२० श्रावण २०७७, मंगलवार

महामारीमा महिनावारीको कुरा – सुजाता श्रेष्ठ घिमिरे

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि विश्वका सबै देशले आफ्नो स्रोत-साधन र जनशक्तिको क्षमताले भ्याएसम्म प्रयास गरिरहेका छन्। लामो समयदेखि लकडाउन जारी रहेकाले यातायात¸ उद्योगधन्दा¸ कलकारखाना¸ व्यापार-व्यवसाय¸ रोजगारी, स्कुल-कलेज, सरकारी र गैरसरकारी संघ-संस्था तथा कार्यालयहरुका सेवा ठप्प हुँदा विश्वका प्राय: सबैदेशको आर्थिक र सामाजिक जीवन नराम्रोसँग प्रभावित भएको छ।

हाम्रो देशमा पनि ११ चैत २०७६देखि लकडाउन जारी छ। यहाँसम्म आइपुग्दा नेपालको अर्थतन्त्रमा ठूलो असर देखापरिसकेको छ। सीमित स्रोत-साधन र जनशक्तिका बीच माहामारी नियन्त्रण र रोकथाम गर्ने एकमात्र विकल्प लकडाउन ठानेर चालिएको यो कदमले सरकारको आलोचना हुन थालेको छ।

अर्कोतर्फ, अप्रत्यासित रुपमा सामना गर्नुपरेको यो माहामारी नियन्त्रण र रोकथामको कार्यमा अग्रपंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र सूरक्षाकर्मीको पेसा सबभन्दा बढीजोखिमपूर्ण छ।

माहामारी नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पुरुषको तुलनामा महिला वा किशोरीहरुलाई धेरै कष्ट र पीडा हुने गर्दछ। किनकि प्रकृतिक रुपमा महिलाको नियमितरुपमा मासिकश्राव हुने गर्छ, जसका कारण उनीहरु शारीरिक रुपमा कमजोर हुन्छन्। हाम्रो समाजको सामाजिक मान्यता र संस्कारले पनि महिनावारीका बेला महिलाहरु सुरक्षित र सजग भएर बस्नु पर्ने हुन्छ, जुन फिल्डमा खटिँदाको अवस्थामा सम्भव हुँदैन।

त्यसैले माहामारी नियन्त्रणमा खटिँदा ज्यानको जोखिम त छँदैछ, त्यसमा पनि महिला र किशोरीलाई महिनावारीले थप प्रभाव पारेकोछ।महिनावारी महिलाको शरीरको एक प्राकृतिक प्रक्रिया हो। प्रत्येक महिना ३ देखि ५ दिनसम्म शरीरबाट रगत बग्ने यस प्रक्रियालाई हाम्रो समाजमा अझै पनि अपवित्र मान्दै महिला तथा किशोरीमा विभिन्न प्रकारका शारीरिक, मानसिक तथा सामाजिक विभेद गरिँदै आएको छ।

विश्वका विभन्न देशमा मे महिनालाई मर्यादित महिनावारी महिना भनेर मनाइरहेको अवस्थामा कोरोना महामारीले अर्को पाठ सिकाएको छ। यसै पनि नागरिकहरु माहामारीको समयमा आफ्ना अधिकारहरु उपभोग गर्न बन्चित भइरहेका हुन्छन्। जस्तै: स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउने अधिकार¸ मनोरज्जनको अधिकार¸शिक्षाको अधिकार जस्ता अधिकारहरु हाम्रो सुरक्षा र संक्रमणको खतरा न्यूनीकरणका लागि हनन् गरिएका हुन्। यस्ता माहामारीको अवस्था सामान्य भएपछि पुन: उपभोग गर्न पाइन्छ।तर जब माहामारीमा महिनावारीको कुरा आउँछ यस विषयलाई सामान्य रुपमा लिन सकिँदैन।किनकि यो एउटा मानव अधिकारको विषय मात्र नभएर किशोरी तथा महिलाको मर्यादा र स्वाभिमानसँग सम्बन्धित छ।

महिनाको २५ दिन र ५ दिन बीचमा कुनै किसिमको विभेदकारी फरक व्यवहार, हिंसा¸ हेला¸होचो¸ छोइछिटो¸ तलमाथि केही पनि नगरी स्वतन्त्रपूर्वक स्वस्थ तवरबाट महिनावारी हुन पाउनु नै मर्यादित महिनावारी हो।

एक अध्ययन अनुसार विश्वमा प्रत्येक दिन लगभग ३० करोड प्रजनन् उमेरका महिला तथा किशोरीहरु महिनावारी हुने गर्छन्।कोभिड-१९ को माहामारी फैलनुअघि विश्वका करिबकरिब ५० करोड महिला तथा किशोरीलाई मर्यादित र सुरक्षित महिनावारीका लागि आवश्यक स्रोत र सामग्रीको अभाव रहेको कुरा एक अध्ययनले जनाएकोछ।

नेपालमा सरदर दुई लाख ९० हजार महिला तथा किशोरी दैनिक रुपमा महिनावारी भइरहेका हुन्छन्।पृथ्वीको आधा हिस्सा ओगटेको महिला वर्गको महत्वपूर्ण हिस्सा ओगट्ने प्रजनन् समूहका महिलाको स्वास्थ्य शिक्षा मनोविज्ञान मात्र नभई मर्यादा र आत्मसम्मानसँग जोडिएको यस महत्वपूर्ण विषयमा सरोकारवालाहरुको खासै कार्यक्रम र बहस भएको पाइँदैन।अझ माहामारीले यो विषय ओझेलमा परेको छ।

