ज्यान मार्ने उद्योगका प्रतिवादी धरौटीमा छुटे, पीडित परिवारको गुनासो

ज्यान मार्ने उद्योगका प्रतिवादी धरौटीमा छुटे, पीडित परिवारको गुनासो

विराटनगर । ज्यान मार्ने उद्योगका आरोपी धरौटीमा छ्टेपछि पीडित परिवारले गुनासो गरेका छन् । पीडित परिवारले विराटनगरमा पत्रकार सम्मेलन गरी खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउनेहरु धरौटीमा छुटेको बताएका हुन् ।
जिल्ला अदालत मोरङको आदेश पछि ज्यान मार्ने उद्योगका आरोपी मोरङ सुनबर्सी नगरपालिका– ६ का वलिहाङ लिम्बु, याकुप लिम्बु, बिनोद राई, आकाश थापा जिल्ला अदालत मोरङको आदेश पछि जनही ५० हजार धरौटी बुझाएर छुटेका थिए ।


गत ९ पुसमा धरौटीमा छुटेका चारसहित १२ जनाको समुहले पथरी शनिश्चरे नगरपालिका– ६ का प्रताप राई र बिकास राईलाई खुकुरी प्रहार गरेका थिए ।
पथरी शनिश्चरे नगरपालिका– ८ दोहोलु र कानेपोखरी गाउँपालिका– ४ खोरिया जोड्ने भोलुङगे पुल नजिकै दुई समुहको झागडा छुट्याउन पुगेका प्रताप राईलाई खुकुरी प्रहार भएको थियो ।
मामालाई कुखुरी प्रहार भएपछि बिकास राई छुट्याउन पुगेका थिए । १२ जनाको समुहले खुकुरी प्रहार गरी दुईजनालाई गम्भि घाइते बनाए । दिउँसो खुकुरी प्रहार भएपछि भेला भएका गाउँलेले बिनोद र आकाशलाई खुकुरीसहित पक्राउ गरी प्रहरीमा बुझाएका थिए । प्रहरीले थप दुईजनालाई पनी पक्राउ गर्याे । गम्भिर अवस्थाका मामा भान्जा राईलाई उपचारका लागि विराट नर्सिङहोममा भर्ना गरिएको थियो । घटना पछि विकासका बुबा कटकराज राईले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय पथरीले पक्राउ परेका चारसहित १२ जनालाई प्रतिवादी बनाएर ज्यानमार्ने उद्योग दर्ता गरेको थियो ।
पक्राउ परेका बलिहाङ, याकुप, बिनोद र आकाश भने जिल्ला अदालत मोरङको आदेश पछि धरौटीमा छुटे । सुनबर्सी नगरपालिका– ६ बस्ने श्यामबहादुर चौलागाई, निरोज खड्का,सन्तोष पोद्दार, अनिल कार्की, अनोज कार्की, कुम्भकर्ण लिम्ब, रुपाहाङ लिम्बु र सन्तोष राईलाई फरार छन् ।


ज्यान मार्ने उद्योगका आरोपी छुटेपछि पीडित परिवारले आफू अन्यायमा परेको गुनासो गरेका छन् । खुकरी प्रहार गर्नेहरु छुटेका कारण गाउँमा त्रास बढेको विकासको सानिमा मुना राईले बताइन् । ‘ विकासको हात चल्दैन्, भाईको कम्मर काटिएको छ ।’ राईले भनिन ‘हामीलाई पिडा माथि पिडा थपियो ।’ ऋण काढेर उपचारमा खर्च गरेको बताउँदै उनले खुकुरी प्रहार गर्ने छुटेका कारण आफूहरु समस्यामा परेको उनले बताइन् ।
जिल्ला अदालतले चार प्रतिवादीलाई पूर्पक्षका लागि छाड्ने आदेश दिएपछि सरकारी वकिलको कार्यालय उच्च अदालत पुगेको छ । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिपकुमार गिरी घटनामा संलग्न आठजनाको खोजी कार्य भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्