२३ जेष्ठ २०७७, शुक्रबार

अनलाइन कक्षाको सान्दर्भिकता – शिव लम्साल

शिव लम्साल

  विश्वमा फैलिएको कोरोना भाइरसका कारण पूर्ववत् अवस्थामा सामान्य रुपमा चलिरहेको सम्पूर्ण क्षेत्रलाई अस्तव्यस्त बनाइदिएको छ। यस महामारीले मानिसको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र शैक्षिक लगायत सबै क्षेत्रहरुमा परम्परित रुपमा निर्बाध चलिआएको प्रणालीलाई नै चुनौती दिएको छ। र केवल इन्टरनेटका माध्यमबाट गरिने  कार्यकलाप मात्र अछुतो रहेको छ । यसर्थ अबका हाम्रा सबै कार्यकलापको एउटा मुख्य विकल्प इन्टरनेट प्रविधि र  प्रविधिमैत्री हुनुपर्छ भन्ने सन्देश यस महामारीले हामीलाई दिएको गतिलो शिक्षा हो।

  शिक्षा क्षेत्रमा सूचना र प्रविधिको प्रयोग धेरै अगाडिदेखि नै हुँदै आएको कुरा सर्वविदितै छ। थोरबहुत रुपमा विद्यालय तथा विश्वविद्यालयहरूमा सूचना र प्रविधिको प्रयोग हुँदै आइ रहेको छ। तर सबै विद्यालय तथा विश्वविद्यालयहरूका विद्यार्थीहरुको माझ भने पुग्न नसकेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । तर एउटा के कुरा सत्य हो भने सामाजिक सञ्जाल र इन्टरनेट प्रविधि आदिको प्रयोग ग्रामीण क्षेत्रहरुमा समेत प्रयोग हुन थालेको छ । यी सबै प्रयोगले सूचना र प्रविधिको प्रयोगमा  पृष्ठभूमि तयार गरेको छ। पछिल्लो पुस्तालाई सामाजिक सञ्जालले यो पृष्ठभूमि निर्माण गरिएको छ।

  लगडाउन भएको करिब डेढ महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा विद्यार्थीहरूको पठनपाठन र परीक्षा अवरुद्ध भएको छ । सम्पूर्ण शैक्षिक गतिविधिमा आएको यस्तो विषम परिस्थितिले शैक्षिक क्षेत्रलाई गतिशील बनाउने एउटा आशाको दीप केवल अनलाइन कक्षा नै हो । पछिल्लो समयमा नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमितहरूको संख्या दिनदिनै बढ्दै जान थालेपछि नेपालका पनि विद्यालय खोल्ने कुरा अनिश्चित बन्दै गएको छ । 

 यस्तो अवस्थामा कतिपय विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन कक्षा पनि सञ्चालन गरिरहेकै छन् । यसै सन्दर्भमा विभिन्न सामाजिक सञ्जाल तथा संचारका माध्यमहरुमा अनलाइन कक्षा सम्भव छ या छैन भन्ने कुरामा निकै बहस भइरहेको छ।

 

अनलाइन कक्षाको सम्भाव्यता

  विश्वविद्यालय तहमा अनलाइन कक्षाको प्रचूर सम्भावना छ। विशेषतः स्नातक र स्नातकोत्तर तहमा थोरै खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति अनलाइन कक्षा नै उपयोगी हुन्छ । अनलाइन कक्षा सञ्चालन गर्ने हो भने आरम्भमा अलिकति प्राविधिक कठिनाइ आउन सक्ला । तर शैक्षिक र प्रशासनिक खर्चको दीर्घकालीन मूल्यांकन भन्ने गर्ने हो भने अनलाइन कक्षा नै सर्वसुलभ हुने कुरामा दुईमत नै छैन । विशेषगरी शिक्षा तथा मानविकी जस्ता कम विद्यार्थी हुने संकायमा क्षेत्रीय वा केन्द्रीय तहबाटै अनलाइन कक्षा सञ्चालन गर्ने हो भने विद्यार्थीहरुले कलेज धाइरहनु नपर्ने, समयको बचत हुने, आफ्नो जागिर वा व्यवसाय गरेकै ठाउँबाट कम लगानी, रकम र खर्चमा गुणस्तरीय शिक्षा प्राप्त हुन्छ । यसले शिक्षाप्रदायक संस्था र विद्यार्थी दुवैका लागि लाभदायक मात्र होइन बरदान नै साबित हुन्छ ।

