विद्यार्थीहरू अन्योलमा, अब एसईई परीक्षा कहिले हुन्छ ?

विद्यार्थीहरू अन्योलमा, अब एसईई परीक्षा कहिले हुन्छ ?

प्रज्ञा तिमल्सीना 

काठमाडौं, बैशाख २८ । कोरोना संक्रमण फैलन नदिन लागू गरिएको लकडाउन केही खुकुलो बनाइए पनि शैक्षिक क्षेत्र सञ्चालनमा सरकारले रोक लगाएको छ ।

लामो समय शैक्षिक गतिविधि ठप्प हुँदा परीक्षालगायत शैक्षिक प्रणाली परिवर्तनसम्मको बहस भइरहेको छ ।

निर्धारित परीक्षाको मुखैमा लकडाउन सुरु भएपछि सबै भन्दा मारमा एसईई परीक्षा तयारीमा जुटेका विद्यार्थीहरुलाई परेको छ ।

गत चैत्र ६ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा स्थगित भएपछि कहिले हुने भन्नेमा अझै अनिश्चिता छ ।

एसईई परीक्षाको प्रतिक्षा गरिरहेका विद्यार्थीहरुलाई एउटै प्रश्नले सताइरहेको छ– अब परीक्षा कहिले हुन्छ ?

यो प्रश्नसँगै गत चैतमा एसईईका लागि तोकिएका परीक्षा केन्द्र नजिकै कोठा लिएर बसेका र परीक्षा नभएपछि निरास हुँदै घर फर्किएका विकट जिल्ला हुम्ला, जुम्लालगायतका हिमाली तथा पहाडी क्षेत्रमात्र होइन, राजधानीकै विद्यार्थी समेत शिक्षा मन्त्रालयको निर्णय कुरिरहेका छन् ।

शिक्षा मन्त्रालय भने एसईई परीक्षाबारे अझै अनिर्णित छ ।

यसले एसईई परीक्षाको प्रतिक्षामामा रहेका विद्यार्थीहरुमा मनोसामाजिक प्रभाव पार्न थालेको विज्ञहरुले बताएका छन् । उसो त एसईई परीक्षा नै नलिने र आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा प्रकाशित गर्ने बहसले आफ्नो मेहनत नै खेर जाने हो कि, राम्रो नम्बर नपाउने हो कि भन्ने प्रश्नले उनीहरुलाई उद्देलित बनाएको छ ।

यस बर्ष ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुदैछन् । शिक्षा मन्त्रालयले अर्को सूचना नभएसम्म कुनै परीक्षा संचालन नगराउन भनेको छ । यसबीचमा एसईई परीक्षाको विषयमा संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा गरमागरम छलफल भयो । कतिपय सांसदले एसईई परीक्षाको मोडालिटि नै परिवर्तनमा जोड दिएका छन् ।

यसले विद्यार्थी र अभिभावकहरुलाई झनै अन्यौलमा पारिदिएको छ । अभिभावकहरुले एसईई परीक्षाबारे छिटो निर्णय दिएर आफ्ना बालबालिकालाई तनावमुक्त गरिदिन सरकारसँग माग गरेका छन् ।

मनोविद्हरु भने अभिभावकहरुले नै विद्यार्थीहरुलाई तनावमुक्त पार्नेतर्फ ध्यान दिनु पर्ने बताउँछन् । मनोविद् डा. सरोज ओझा सकारात्मक सोच राख्दै विद्यार्थीलाई सिर्जनात्मक गतिविधिकासाथै पढाईमा संलग्न गराउन सुझाव दिन्छन् । एमईईमात्र होइन, सरकारले सबै शैक्षिक गतिविधिबारे ठोस निर्णय लिन ढिला भैसकेको छ ।

सरकारबाटै आउने फरकफरक सूचना र जानकारीले शैक्षिक क्षेत्र अन्यौलग्रस्त रहेको छ भने विद्यार्थी र अभिभावकहरुमा मनोसामाजिक असर पारिरहेकोतर्फ सरकार गम्भीर बनोस् । एसईईलगायतका परीक्षाको मोडालिटीबारे पनि स्पष्टता अहिलेको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्