काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विज्ञहरूसँग छलफल गरिएको छ ।
सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, मन्त्रालयका सचिव तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।बैठकमा बोल्दै उद्योगमन्त्री साहले नेपालमा छलफल धेरै हुने तर काम कार्यान्वयनमा नजाने प्रवृत्तिका कारण विभिन्न आर्थिक अवसर गुमिरहेको बताए । उनले जलविद्युत् र निर्माण सामग्रीको क्षेत्रमा उपलब्ध अवसरलाई समयमै उपयोग गर्न नसक्दा देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गरे । उनले भने, ‘नेपालमा छलफल धेरै हुन्छ तर ‘वर्क डन’ हुँदैन । हामीले अवसर गुमाइराखेका छौँ । हाइड्रोपावरको अवसर १५ वर्ष पहिला थियो, त्यो आज छैन । मैंले भन्ने गरेको छु–एउटा हाइड्रोपावरले वर्षको तीन खर्ब रुपैयाँ पनि गुमाएको हामीसँग उदाहरण छ ।’
उनले अहिले भारत र बङ्गलादेशमा निर्माण सामग्रीको माग रहेको र भुटानले समेत पहाडी स्रोतलाई उपयोग गरेर निर्माण सामग्री निर्यात गरिरहेको उदाहरण दिए । नेपालले पनि खानी तथा नदीजन्य स्रोतको उपयोग गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो । यसका लागि तत्काल ‘राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवद्र्धन कार्यक्रम’ ल्याउनुपर्नेमा जोड दिँदै उनले समितिका सभापतिलाई समेत आवश्यक निर्देशन दिन आग्रह गरे । उनले भने, ‘म यही कारणले अहिले तुरुन्तै हाम्रो सम्बन्धित निकायहरूलाई, सभापतिजीलाई पनि एउटा निर्देशन दिन आग्रह गर्छु । ‘राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवद्र्धन कार्यक्रम’ तुरुन्तै ल्याउने । किनभने यो ऐनको छलफल हुँदै गर्दा कोसी रिभरमै ‘ह्वाइट गोल्ड’ भन्छु म यति बिलियनौँ टन बालुवा थुप्रिएको छ । त्यसलाई ड्रेजिङ गरेर त्यो बालुवालाई हामीले निकाल्न सक्छौँ।’
नदीमा थुप्रिएको बालुवा तथा निर्माणजन्य सामग्रीको समयमै उपयोग गर्न नसके भविष्यमा त्यही सामग्री समस्या बन्न सक्ने उनले बताए । नदीको सतह बढ्दै गएको उल्लेख गर्दै मन्त्री साहले यस विषयमा मन्त्रालयका अधिकारीहरूलाई तत्काल काम अघि बढाउन आग्रह गरे । मन्त्री साहले समितिमा विज्ञहरूले दिएका सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्ने प्रतिबद्धता पनि जनाए । खानी तथा खनिज क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना र सञ्चालनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मन्त्रालय सम्हालेदेखि नै यस क्षेत्रमा कामलाई तीव्रता दिन लागिरहेको बताए । यस्तै, समितिका सभापति रहबर अन्सारीले विचाराधीन विधेयकलाई थप व्यवस्थित र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । सरोकारवाला, विज्ञ तथा मन्त्रालयका सुझाव समेटेर विधेयकलाई परिणाममुखी बनाउनुपर्ने उनको भनाइ थियो ।
विगतमा एकेडेमिक क्षेत्रलाई संलग्न गराइयो वा गराइएन भन्ने विषयमा आफूले टिप्पणी नगर्ने स्पष्ट पार्दै सभापति अन्सारीले आगामी दिनमा समितिले प्राज्ञिक क्षेत्रलाई गम्भीरतापूर्वक लिने बताए । आवश्यक परे प्राज्ञिक क्षेत्रका विज्ञहरूसँग बसेर छलफल गर्न समिति तयार रहेको उनले स्पष्ट पारे । विधेयक पारित भएपछि त्यसका प्रावधानमाथि प्रश्न उठ्ने र समितिले आलोचना खेप्नुपर्ने अवस्था आउन नदिन अहिले नै पर्याप्त छलफल र अध्ययन आवश्यक रहेको उनले बताए । त्यस्तै, विधेयक ऐनमा रूपान्तरण भएपछि खानी तथा खनिज क्षेत्रले राज्यको पुँजी र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुर्याउने योगदान बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सभापति अन्सारीले बताए ।