अर्को वर्षपनि टोकियो ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने

अर्को वर्षपनि टोकियो ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने

जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित् समयभन्दा एक वर्षपछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ ।

टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को वर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको भनाइ छ ।

यसै वर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोनाभाइरसको संक्रमणकै कारण ठिक एक वर्षपछाडि सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता अझ धेरै दिनपछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार बताए ।

जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागू हुनेगरी केही ठाउँका लागि संकटकालकोसमेत घोषणा गरेका छन् ।

‘आगामी जुलाईसम्ममा कोरोनाभाइरसको संक्रमण नियन्त्रण भइसक्छ भन्ने कुरा कसैले भन्न सक्दैन । त्यसैले अहिले तोकिएकै मितिमा ओलम्पिक प्रतियोगिता हुन्छ भन्ने सुनिश्चत गर्न पनि मैले सक्दिनँ’–उनले भने ।

शुक्रबार आयोजित पत्रकार अन्तरक्रियामा उनले तोकिएकै मितिमा प्रतियोगिता हुनेबारेमा आफूसँग स्पष्ट जवाफ नभएको बताए ।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै वर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री आवेले कोरोनाभाइरसविरुद्धको लडाइँलाई छिटो–छरितो, प्रभावकारी र सशक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नुपरेको भन्दै उनको आलोचना पनि भएको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक वर्षपछाडि हुने मानेर नै तयारीको कामहरु तीव्रगतिमा अगाडि बढाइने बताए ।

उनले त्यतिबेलासम्म कोरोनाभाइरसको संक्रमण अन्त्य हुने आशा पनि व्यक्त गरे ।

जापानमा कोरोनाभाइरसका कारण शुक्रबारसम्ममा झन्डै पाँच हजारजना संक्रमित भएका छन् भने झन्डै १०० जनाको मृत्यु भएको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्