अहिले माहामारीको घडीमा महिनावारी हुने महिलाहरु कोहीमाहामारी नियन्त्रण तथा रोकथामको महान कार्यमा विभिन्न कार्यक्षेत्रमा खटिइरहेका छन् भने घरभित्र थुनिएर बसेका महिलाहरु पनि घरधन्दा लगायत माहामारीले थपिदिएको कामको बोझ बोक्न विवश छन्।

महिनावारी आफैंमा एक असहज अवस्था हो। कोरोना नियन्त्रण र रोकथामको अग्रपंतिमा खटिएका महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई यस माहामारीमा बढी दु:ख, कष्ट सहनु परेको छ भने लकडाउनमा घरमा थुनिएर लामो समय बस्नुपर्ने महिला र किशोरीलाई पनि यस माहावारीले थप पीडा थपिदिएकोछ।

हाम्रो समाजमा घरधन्दाको जिम्मेवारी र दायित्व महिलाकै हो भन्ने अघोषित मान्यता जस्तै छ।लकडाउनको समयमा घरधन्दा सम्हालेर बसेका किशोरी तथा महिलामा थप कामको भार बढेको छ।जस्तै: अन्य समयमा भन्दा धेरै पकाउनुपर्ने, स्कुल बन्द भएका कारण बालबच्चाको बढी रेखदेख गर्नुपर्ने, घरको सरसफाइ लगायत थप काम गर्नुपर्ने। अधिकांश महिलाले घरका अन्य पुरुष सदस्यसरह आराम नपाउने र आफ्नो थकान र पीडा अभिव्यक्त गर्न नसक्ने हुन्छन्।यसले उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ।

त्यसैगरीसंस्थामा कोरोना संक्रमणको रोकथाम नियन्त्रणमा खटिएका कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षाको लागि प्रदान गरिएको पिपिई जस्ता स्वास्थ्य सामग्रीको चरम अभाव देखियो। महिनावारी भएका स्वास्थ्य र सुरक्षाकर्मी ड्युटीमा खटिएका बखत लगातार ११/१२ घन्टा काम गर्नुपर्ने हुनाले समयसमयमा प्याड वा कपडा फेर्न नपाउने¸ महिनावारीको दुखाइसँगै सरसफाइका सामानहरु पानी¸साबुन¸स्यानिटाइजर¸ प्याडफ्याल्ने डस्टबिनको उचित व्यवस्था भएको पाइँदैन।

पेसागत संगठनको अनुशासनमा बस्नुपर्ने हुनाले सबै असुविधाको गुनासो गर्दा अनुशासन र आचरण विपरीत हुने हुन्छ।कतिपय अवस्थामा त महिनावारी पर सार्ने ‌औषधि सेवन गरी सेवामा खटिएको कुरा तीमहिला कर्मचारीहरु बताउँछन्।महिनावारी हुँदा पनि यस्तो माहामारीको रणभूमिमा खटिएका महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको योगदान अनि घरघरमा लामो समय लकडाउनमा परिवारको हेरचाह तथा घरधन्दामा महिलाले अनवरत निर्वाह गरेको भूमिकालाईकहिल्यै पनि बिर्सनु हुँदैन।

महिनावारी भएका महिला तथा किशोरीले आफ्नो समस्या सहज रुपमा राख्नसक्ने वातावरण परिवारमा बनाउन पनि जरुरी छ।सकारात्मक वातावरण बनाउने कुरामा महिलाको अहं भूमिका त छँदैछ, यस बाहेक अर्को महत्वपूर्ण भूमिका घरका पूरुष वर्गको रहेको हुन्छ।जसको सहयोगबिना महिनावारीको विषयमा सकारात्मक वातावरण बनाउन असम्भव हुन्छ।

महिनावारी भएका बेला महिलामा रक्तश्राव हुने भएकोले शरीर कमजोर हुने हुँदा अत्यधिक कामको बोझ नदिने¸ महिलाको काममा अन्य घरका सदस्यहरुले पनि सहयोग गर्नेर परिवारका सबै सदस्यमामहिनावारी एक प्राकृतिक नियमित प्रक्रिया हो भन्ने भावनाको विकासगर्नुपर्छ।घरका अत्यावश्यक सामग्रीको सूचीमा महिनावारीको लागि प्याडको पनि समावेश गरौं। राहतको प्याकेजमा परिवार हेरेर यदि त्यहाँ किशोरी तथा महिलाह छन् भने स्यानिटरी प्याडको पनि व्यवस्था गरौं।

महिनावारी संवेदनशील विषय भएकोले सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरुक्षाकर्मीको लागि कार्य क्षेत्रमा प्याड, पानी, साबुन, स्यानिटाइजर, डस्टबिन,दुखाइ कम गर्ने औषधि,आराम गर्ने व्यवस्था सहितको सुरक्षित कोठा राख्ने गरौं।अवहेलनाको रुपमा लिइएको महिनावारीलाई मर्यादित बनाउन सबै मिलेरसचेतना फैलाउन लागौं। यस विषयमा खुलेर छलफल¸ बहस र अन्तर्क्रिया गरौं।

महिनावारीको लागि अत्यावश्यक सामग्रीको व्यवस्थापनकालागि जिम्मेवार निकायमा वकालत गरौं।प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रममा सरकारले पनि महिनावारीलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा सबै पक्षबाट जोड दिने गरौं।

यदि महिला हिंसामुक्त नेपाली समाजको परिकल्पना गरिन्छ भने त्यहाँ महिनावारीलाई मर्यादित बनाउनुको विकल्प छैन।

(घिमिरे जनस्वास्थ्यकर्मी तथा महिला प्रजनन् अधिकारकर्मी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949