विराटनगर : विराटनगर महानगरपालिका १९ मिलनचौकमा टिपरको ठक्करबाट आज मंगलबार राति दुई जनाको मृत्यु भएको छ । पुष्पलालचौक–विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा मंगलबार राति साढे ९ बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । उत्तरतर्फबाट आइरहेको टिपरले विपरित दिशाको टेम्पोलाई ठक्कर दिँदा टेम्पोमा सवार दुईको जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरी प्रदर्शन जारी राखेकोले प्रहरीसमेत घटनास्थलमा पुग्न पाएको छैन । स्थानीयको प्रदर्शनका कारण हाल अबेर रातसम्म मृतकको पहिचान नखुलेको एसपी अधिकारीले बताए । टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमा मृत्यु भएपछि आक्रोशित भिडले टिपर आगजनी गरेको विराटनगर १९ का वडाअध्यक्ष बद्रीनारायण सरदारले जानकारी दिए ।