 यसैगरी विद्यालय तहमा भने अनलाइन कक्षा विद्यालयको भौतिक अवस्था र विद्यार्थीहरूमा निर्भर रहन्छ। सहरी क्षेत्रमा रहेका विद्यालयहरुमा यो सम्भव छ तर यसका लागि विद्यालय प्रशासन, शिक्षाक वर्ग, इन्टरनेट प्रदायक संस्था र सरकार सबैको सामूहिक प्रयत्न हुनु आवश्यक छ । विश्वमा आएको महामारीको यो अवस्थाले हामीलाई परम्परागत शैक्षिक प्रणालीबाट फड्को मार्ने एउटा राम्रो अवसर प्राप्त भएको छ भन्दा अतियुक्ति नहोला । यही विषम अवस्थालाई सदुपयोग गर्दै समग्र हाम्रो शैक्षिक प्रणालीलाई नै परिवर्तन गर्ने एउटा सुनौलो मौका पनि हुनसक्छ यो। अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ । हामीलाई अहिलेको यो बाध्यात्मक अवस्थाले यसैतर्फ जान्न संकेत गरिरहेको छ ।

  एउटा सत्य के हो भने -कुनै पनि नयाँ प्रयोग कम चुनौतीपूर्ण हुँदैन। अनलाइन कक्षा पनि पूर्णरूपमा आजको भोली नै तत्काल देशव्यापीरुपमा सञ्चालन गर्न सकिन्छ भन्ने कुरा नहोला । शतप्रतिशत अनलाइन कक्षा सफल हुन्छ भन्ने गलत मान्यता पनि हामी नराखौं। अहिलेकै परम्परागत शिक्षा प्रणाली पनि शतप्रतिशत सफल भएको छैन भन्ने कुरा विभिन्न परीक्षाका नतिजाहरु हामीबाट छिपेका छैनन् । त्यसैले अहिले अनलाइन कक्षा वा  प्रविधिमैत्री शिक्षण सिकाइका दोष वा कमीकमजोरी खोज्न भन्दा यसलाई कसरी, कुन तरिकाबाट सफल बनाउन सकिन्छ भनेर चौतर्फी प्रयास भयो भने पूर्णरूपमा नभए पनि धेरै हदसम्म अनलाइन कक्षालाई सम्भव बनाउन सकिन्छ।

 तत्काल शिक्षक र विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा पठनपाठन हुने परम्परित प्रणाली अनलाईन कक्षाले प्रतिस्थापन गर्छ भन्ने होइन । अहिलेको बाध्यात्मक परिस्थितिमा शिक्षक र विद्यार्थीलाई जोड्ने काम केवल अनलाइन शिक्षाले मात्र गर्नसक्छ र पछि यसलाई व्यवस्थित बनाउँदै लगेर शिक्षण परिपाटीको एउटा उत्तम विकल्प बनाउन सकिन्छ भन्ने हो।

 

