चन्द्रप्रकाश शर्मा
पोखरा, बैशाख ६ गते । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि कोरोना मुक्त हुनुभएको हो ।
बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको भेटिएपछि उहाँ कोरोना मुक्त हुनुभएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि. पौडेलले जानकारी दिनुभयो । कोरोना मुक्त भएसँगै उहाँलाई अस्पतालबाट घर पठाउँने तयारी गरिएको पोखरेलले बताउनुभयो । ‘हामी उहाँलाई घर पठाउँने तयारी गरेका छौं, शनिबार साँझ नभए आइतबार बिहानै घर पठाउँछौं, उहाँलाई नियमित दिइरहेका औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गछौं ।’ पोखरेलले भन्नुभयो ।
संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए । ती मध्य काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैठौ संक्रमित एकै दिन कोरोना मुक्त भएका छन् । पाँचौ संक्रमित युवतीको भने चौथो रिपोर्ट समेत पोजेटिभ आएकाले अस्पतालमा उपचार गराइरहनुभएको छ ।