बिग्रिएको प्रेम सम्वन्ध र आत्महत्या – भुवन कुमार वाग्ले

बिग्रिएको प्रेम सम्वन्ध र आत्महत्या – भुवन कुमार वाग्ले

संचार माध्यममा आजकाल प्रशस्त धार्मिक च्यानल छन । सबै धर्मका वावाहरु धार्मिक पुस्तकका श्लोक, आयतको हवाला दिदै चर्को स्वरमा " जीवन सुन्दर र अमुल्य छ" भनेर नानाथरी प्रवचन दिईरहेका हुन्छन् । आजकाल त अझ जतातै मोटिभेसनल स्पिकरहरु भेटिन्छन्  ।उनीहरु पनि भन्छन " लाईफ इज व्युटीफुल, लेट्स लिभ एभरी विट अफ ईट"।  तर म प्रश्न सोध्छु, त्यसोभए किन एउटा भरभराउंदो युवा पंखामा लट्किएर आफै आफ्नो जीवन समाप्त पार्न चाहन्छ ? दैनिक किन लाउंलाउं खाउंखाउं उमेरका युवती जीवनसंग हार्छन र अस्वाभाविक मृत्युलाई अंगाल्छन?
आमावुबा, आफन्त, घर व्यवहार, प्रेम, सपनाहरु भविष्यभन्दा आत्महत्या जस्तो घिनलाग्दो मृत्यु किन रोज्छ मान्छे ? मैले आत्महत्या गरेपछि मलाई माया गर्ने मलाई जन्माउने आमाबाबु, मेरा आफन्त, साथी , मेरो गाउँ टोललाई कस्तो असर पर्छ ? भनेर किन सोच्दैन मान्छे ?

समस्याहरु आउंछन् जान्छन् समयले सबै घाउमा मलहम लगाउंदै जान्छ, यो कालो रात वित्छ, र उज्यालो हुन्छ भन्ने किन विर्सन्छ मान्छे ?

कारण खोज्नुपर्छ । घोत्लिएर कारण खोज्नुपर्छ । यो घृणित आत्महत्याको डढेलो अव सबै मिलेर रोक्नुपर्छ । आत्महत्याका केशहरू हेर्दा के देखिन्छ भने विग्रिएको प्रेम र वैवाहिक सम्वन्ध, ठुलो आर्थिक घाटा, अधुरा सपनाहरु र त्यसबाट हुने सामाजिक वेईजतीको डर मान्छेले आत्महत्या गर्ने सबैभन्दा प्रमुख कारणहरु हुन ।  डिप्रेसन लगायतका मानसिक रोगको कारणले पनि मानिस  आत्महत्या तर्फ अघि वढिरहेको देखिन्छ । यस लेखमा प्रेमसम्बन्ध र विवाहेत्तर सम्वन्धका  कारणले हुने आत्महत्या वारे मिहिन ढंगले यी कारणहरु केलाउन प्रयास गरिएको छ ।

प्राकृतिक प्रेमसम्बन्ध एउटा वयस्क युवक र युवतीवीच हुने स्वाभाविक सम्वन्ध हो । सृष्टिकालदेखि नै  यो उनीहरुवीचको शारीरिक आकर्षण सहमति र आवश्यकतामा यौनसम्वन्ध, विवाह, सन्तान उत्पादनका चरणहरुमा गुज्रन्छ । संसार सामान्यतया यसैगरी चलेको छ । तर प्रेम सम्बन्धमा कहाँबाट समस्या शुरुवात हुन्छ र खतरनाक वैमनस्यमा परिणत हुन्छ जसले मान्छे आत्महत्या तर्फ जान्छ भन्ने कुरा यहाँ महत्वपूर्ण छ ।