आमधारणा

  अहिले अनलाइन शिक्षा सम्भव छैन भनी यसका विरोधी विचारहरू प्रशस्त आएका छन्। अनलाइन कक्षाको विरोध गर्नु भनेको सवारी साधन प्रयोग गर्दा दुर्घटना हुन्छ भनेर पैदल नै हिड्नु जस्तै हो । वास्तवमै विज्ञान र प्रविधिले ल्याएका खोज र साधनलाई ढिलो चाँडो हामी सबैले प्रयोग गर्छौं र गर्ने पनि पर्छ । यसबाट पछि हट्नु भनेको मुर्खता मात्र हो । फेरि यो प्रविधि र संचार एकै चोटि सबैको पहुँचमा पुग्न सक्छ भन्ने कुरा पनि होइन । बिस्तारै तर छिटो पछिल्लो पुस्ताले रहरका रूपमा र अघिल्लो पुस्ताले बाध्यताका रूपमा प्रविधिसँग साक्षात्कार हुनैपर्छ । हामी सबैले बुझेकै कुरा हो -प्रविधिमा खुकुरी भन्दा कर्द वा शिक्षकभन्दा विद्यार्थी वा बाबुआमा भन्दा छोराछोरी नै बढी निपूर्ण हुन्छन् । त्यसैले पछिल्लो पुस्ताका लागि त यो अनिवार्य नै हो त्यसैले के कसरी हुन्छ यसलाई नै प्रभावकारी बनाउँदै प्रयोग गर्नुको विकल्प छैन । यस कमीकमजोरीहरु केके छन् ? तिनलाई कसरी न्युनिकरण गर्न सकिन्छ ? भन्ने कुरामा सबै लागौ । अहिलेको २१औं शताब्दीमा प्रविधि र शिक्षालाई जोड्नु हामी सबैको कर्तव्य पनि हो र यसैबाट हामी सफल पनि बन्न सक्छौं।

गत  हाम्रा अभिभावकहरूको दृष्टिमा कम्प्युटर, मोबाइल  आदि छोराछोरी बिगार्ने साधन हुन् भन्ने बुझाइ छ । वास्तवमा यी साधनहरूको आफ्नो उद्देश्य प्राप्तिका लागि उपयोग गर्न सके वरदान हुन् भने दुरुपयोग गरे अभिशाप हुन् । बरु आफ्ना छोराछोरी र विद्यार्थीहरुलाई यी साधनहरूको कसरी सदुपयोग गर्न सकिन्छ भन्ने कुरा सिकाउनु जरुरी छ । अहिलेको समयमा विद्यार्थीहरुलाई मोबाइल नचलाओ भन्नुभन्दा मोबाइललाई आफ्नो उद्देश्य प्राप्तिका लागि कसरी उपयोगी साधन बनाउन सकिन्छ भन्ने कुरा सिकाउनु बढी श्रेयष्कर ठहरिन्छ। आफ्ना छोराछोरी वा विद्यार्थीहरुले सदुपयोग वा दुरुपयोग गरिरहेका छन्,त्यसको हेक्का राख्ने काम शिक्षक तथा अभिभावकहरूको हुन्छ त्यसैले आजका अभिभावक तथा शिक्षकको प्रविधि साक्षर हुनैपर्ने देखिन्छ।

 

अनलाइन कक्षा सञ्चालन गर्न गर्नुपर्ने पहलहरु

१.अन्य क्षेत्रमा हुनेगरेका खर्च कटौती गरी प्रविधिमा खर्च बढाउने,

२.शिक्षक तथा विद्यार्थीहरुलाई अनलाइन कक्षा सम्बन्धि तालिमको व्यवस्था गर्ने,

३.सम्भव भएसम्म वाइफाइ जोनको व्यवस्था गर्ने,

४. प्रविधिमैत्री शैक्षिक सामग्रीहरुको उत्पादन गर्ने,

५. रेडियो टेलिभिजन का माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउने,

६. ई-पुस्तकालय को पहुँच विद्यार्थीहरुको समक्ष पुर्याउने,

७. विद्यार्थीहरुलाई स-साना समूहमा बनाएर भेला गरेर पढाउने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-6-3

Country Confirmed Death
Nepal23009
India2168246088
China841604638
Malaysia7970115
Qatar6216045
Australia7240102
US1851520107175
Saudi Arabia91182579