नेकपा सचिवालय बैठक सकियो , वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

नेकपा सचिवालय बैठक सकियो , वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

'सचिवालयले पार्टीका उपाध्यक्ष कमरेड वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने र त्यसका लागि पहल गर्ने निर्णय गरेको छ,' बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

प्रतिनिधि सभामा आएपछि प्रधानमन्त्री बन्ने ध्येय पनि स्वभाविक रूपमा यसमा रहेको प्रवक्ता श्रेष्ठले प्रस्ट पारे।

साथै बैठकले यही वैशाख २५ गते काठमाडौंमा नै बस्नेगरी स्थायी कमिटी बैठक समेत बोलाएको छ ।

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न त्यसको एकदिन अघि अर्थात वैशाख २४ गते सचिवालय बैठक समेत बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सचिवालयको अघिल्लो बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

संघीय संसद्को सदस्य नरहेको अवस्थामा कसरी प्रधानमन्त्री बनाउने भन्ने सवाल चौतर्फी रूपमा उठेको थियो ।

राष्ट्रिय सभामा लैजाने हो भने प्रधानमन्त्री बन्न संविधान संशोधन गर्नुपर्ने हुन्छ, प्रतिनिधि सभामा लैजानका लागि उपनिर्वाचन आवश्यक पर्छ ।

अब उपनिर्वाचन हुने संकेत नेकपाको निर्णयले गरेको छ, त्यसका लागि पार्टीका कुनै एक सांसदले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्