कोरोनाको मारमा होटल व्यवसाय : झिटिझ्याम्टा कस्दै विराटनगरका साना र मझौला होटल

कोरोनाको मारमा होटल व्यवसाय : झिटिझ्याम्टा कस्दै विराटनगरका साना र मझौला होटल

विराटनगर । विराटनगर बसपार्कको धनकुटा लज ढेड महिना अगाडी नै बन्द भएको घोषणा गरियो । धनकुटाका लजका सञ्चालक गोविन्द घिमिरेले लकडाउन अवधीमा कामदार घर पठाएर लज बन्द गर्ने सार्वजानिक घोषणा गरेका हुन् ।

मझौलास्तरको लगानी र मध्यमस्तरको सेवा प्रहाव गर्दै आएका विराटनगरका धेरै मझौला होटलको अवस्था धनकुटा लजको जस्तै बनेको छ । लकडाउनको लामो अवधी र केहि खुकुलो भएपछि पनि बजारको चहलपहलबाट तर्सिएका व्यवसायी होटलका झिटिझ्याम्टा कस्ने तरखरमा पुगेका हुन् ।

मध्यम र साना लगानीका मझौला तथा साना होटल सञ्चालकले मासिक आम्दानीबाट बचाएर घरभाडा बुझाउँदै जीविकोपार्जन गर्दै आएका थिए । बन्दाबन्दी अवधीको भाडा बुझाउन नसकेपछि होटल बन्द भएको घोषणा गर्न बाहेको विकल्प नदेका हुन् ।
विराटनगरमा मझौला होटल ४६ र साना लगानीका होटल १ हजार २६५ वटा छन् । बन्दाबन्दीको पछिल्लो तेस्रो महिनासम्म आईपुग्दा तीनवटा मझौलास्तर होटल पूर्ण रुपमा बन्द भईसकेका छन् । मध्यमस्तरको आयआर्जन भएका सेवाग्राहीको आवश्यकता धान्दै आएका मझौला होटल भाडाका घरमा रहेका छन् । यस्तै चिया, नास्ता र भात खुवाउँदै आएका साना होटल भाडाका सटरमा सञ्चालित छन् ।

विराटनगर बसपार्कको धनकुटा लज जस्तै पुरानो नरेको सेकुवा कर्नरको रुपान्तरिक न्यू मोरङ सेकुवा कर्नर एण्ड होटल समेत बन्द भएको छ । विराट होटल व्यवसायी संघका उपाध्यक्ष खेमराज ढुङ्गानाका अनुसार यी सबै होटल बिकल्पविहीन अवस्थाका कारण बन्द भएका हुन् । बसपार्कमा अर्को समेत होटल बन्द हुने सुचना घरधनीलाई सञ्चालकले दिएका थिए । तर, बसपार्कका स्थायी बासिन्दा पदम श्रेष्ठले आफ्नो घरमा सञ्चालन हुँदै आएको होटललाई लकडाउन अवधीभरको भाडामा पूर्ण छुट दिने घोषणा गर्दै बसपार्कका अन्य घरधनीहरुसँग लबिङ गरेका थिए ।

श्रेष्ठको लबिङका आधारमा बसपार्क क्षेत्रमा केहि घरधनीहरुले लकडाउन अवधीको भाडामा पूर्ण छुट दिने र केहिले आधा छुट दिनेसम्म घोषणा गरेका छन् । संघका उपाध्यक्ष ढुङ्गानाले भने–केहिले नदिने समेत बताएका छन्, पुरै भाडा लिन्छु भनेर जर्बरजस्ती गरेको अवस्थामा होटल सञ्चालकले आफ्ना सामान बुझाएर हिड्नुपर्ने अवस्था आउँछ ।
बसपार्क क्षेत्रमा जस्तै बजारमा रहेका ५० प्रतिशत होटलको भाडामा घरधनीसँग अहिले विवाद उत्पन्न भएको छ । घरधनीले व्यवसायीमाथि दवाव बढाउँदै लगेपछि होटल सञ्चालकले समेत आफूहरुले बुझाएको वास्तविक रकम बराबरको बहालकर बुझाउनु पर्ने माग अगाडी सारेका छन् । घरधनीले महंगो भाडा असुल गरेपनि सञ्चालकसँगको सम्झौतामा ९० प्रतिशत भन्दा न्यून भाडा देखाएर सम्झौता गराएका छन् ।

मासिक ८० हजार रुपिँयासम्म भाडा बुझाउँदै आएका होटल सञ्चालकले कामदारलाई बिदा गरिसकेका छन् । बन्दाबन्दीमा कामदार बिदा रहेकै बेला उनीहरुले होटल बन्द गर्न थालेपछि रोजगारीमा फर्कनेहरुलाई समेत समस्या पर्ने देखिएको छ । संघका सचिव खिलकुमार सुवेदीले लकडाउन खोलिएपनि सार्वजानिक यातायात खुल्न नसक्दा यो वर्षभरी नै होटल नचल्ने निष्कर्ष धेरैले निकालेको बताए ।
विराटनगरमा आउनु पर्ने विराटनगर बाहिरका सेवाग्राही लक्षित मझौला होटलको कारोबार दशैं अगाडी नहुने निष्कर्ष निकालेको छौं, सचिव सुवेदीले भने–घरधनीहरुले पनि कुरा बुझ्नपर्छ । होटल बन्द गर्ने घोषणा गर्दा ऋण थपिदैंन भन्ने व्यवसायीले सोच बनाईरहेका बेला नयाँ लगानीकर्ता समेत नआउने र घर खाली बस्नुपर्ने हुन्छ ।

विराटनगरमा मझौलास्तरका होटलहरुमा १० वटादेखि ४२ वटासम्म कोठा भएका होटल आवद्ध रहेका छन् । झण्डै ६० करोडको हाराहारीमा लगानी भएका यस्ता होटलहरुमा २०० जनाले रोजगारी पाउँदै आएका थिए । सञ्चालकले व्यवसाय कर, घरभाडा र मदिरा बिक्री वितरण शुल्क वापतको रकम मासिक रुपमा बुझाउँदै आएका छन् ।
मझौला होटल भन्दा अझै दुःख साझा होटल सञ्चालकलाई छ । साना तथा मझौला होटल व्यवसाय संघका विराटनगर अध्यक्ष सूर्यकिरण घिमिरेले सटरमा थुनिएका सामान घरधनीले बुझाउनु बाहेकको विकल्प नरहेको बताउँदै आफ्नै होटल बन्द गर्ने तरखरमा पुगेको बताए । चिया, नास्ता र भात उपलब्ध गराउने यस्ता सटरे होटल सञ्चालकले मासिक रुपमा आम्दानी गरेर घरपरिवार पाल्ने र भाडा बुझाउने बाहेक बचतमा राख्न सक्ने हुँदैन ।

तर, साना हुन् की मझौला होटलका सञ्चालकले बुझाउँदै आएको मासिक भाडाको वास्तविक सम्झौता नहुँदा घरधनीले बहाल कर छल्दै आएको देखिएको छ । वास्तविक सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गर्ने घरधनीले न्यून भाडादर उल्लेख गराएको कागज आफैं बनाउने र होटल सञ्चालकलाई हस्ताक्षर गर्न लगाउने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्