भारतमा लकडाउन बैशाख २१ सम्मका लागि थपियो

भारतमा लकडाउन बैशाख २१ सम्मका लागि थपियो

काठमाडौं, बैशाख २ गते ।

भारतमा लकडाउनको अवधि बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई मंगलबार सम्बोधनको क्रममा लकडाउनको म्याद मई ३ अर्थात वैशाख २१ गतेसम्म १९ दिनको लागि थपिएको बताउनुभएको छ ।

राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा बताउनुभयो । उहाँले खुकुलो सशर्त हुने प्रष्ट्याउनुभयो । कोरोनाभाइरसको संक्रमण देखा परे उक्त ढिलाइमा बन्देज लगाइने बताउनुभयो ।
प्रधानमन्त्री मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्दा पनि लकडाउन लम्ब्याउने सुझाब आएको थियो । महाराष्ट्र, राजस्थानसहितका चार राज्यले यसअघि नै लकडाउनको म्याद थप गरिसकेको छ । महाराष्ट्रपछिको सबैभन्दा बढी प्रभावित दिल्ली, उत्तरप्रदेश, बिहारसहितको राज्य भने केन्द्रीय सरकारको निर्णय पर्खेको थियो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले भारतमा संक्रमित नभेटिएको अवस्थामा समेत विमानस्थलमा स्क्रिनिङ्ग तथा आइसोलेशन गरिदा पनि संक्रमण बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भारतसँगै संक्रमण फैलिएको राष्ट्रहरुको अवस्था अत्यन्तै चिन्ताजनक रहेको भन्नुहुँदै लकडाउनले भारतमा अवस्था नियन्त्रणमा रहेको दाबी गर्नुभयो ।
भारतमा कोरोनाभाइर संक्रमणको बढ्दो जोखिमका बीच मार्च २५ देखि तीन साताको लागि लकडाउनको घोषणा गरिएको थियो । करिब २५ मिनेटको सम्बोधनको क्रममा उहाँले लकडाउनको बेला कुनै श्रमिक वा कामदारलाई कामबाट नहटाउन, घरका वृद्धको विशेष हेरचाह गर्न, गरीब, विपन्न समुदायलाई सहयोग गर्न देशबासीलाई आग्रह गर्नुभयो ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब दश हजार पुगेको छ । भाइरसबाट संक्रमित मृतकको संख्या ३२० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्