सबैभन्दा पहिलो कारण यो हो कि जुन प्रेम सम्वन्ध अपरिपक्व तरीकाले शुरुवात भएको हुन्छ, त्यो प्रेम सम्वन्धमा समस्या आउने ज्यादा सम्भावना हुन्छ । विपरीत लिंगी प्रति आकर्षण हुने उमेर पुगेपछि किशोरकिशोरीहरु फिल्मका कहानीहरुको देखासिकी र साथिभाईको लहैलहैमा सम्वन्धित व्यक्तिलाई राम्रोसंग नवुझि नचिनिकनै प्रेममा पर्ने फेसन छ । सुचना प्रबिधी र त्यो मार्फत जवरजस्त ढंगले प्रचारित पश्चिमा संस्कृतिको प्रभावले विद्यालय पढ्ने किशोर किशोरीहरूमा व्वाइफ्रेन्ड नभएको वा गर्लफ्रेन्ड नभएकोले हीनतावोध गर्ने मनोविज्ञान व्याप्त छ । कोही असाध्यै मोटो, दुव्लो, अपाङ्गता भएको वा विशेष समस्या भएका किशोरकिशोरी र अपवाद वाहेक सबै यही दौडमा हुन्छन् । उनीहरु व्वाइफ्रेन्ड वा गर्लफ्रेन्ड नभएकैले अरुद्वारा अपमानजनक  जिस्काईको शिकार हुन्छन् ।

यसैले हरेक किशोर वा किशोरी साथीहरुको समुहमा एक्लो नहुनका लागिमात्र भएपनि जोसुकै भएपनि गर्लफ्रेन्ड र व्वाइफ्रेन्ड खोजिरहेको लेखकले देखेको छ । त्यसपछि  घुम्न जाने, असुरक्षित यौनसम्पर्क गर्ने, फोटो भिडियो खिच्ने साथीहरुसंग ती फोटो र भिडियो शेयर गर्ने विकृत फेसन आजकाल चलेको छ । यसबाट असुरक्षित गर्भधारण र गर्भपतन, वेश्यावृत्ति जस्ता डरलाग्दा समस्याहरू पनि उत्तिकै उत्पन्न भैरहेका छन ।

समस्या जटील र विष्फोटक नहुन्जेल  यसबारे विद्यालय र  अभिभावकलाई थाहा हुदैन र थाहा भएपनि नियन्त्रण गर्न गाहारो हुन्छ किनकि कुरा धेरै अघि बढिसकेको हुन्छ । यही निहुँमा अभिभावकले छोराछोरीलाई कुटपिट गरेको र उसको प्रेमी या प्रेमिकाको अभिभावकसंग झगडा गरेको घटनाहरू व्यापक भेटिन्छ । यस्तो घटना घटेपछि विद्यालय र ठाउँ परिवर्तन गरिदिने, घरमै थुनेर राख्ने प्रताडित गर्ने उपायहरू ले किशोरकिशोरीहरु डिप्रेसनको शिकार भैरहेका हुन्छन् । यसरी अभिभावकले जवरजस्ती छुटाएपछि पनि आत्महत्या गरेका घटनाहरु देखिएका छन ।
फेरि यस्तो अपरिपक्व सम्वन्ध लामो समय टिक्दैन । यदि दूवैजनाले यस सम्वन्धलाई हल्का रुपमा लिएमा यो सम्वन्ध टुटेपनि खास फरक पर्दैन । तर यदि कुनै एकले हल्का र अर्कोले सिरियसली त्यो सम्वन्धलाई लियो भने अव समस्या शुरू हुन्छ । ती फोटो र भिडियो शेयर गरिदिने व्ल्याकमेल गर्ने, सेयर गरेर वेईजत गरिदिने कारणले पनि आत्महत्या को वाटो रोज्न वाध्य हुन्छन् ।

