नेपाल भित्रियो सहल, बाली र हरियाली सखाप पार्न सक्ने

नेपाल भित्रियो सहल, बाली र हरियाली सखाप पार्न सक्ने

विराटनगर । नेपालमा सलह किराले प्रवेश गरेको छ । नेपालमा प्रवेश नगर्ला भन्ने अनुमानलाई विपरित सलहको समूहले तराईका जिल्लामा क्षति पुर्याउन सुरु गरेको हो ।
सलहको झुण्ड एकै पटक उड्छ र हरियाली भएको क्षेत्रमा बसेको केहिबेरमै उजाड बनाउँछ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको केहि समय अगाडीको अध्ययनले यो वर्ष मौसम प्रतिकुल भएको भन्दै भारतको मध्यप्रदेशबाट उतै फर्कने भनिएको थियो । नेपाालमा सन् १९६० मा काठमाडौं उपत्यकामा सलह देखिएको बताइन्छ ।

त्यसबेला सलहको प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा ठूलो असर गरेको सलहले बालीलाई ध्वस्त पारेको थियो ।
नेपालमा यस वर्ष सलह भित्रिन नसक्न सरकारी अध्ययन प्रतिवेदन तयार भएको तीनसाता नबित्दै बारा, रुपेन्देही र सर्लाहीमा यसको झुण्ड देखिएको छ । शनिबार बिहान बारा र सर्लाही जिल्लाका विभिन्न ठाउँमा सलह देखिएको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यसको प्रजाति अध्ययनका लागि स्थलगत निरिक्षण गरिने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले सलहले तरकारी तथा धान बालीमा क्षति पु¥याउन थालेको सूचना जिल्लाबाट आएको बताउनु भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् २०१९ सुरुवाती महिनामा अहिले नेपाल आइपुगेको सलह यमनमा देखिएको थियो । यमनबाट अघि बढेको सलह साउदी अरेबिया, इरान हुँदै डिसेम्बरमा पाकिस्तान आइपुगेको थियो ।

पाकिस्तानमा ठूलो क्षति गरेको सलह नयाँ वर्ष सन् २०२० को सुरुवातमा भारत र पाकिस्तान सीमा क्षेत्रमा लामो समय बस्यो । विस्तारै जाडो कम भएपछि बंश गर्दै सलह भारत छिरेको थियो ।
त्यो झुण्ड राजस्थानबाट प्रवेश गरेर मध्यप्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै त्यहाँका किसानको बाली तथा हरियाली सखाप पारेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गर्दै यस पटक भित्रन नसक्ने दावीसहित प्रतिवेदन पेश गरिएको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले गत जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने दावीसहितको प्रतिवेदन बुझाएको हो ।
सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको निष्कर्ष विपरित भित्रिएको हो ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको उल्लेख गरिएको थियो ।
एफएओको विशेष टोली भारतमा स्थलगत अध्ययनमा रहेको र उताको रिपोर्टमा पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको भन्ने आएको थियाो ।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने दावी थियो ।
सलह नियन्त्रणका लागि दक्ष प्राविधिक तयार गर्न तालिमको व्यवस्था गर्ने, किरा भित्रिएको खण्डमा नियन्त्रणका लागि स्रोत, साधनको यथोचित बन्दोबस्त गर्ने तथा तीनै तहको सरकारको तर्फबाट टास्कफोर्स बनाएर जिम्मेवारी बाँडफाँड गरेर तयारी अवस्थामा रहनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो, समिति संयोजक हुँमागाईले भने ।

मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भयो ।
विज्ञहरूले सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खाने दावी गरेका छन् । तराईमा धमाधम धान रोपाईँ भइरहेको छ भने पहाडमा मकै लगायतका बाली छन् ।

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । पचास वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अनपनाउन नसकेको जानकारहरू बताउँछन् । रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।
विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।
एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्