बिराटनगरको श्रम कार्यालयमा चुकुल लगाएर भित्र बस्छन् कर्मचारी

बिराटनगरको श्रम कार्यालयमा चुकुल लगाएर भित्र बस्छन् कर्मचारी

विराटनगर । दिउँसोको साढे १२ बजेको थियो । श्रम कार्यालय बिराटनगरकाको कार्यालय दिउँसै बन्द रहेको भनेर फोन आयो । बाहिर कार्यालयको मुख्यद्धार खोलिएको तर कार्यालय भित्रको झ्याल खोलेर बसेको भनेर जानकारी आयो । कार्यालयमा कर्मचारीले कामै नगरेको, सेवाग्राहीको काम नगर्नु भनेर कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले भनेपछि कर्मचारीहरु नै कार्यालयको झ्याल ढोका थुनेर भित्र बसेको खबर आयो । बाहिर आएका सेवाग्राहीका कुनैपनि काम भएन ।

त्यही क्रममा दिउँसो करिब १ बजेसम्म आफ्नो कार्यकक्षमा नै नबसेपनि झ्याल खुल्लै थियो । एकजना कर्मचारी आए र आफ्नो कुर्सीमा बसिन् र झ्याल र झ्लको पर्दा लगाउन आग्रह गरिन् । त्यसैको आधारमा कार्यालय सहयोगीले त्यसै गरे । एकछिन अगाडिसम्म खुल्ला रहेको झ्याल पनि बन्द भयो । कार्यालयको बाहिर काम गराउन आउने थुप्रै सेवाग्राहीहरु थिए । तर हामीलाई कार्यालय बन्द गराउनुको कारणको बारेमा जानकारी लिनु थियो ।
त्यो बारेमा जानकारी लिनको लागि कार्यालयको भित्र जान खोज्दा कार्यालय भित्र प्रवेश गर्ने ढोकामा भित्रबाट चुक्कुल लगाईएको थियो । त्यहाँबाट पनि केही सिप नलागेपछि कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाई फोन गरेर यस बारेमा जानकारी लिन खोज्दा उनले फोन उठाएनन् ।

ति बन्द गर्ने कार्यालय सहयोगी केहीबेर पछि छतमा पुगे, उनीसँगै अर्का एकजना कर्मचारी पनि देखिए । अनी उनलाई सोध्यौँ ‘ढोका किन बन्द गरेको ?’ उनले सहजै जवाफ दिए ‘हाकिम साबले बन्द गर्नु भन्नु भएको छ ।’
उनको जवाप पछि बाहिर लामो समयसम्म पर्खिएर बसेका सेवाग्राही बिस्तारै बाहिर निस्कँदै जान थालेका थिएभने श्रमिकको समस्या र मुद्दा बोकेर आएका ट्रेड युनियनका पदाधिकारीहरु प्नि आवेगका विच फर्किएका थिए ।

तीन दिनदेखि बन्द
गत शुक्रवारसम्म श्रम कार्यालय बिराटनगरमा राम्रैसँग काम भएको थियो । कार्यालयमा आएका सेवाग्राहीले सेवा पाउँथे अनी फर्किएर जान्थे । तर आईतवार भईदियो अर्कै ।
आईतवार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयको बाहिर गेट खोल्न लगाए, भित्रि ढोकाबाट कार्यालय भित्र कसैलाई पनि प्रबेश गर्न दिएनन् । १२ बजेसम्म जेनतेन बाहिरबाट काम गराएका सेवाग्राहीले दिउँसोदेखि काम नै गराउन पाएनन् । त्यसको कारण न सेवाग्राहीले जान्न पाए न बाहिरका जो कोहीले । सोमबार पनि कार्यालय प्रमुख र कार्यालयका कर्मचारी आएर कार्यालय भित्र प्रबेश गरेर तर भित्रको ढोका लगाईयो , आएका सेवाग्राही कामै नगरी फर्कन बाध्य हुनु पर्यो ।

