लकडाउन खुकुलो नभएसम्म विद्यालयमा नयाँ विद्यार्थी भर्ना नलिन निर्देशन

लकडाउन खुकुलो नभएसम्म विद्यालयमा नयाँ विद्यार्थी भर्ना नलिन निर्देशन

शेषकान्त पण्डित

काठमाडौँ, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् ।

कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले पनि अहिले अनलाइन भर्ना नलिन निर्देशन दिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताउनुभयो । देशभरका प्याब्सन मातहतका विद्यालयले भर्ना नलिने उहाँको भनाइ छ ।

“अनलाइनबाट विद्यार्थी भर्ना लिने कुरा सम्भव तथा व्यावहारिक छैन । बन्दाबन्दीको विषयमा सरकारबाट जारी निर्देशन उल्लङ्घन गर्ने कुरा पनि भएन”, प्याब्सन अध्यक्ष पुरीको भनाइ छ । बन्दाबन्दीको विषयमा सरकारले वैशाख २६ पछि लिने निर्णय हेरेर अघि बढ्ने उहाँको भनाइ छ । सरकारबाट बन्दाबन्दी आंशिक रूपमा मात्रै खुलाउने, सामाजिक दूरी कायम गर्ने हिसाबले अभिभावक विद्यालयसम्म आउने वातावरण नबनेसम्म विद्यार्थी भर्ना लिन नहुने प्याब्सनले जनाएको छ । प्याब्सनले आफू मातहतका धेरै विद्यालयले विद्यार्थीको नतिजा भने प्रकाशित गरेको जनाएको छ । वैशाख १९ सम्म नतिजा प्रकाशित गर्न प्याब्सनले मातहतका विद्यालयलाई निर्देशन दिएको थियो ।

केही विद्यालयका अन्तिम परीक्षा अझै नसकिएकाले वैशाख २५ भित्र कक्षा ९ सम्मको नतिजा प्रकाशित गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । केही पालिकाका निजी विद्यालयले अझै परीक्षा लिन नसकेका कारण विद्यार्थीको यसअघिको आन्तरिक परीक्षाका आधारमा अन्तिम नतिजा प्रकाशित गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) नेपालका अध्यक्ष ऋतुराज सापकोटाले बन्दाबन्दीको यस अवधिमा विद्यार्थीलाई अनलाइन भर्ना नगरिएको बताउनुभयो । विद्यार्थी भर्नाको विषय अभिभावकको आर्थिक पक्षसित समेत जोडिएकाले अहिले त्यो अवस्थासमेत नरहेको उहाँले स्प्ष्ट गर्नुभयो । यति बेला सामाजिक दूरी कायम गरेर पुस्तकको जोहो गर्न नसकिने, विद्यालयमा जमघट हुन तथा अभिभावकले आर्थिक पक्षको बन्दोबस्त गर्न नसक्ने भन्दै उहाँले बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन थालेको दुई या तीन सातापछि मात्रै विद्यालय सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।

सरकारी अधिकारीहरूले पनि यति बेला पर्ख र हेरको अवस्थाकै रहेको जनाएका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले भर्ना तथा पठनपाठनका विषयमा विद्यालयहरूले आन्तरिक तयारीका काम गर्न सक्ने तर अनलाइनबाट भर्ना लिन नसक्ने जनाउनुभयो । विद्यालयहरूले आफ्ना विद्यालय वरपरका विद्यार्थीको अवस्था के छ भन्ने हिसाबले तयारी भने गर्न सक्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्