हिजो आज प्रायजसो केटाहरुले यौन चाहनाको लागि मात्र केटीहरुलाई फसाउने र  केटीहरुले धनीमानी राम्रो केटा भेटाए उ विवाहित भएपनि,उसको व्यक्तित्व जेजस्तो भए पनि पर्वाह नगरी उसंग प्रेम सम्वन्ध राख्ने  ट्रेन्ड छ । यसले प्रेमसम्बन्धलाई निकृष्ट प्रकारको दलालीमा परिणत गरिदिएको छ । यसले पवित्र र हृदय देखिको प्रेमको अवमूल्यन भएको छ र यसले सम्वन्धलाई अपराधिकरण तर्फ उन्मुख गरेको छ । दरिलो मानसिकता भएको युवायुवती यस्तो प्रेम सम्वन्ध टुटेपछि यदि आफुलाई उसले गलत तरीकाले प्रयोग गरेको महसुस भयो भने उसमा वदलाको भावना उत्पन्न हुन्छ र उ अपराधिक योजना वनाउन थाल्छ । एसिड फ्याक्ने, सामाजिक संजालमा गोप्य फोटो भिडियो हालेर वेईजती गरिदिने, व्ल्याकमेल गर्ने सामुहिक वलात्कार र हत्यासम्मका अपराध यस्ता सम्वन्धका कारण भएका छन । कमजोर मानसिकता भएका र यस्तो धोकाघडीमा पिडित युवायुवतीले आत्महत्याको वाटो रोजेको देखिन्छ ।

वयस्क भैसकेपछिको सांचो प्रेम सम्वन्धको प्रमुख समस्या प्रेमलाई विवाहमा परिणत गर्ने वा नगर्ने विषय हो । यसमा केटा वा केटीको परिवार, खान्दान, जात, आर्थिक अवस्था, लगायतका विविध पक्षहरू अगाडी आउंछन् । यसले धेरै प्रेमी प्रेमिकाको विछोड गराई राखेको हुन्छ । यसै कारणले पनि धेरै आत्महत्याका केसहरू भैरहेका छन । तर विस्तारै समाज यस विषयमा केही उदार हुने क्रम बढ्दो छ ।

नेपालमा अहिले अर्को किसिमको अनैतिक सम्वन्धको पनि विकास भएको छ । आजकाल अधिकांश विवाहित पुरुषहरु रोजगारीको लागि विदेश जाने प्रचलन छ । उनीहरूका श्रीमतीहरु वालवच्चा पढाउन मुलघर छोडेर शहरमा डेरा गरेर वसेका हुन्छन् । आफ्नो श्रीमानसंग लामो समय टाढा भएकोले विवाहित महिलाहरु अन्य पुरूष संग प्रेम तथा यौन सम्वन्ध राख्ने र सो सम्वन्ध परिवारले थाहा पाएपछि आत्महत्या गर्ने घटनाहरु पनि प्रसस्त देखिएका छन ।
यसैगरी घरवाट टाढा वसेर जागिर वा पेशा व्यवसाय गर्ने कर्मचारी, ठेकेदार, व्यापारी, मजदुरहरुले विवाहेत्तर यौनसम्वन्ध राख्ने र यही सम्वन्ध विविध कारणले टुटेपछि आत्महत्या गरेका घटनाहरु छन ।
यस्ता घटनाहरु को नियन्त्रणका लागि निम्न उपायहरू अपनाउनका सकिन्छ जसले आत्महत्या जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न सहयोग पुग्छ ।
अभिभावकहरुले आफ्ना किशोरकिशोरी छोराछोरी लाई मित्रता प्रेम, विवाह, यौन विषयमा आफ्नो परिवारको संस्कार प्रचलन, आफ्नो विवाह, आफ्ना आफन्तको विवाहका असल खराब दुवै उदाहरण दिएर अपरिपक्व प्रेम र यौनसम्वन्धले पढाई र जीवनमा पार्ने नकारात्मक असरहरु, गुड टच र व्याड टच, यौन हिंसा लगायतका विषयमा काउन्सिलिङ गर्ने, त्यससम्बन्धी पुस्तक, लिंक पढ्न प्रेरित गर्नुपर्दछ । साथै तथ्यपरक ढंगले पढाई लेखाई, व्यक्तित्व विकासमा केन्द्रित भएर सफल र असल मानिस भएपछि र उमेर पुगेपछि विवाह वा प्रेम गर्दा हुने सहजता र सफलता वारे वुझाउन जरुरी छ । यसले उनीहरुको मनमा व्वाइफ्रेन्ड गर्लफ्रेन्ड संस्कृति प्रति नकारात्मक भावना पैदा हुन्छ र उनीहरु यो गलत पश्चिमा संस्कृतिको विकृत परिणामबाट मुक्त हुन्छन् ।
अभिभावकले वढेका छोराछोरीलाई मित्रवत् व्यवहार गर्ने, आफ्ना र उसका गोप्य र खुला कुराहरु मिलाएर साटासाट गर्ने र उनीहरुका समस्या तथा जिज्ञासाहरु को समाधान दिने प्रयास गर्नुपर्दछ । अहिलेको पुस्ता धेरै स्मार्ट र जटील व्यक्तित्व भएको छ । गाली गलौज भन्दा उसको मुड, पहिरन, घरवाट निस्कने फर्कने समय, उसका साथीभाइ आदिको गोप्य र नजानिँदो पाराले निगरानी गरेर  प्रमाण सहित इनपुट दिनुपर्दछ ।