हिजो काम नभएपनि आज श्रम कार्यालयमा पुगेका सेवाग्राहीले पनि काम नभएपछि पत्रकार गुहारेको ट्रेड युनियन महासंघ जीफन्टको प्रदेशको सचिव निलम ढुङ्गेलले बताउनुभयो ।
‘आईतवारदेखि आएको आज तिन दिन भयो तर कार्यालय प्रमुख र कर्मचारी भित्र बसेका छन् तर बाहिर आएका सेवाग्राहीको कुनै काम भएको छैन, ढुङ्गेलले भन्नुभयो, कर्मचारी अहाउँछन्, ढोका थुनेर बसेका छन् कामै गर्दैनन्, कर्मचारीलाई सोध्दा हाकिम साबले भन्नुभएको कुनै काम नगर्न भन्नुभएको छ ।’
श्रम स्वीकृत नदिने सरकारको निर्णय पछि श्रम कार्यालयले अन्य काम पनि रोकेको हुनसक्ने सेवाग्राहीको अनुमान छ । तर सेवाग्राहीलाई स्पष्ट जानकारी दिने काम भएको छैन, ट्रेड युनियन महासंघका अध्यक्ष किशोर धमलाले भन्नुभयो । सेवाग्राही अन्यौलमा
धरानका नारायण कठेतलाई दुबईको भिसा लागेको ६ महिना पुग्न लाग्यो । उनको उडान अबको केही दिन भित्रै छ । उनले श्रम स्वीकृत पनि लिई सकेका छन् । ६ म महिना अगाडी नै श्रम स्वीकृत लिएको बताउने कठेतले एउटै कम्पनीमा पनि ब्राण्ड परिवर्तन भएर अर्को ब्राण्डमा काम गर्न जानु पर्ने भयो । श्रम स्वीकृत हुँदाको ब्राण्ड परिवर्तन भयो भने अप्ठेरो पर्छ की पर्दैन भनेर सोध्न मात्र आएका उनलाई त्यहाँ जवाफ दिने कोही भएन । उनी आएर धेरै बेर बसे तर न उनले कर्मचारी भेटे न अन्य कोही सहयोगी नै । कार्यालयको झ्याल ढ्कढक्याए, ढोकाको ह्याण्डल घुमाउन पुगे तर उनी नाजावाफ भएर फर्किए ।

त्यस्तै समस्या बोकेर श्रम कार्यालयमा आएका बुढीगंगा गाउँपालिका मोरङका पार्वता र सरस्वतीको समस्या पनि उस्तै नै छ । शुरभी पोलिमर्स प्रा.लिले अघोषित कामबाट निकालेको बारेमा यस अघि नै श्रम कानुन अनुसार रोजगारीको ग्यारेन्टी हुनु पर्ने निबेदन दर्ता गराएकोमा कुनै सुनुवाई नभएपछि कार्यालयमा आएका उनीहरुको समस्याको पनि सुनुवाई भएन । कार्यालयमा आएको तीन दिन बितिसक्दा पनि कार्यालयमा कर्मचारी र कार्यालय प्रमुखलाई भेट्न नपाएको सरस्वती ढकालले बताउनुभयो । ६ बर्षदेखि काम गर्दै आएकी सरस्वती सहित धेरै कर्मचारीलाई शुरभी पोलिमरले निकालेको बारेमा ३ जना उजुरीका लागि आएका थिए । समस्या सुनुवाई गर्ने निकाय नै बन्द गरेर बसेको देख्दा आफै छक्क परेको सरस्वतीले बताउनुभयो ।

विराटनगरमा रहेको श्रम कार्यालयमा श्रम स्वीकृत दिन थालेको एक बर्ष नाघेको छ । नेपाल कारखाना श्रमिक संघका मोरङ कोषध्यक्ष श्याम कामतले श्रमिक र मजदुरको समस्या समाधान गर्ने निकायले एकाएक कार्यालयको भित्रबाट ताला लगाएर बस्नु गलत भएको बताउनुभयो । ‘हामी बाहिर आएर बसेको धेरैबेर भयो, कामतले भन्नुभयो, हाम्रो काम गरिदिए मात्र हुन्थ्यो। उजुरी लिने ब्यक्ति समेत कोही भएन ।’
यस बारेमा जानकारी लिन खोज्दा कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले कुनैपनि प्रतिक्रिया दिएका छैनन् । उनले प्रयोग गर्ने मोवाईल उठाएका छैनन् भने कसैसँग भेट गर्न चाहेनन् । कार्यालय बन्द गर्नु पर्ने बारेमा जानकारी लिनको लागि श्रम तथा रोजगार विभागका निर्देशक तथा सुचना अधिकारी भोलानाथ गुरागाईँले प्रदेशबाट पुनः श्रम स्वीकृतीको काम बन्द भएको तर श्रम तथा ब्यवसायजन्य काम भने बन्द नभएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्