प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई युवाको खुला पत्र

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई युवाको खुला पत्र

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई युवाको खुला पत्र

माननीय शेरधन राई ज्यु नमस्कार ।

तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । तपाइले राजनीति कहिले र कसरी सुरु गर्नुभो त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह म मा छैन । सुनेको छु यो बिषम परिस्थितिमा पनि तपाईं र बिराटनगर महानगरपालिकाका मेयर बिच खासै समन्वय भएको छैन । सङ्घीय सांसद हराए, प्रदेशका मन्त्री हराए, स्थानीय प्रतिनिधि हराए , दु:खमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्, भन्ने जस्ता केही नकारात्मक टिका टिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यसो हुनुमा दुईवटा कारण हुन सक्छ । पहिलो संघ,प्रदेश र स्थानिय तहमा फरक राजनीतिक नेतृत्व हुनु, अर्को स्थानिय तहले एकद्वार प्रणाली अपनाउनु । अन्य समय र सन्दर्भमा यी यस्ता कुराहरुलाई सामान्य रुपमा लिन परेपनि खासै आपत्ति हुने छैन । तर यो जटिल परिस्थितिमा कुनै बाहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ । भोको पेटलाइ सूर्य र रुखको चिन्हले सन्तुष्टि नदिने रहेछ ।

लकडाउनको समय अवधि लम्बिएसँगै गरिब मजदुरका पिडाहरु झनै ज्यामितीय रुपमा बढ्दै गइरहेको छ । सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु सँगको पीडा शब्दले व्याख्या गर्न सक्दैनन् । बिहान घाम झुल्के पछि पिडामा मलम पट्टि लगाउन कोही आउला कि भनेर आश मानेर बसिरहेका छन् । तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै आफ्नाहरु साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् ।

अब यहि आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोस जनताले दु ख पाउन सुहाउँछ र ?? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाइलाई एउटा शंका पनि लागि रहेको हुन सक्छ । सबै काम गर्ने र बजेट पार्ने म । अनि जनताको अगाडि मेयर । यदि यस्तो तपाइलाई लाग्छ वा कसैले तपाइलाई यस्तो सल्लाह दिइरहेको छ भने पनि त अन्य अनेकौ उपायहरु छन् । मह काड्नेले नै हात चाट्न पाउने । तपाईं सँग यस क्षेत्रका अन्य नेतृत्वहरु सँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । जनता सँग तपाईं प्रतिको बिश्वास छ ।

अब तपाइको हातमा छ विश्वासको स्तम्भलाई अझ अडिक बनाउने वा ढलमलाउन छोडिदिने । तपाइको क्षमता माथि म प्रश्न गर्न चाहन्न । जनताले तपाइकै बारम्बार नेतृत्व चाहिरहेको छ र कामना गर्छु आगामी दिनमा पनि यथावत रहोस तर यसका लागि तपाइको परीक्षा चलिरहेको आभास गरिरहेको छु । परीक्षा दिने तपाईं आफैले हो नतिजा राम्रो वा नराम्रो आउने पनि तपाइकै हो । म चाहान्छु यो परीक्षामा तपाईं नेपाल टपर बन्नुस धेरै शुभकामना । सम्भव भए सम्म आफै उपस्थित भएर, नभए तपाईं जहाँ हुनुहुन्छ त्यहीबाट तपाइ सँग भएको प्रभावकारी योजना र लकडाउनमा भै रहेको प्रयास र कार्यान्वयन पक्षको बारेमा जानकारी दिनु भए हामी आभारी हुने थियौँ ।

कोरोनाबाट बच्न के गर्नु पर्छ त्यो त बच्चा बच्चाले नि जानी सके तर भोकमरीको पीडाबाट बच्न के गर्ने त्यो बच्चाका बाबा आमाले नि जान्न सकेनन । थाहा छ, काम गर्दा पनि कहिँ न कहिँबाट नकारात्मक टिप्पणी त आइनै हाल्छ्न तर यो समय सबै आलोचनालाई पन्छ्याएर अगाडी बढ्नु पर्ने समय रहेछ । जनताको दुस्खमा जनप्रतिनिधि भन्ने अभियान सहित तपाइको सहभागिता देख्न पाउने आशा गर्दछु ।

धन्यबाद !!

#परिवर्तनसम्भबछ

तपाईको सुुभचिन्तक
जीवन बन्जारा
महेन्द्र मोरङ क्याम्पस बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्