्री स्टारका कप्तान विक्रम लामाले जित ९० मिनेटभित्रै निस्कन्छ भन्ने फुटबलमा नहुने भएकाले जितका लागि नै खेल्ने बताए । टिममा नयाँ खेलाडी भएकाले उनीहरुका लागि अवसरको रुपमा लिएको प्रतिक्रिया दिए ।

मच्छिन्द्रका कप्तान विराज महर्जनले टिमका लागि फाइनल खेल महत्वपूर्ण रहेको बताए । फाइनल जित्दै दर्शकको पनि मन जित्ने दाबी गरे । ९० मिनेटभित्रै सफलता मिल्छ भन्ने फुटबलमा नहुने बताउँदै उनले मेहनतमा ध्यान दिएर पाएको अवसरमा जित निकाल्ने मच्छिन्द्रको ध्येय रहेको कप्तान विराजले बताए ।

गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी पाउनेछ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किप्पर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशि जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ ।
सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्