एन्जु शिवाकोटी
विराटनगर । शुक्रबार दिउँसो १ बजेको थियो । म आफ्नो कोठाबाट न्यूरो हस्पिटल अगाडीको बाटो हुदै बजार जाँदै थिए । न्यूरो हस्पिटल छेउमा रहेको बगलामुखी मन्दिर अगाडी एक वृद्ध सुतिरहेको अवस्थामा देखे । राती पानी परेर भखर ओभाएको सडक पेटीमा उनी गहिरो निन्द्रामा थिए । उनको त्यो गहिरो निन्द्रालाई हेर्दा उनी रातभर सुतेका थिएनन् जस्तो लाग्यो ।
ती वृद्ध को हुन भन्ने त थाहाँ छैन तर तिनलाई म सधै त्यहीँ मन्दिर अगाडी माग्दै गरेको अवस्थामा देख्ने गर्दथे । मन्दिर अगाडी बसेर प्रत्येक विहानी मन्दिर आउने व्यक्तिलाई हेर्ने उनको चाउरिएको अनुहारमा मेरो नजर सधै परे पनि वास्ता कहिल्यै गरिन ।
सडक पेटीमा बोह्रा ओछ्याइएको छ र त्यस माथि पातलो मजेत्रो । ती वृद्ध मान्छे त्यसमाथि लुगाको सानो पोकालाई सिरानी बनाएर गहिरो निन्द्रामा निदाई रहेका छन् । उनको छेउमा चामल हाल्ने गरेको एउटा ट्याम्के छ । त्यस ट्याम्के माथि एउटा पुरानो रेडियो । ती वृद्ध व्यक्तिको निन्द्रालाई वादा नगरी बजिरहेको छ रेडियो । सायद ती व्यक्ति रेडियो सुन्दा सुन्दै निदाएका थिए ।
मलाई उनको त्यो अवस्थाले भन्दा पनि उनको छेउमा बजिरहेको त्यो रेडियोले उनको नजिक पुर्यायो । रेडियो पुरानो थियो जुन आजभोलि बजारमा देख्न मुस्किल नै पर्छ । म ती वृद्ध व्यक्तिको छेउमा पुगे र त्यो रेडियोलाई हेरे । कालो रंगको त्यो रेडियो माथि विजुली तार झुन्डीरहेको थियो । वृद्धले रेडियोको एनटिना भाचिए पछि विकल्पको रुपमा त्यो तारलाई एनटिना बनाएका थिए ।
त्यो रेडियोले मलाई मेरो बाल्यकालमा पुरायो । हाम्रो घरमा पनि त्यस्तै एउटा रेडियो थियो । घरको भित्तामा सधै झुन्डिएर बजिरहेको हुन्थ्यो रेडियो । प्रविधिको विकास संगै आज भोली न देखिने यस प्रकारका रेडियोलाई ती वृद्धले बढो जतनका साथ प्रयोग गरिरहेको देख्दा अचम्म लाग्यो । यती पुरानो रेडियो अझै कति जतनका साथ वृद्धले चलाइ रहेका छन । मैले फेरी सम्झिए आफ्नो घरको त्यो पुरानो रेडियो । कहाँ गयो हाला ? वृद्धको त्यो अवस्था र रेडियोको सम्बन्ध साचै हृदय छुने छ । ती वृद्ध व्यक्ति सडकको पेटीमा आफ्ना सबै दुःख लुकाएर निदाइ रहेका थिए । उनको अभाव र भोको पेटलाई उनको हृदयले जति बुझेको छ त्यतिनै उनको त्यो रेडियोले बुझेको होला । रेडियोले जति उनलाई बुझेको छ सायद बाटोमा हिन्न सक्ने सबैले बुझ्न सकेको भए । उनका हरेक दुःख बिसाउने एक मात्र साथि यहि रेडियो हुदो हो । अनी उनका लागि यो रेडियो भन्दा आत्मिय मानव मन बन्न सकेन । प्रेम गरेर रेडियोलाई राखिरहेकाले जै त होला नी आज सम्म पनि रेडियो जिवित रहेको । रेडियो र वृद्धको सम्बन्ध जस्तै हाम्रो समाजका हरेक मान्छेको सम्बन्ध राम्रो भइदिए कति सुन्दर हुन्थ्यो होला हाम्रो समाज ?