हरेक युवा युवतीले आफुलाई कोही मन परे उसको वारेमा, उसको वानी, रुचि र उसको पृष्ठभुमि राम्रोसँग वुझ्न जरुरी छ । यस चीजमा लापरवाहीकै कारण अधिकांश सम्वन्ध घातक वनेका छन् । यदि दुवैको पृष्ठभुमि र रुचि मिल्यो र एक अर्कालाई कमजोरी सहितको मान्छेको रुपमा स्विकार्यो भने उक्त सम्वन्ध परिपक्व हुन्छ । यदि दूवैजनाले यस सम्वन्धलाई हल्का वा गम्भीर कुन रुपमा निभाउने, यसका सीमा र भविष्यवारे सहमति गर्यो भने सम्वन्ध टुटेपनि खास फरक पर्दैन । विवाह दुवैजनाले जो संग गरेपनि उक्त प्रेम सदा अमर रहन्छ । मात्र शारिरिक आकर्षण र यौनको आशयले गरिएको सम्वन्धमा दूवै सहमत देखिए यो अनैतिक देखिएपनि यसले समस्या कम ल्याउने गर्दछ। तर एकपक्ष क्षणिक मात्र आशय र अर्को पक्ष गम्भीर भएर नै यस्ता घटनाहरु घटिरहेका छन ।

सम्वन्ध स्थापित भैसकेका युवा युवतीले एक आपसमा गोप्य अंग र क्रियाकलापका फोटोहरु खिच्ने ट्रेन्ड वन्द गरिनूपर्छ। अझ यस्ता कन्टेन्ट मेसेन्जर ह्वाट्सएपमा शेयर गर्नु त आत्मघाती काम हो । सीमामा सम्वन्ध रहेन भने यसले सबै चीज सिध्याउंछ ।

अन्त्यमा, भावनात्मक रुपमा मरिसकेपछि मात्र वल्ल एउटा मान्छेले आत्महत्या गर्छ । त्यसैले हरेक मानिसको एकजना चाहे आमावुबा होस, दिदीबहिनी, दाजुभाई, साथी, छोराछोरी, लोग्ने, प्रेमी, श्रीमती प्रेमिका जोसुकै होस, नजिकवाट हेर्ने नियाल्ने, कुराहरु सेयर गर्ने, संगै हास्ने र रुने मानिस चाहिन्छ । यसले मानिसलाई डिप्रेसनमा जान दिदैन र उसलाई वाच्ने र समस्याहरु संग जुध्ने हिम्मत दिन्छ ।

धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्