थाईल्याण्डमा कोरोनाले रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन

थाईल्याण्डमा कोरोनाले रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन

बैंकक : कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो ।

यार्टी र बारहरु बन्द भए । खासगरी पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् ।

सुनसान सडकमा निस्किन पिमलाई डर लाग्छ, तर पनि पेट पाल्नु त छ । बैंककदेखि पतायासम्मका सबैजसो नाइट क्लब र मसाज पार्लहरु बन्द भएपछि पर्यटकको आगमन नै रोकिएको छ ।
जसले गर्दा ३ लाख जति यौनकर्मीहरुको पेशा खोसिएको छ । तै पनि कतिपय त सडकमै ग्राहक खोजदै भौँतारिन बाध्य देखिन्छन् ।

‘भाइरसदेखि डर लागिरहेको छ, तर मलाई ग्राहकको खाँचो छ, जसले गर्दा मलाई भाडा र खानाको खर्च जोहो गर्न सजिलो हुनेछ,’ ३२ वर्षीया यौनकर्मी पिम भन्छिन् । पिम तेस्रोलिंगी यौनकर्मी हुन् । जो यसै गरी डान्स बार र मसाज पार्लर बन्द भए पनि मध्य रातमा सुनसान सडकमा ग्राहकको खोजीमा भौँतारिँदै छिन् ।

शुक्रबारदेखि थाइल्याण्डमा राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ । बार तथा रेष्टुरेण्टहरु केही दिनअघिदेखि नै बन्द छन् । बैंककका बारहरुमा काम गर्ने यौनकर्मीहरु, जो ग्राहकको टिप्समा निर्भर हुन्थे र घरमै जान तयार हुन्थे, उनीहरुका लागि यो कर्फ्यूसँगै रोजीरोटी पनि खोसिएको छ ।

जब यस्ता बार तथा रेष्टुरेण्टहरु अचानक बन्द भए, उनीहरुको पेशा पनि संकटमा परेको हो । अन्ततः पिमजस्तै अन्य यौनकर्मीहरु पनि ग्राहक खोज्दै सडकमा जान बाध्य भएका हुन् । सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि २४ घण्टे कर्फ्यू लगाउन तयार रहेको जनाएको छ ।

थाइल्याण्डमा २ हजार भन्दा धेरै संक्रमित हुनुका साथै २० जनाको मृत्यु भइसकेको छ । पिम राति यसरी भौँतारिए पनि १० दिनदेखि ग्राहक नै भेटिएका छैनन् । उनकी साथी एलिस पनि रात्रिकालीन कर्फ्यूसँगै सडकमा निस्किन बाध्य भइन् । ‘म कहिलेकाहीँ हप्तामै ३ सय देखि ६ सय डलरसम्म कमाउथेँ । तर जब व्यवसाय बन्द भयो, मेरो कमाइ पनि रोकियो । हामी विपन्न भएरै यस्तो काम गर्न बाध्य छौँ, यदी हामीले भाडा तिर्न सकेनौँ भने तिनिहरुले लात हान्नेछन्,’ एलिसले भनिन् ।

रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन छ । लुटेराहरुको उत्तिकै डर हुन्छ । पहिलेदेखि नै जोखिममा रहेका यौनकर्मीहरुका लागि कोरोना भाइरसका कारण झनै जोखिम बढेको छ । एलिस भन्छिन्, ‘हामीलाई भाइरस भन्दा पनि भोकको डर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्