एन्जु शिवाकोटी
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् ।
चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपनि बालबालिकाले रोजेको आत्माहत्याको तथ्यांक दुःख लाग्दो देखिन्छ ।
यस अवधीमा मात्रै २० जना बालक र ३४ जना बालिकाले आत्माहत्या गरेका हुन् । लकडाउन अवधीमा २१७ पुरुष र १४२ महिलाले आत्माहत्या गरेका छन् ।
कोरोना संक्रमणका कारण असहजता धानिरहेका धेरैमा मानसिक समस्या बढ्दै गएकोले यसको संख्या ह्वात्तै बढ्न सक्ने सम्बन्धित क्षेत्रका विशेषज्ञ चिकित्सकहरु बताउँछन् । यदि यस्तो अवस्था आएमा सावधानी र सुरक्षाका लागि गर्नुपर्ने आवश्यक तयारी भने न्यून रहेको छ ।
सरकारी अस्पताल कोशीको साइक्याट्रिक विभाग (मानसिक रोग विभाग) अहिले खाली छ । अस्पतालको यो विभागका लागि एघारौं र नवौंं तहका विशेषज्ञ दरबन्दी भएपनि अस्पतालमा चिकित्सक छैनन् । करारमा नवौं ं तहमा डा.निकेश राज भण्डारीलाई राखिएको छ । त्यस बाहेक अन्य जनशक्तिको व्यवस्थापन विभागमा छैन ।
कोशी अस्पतालका सूचना अधिकृत बिष्णु बुढाथोकीका अनुसार अस्पतालमा २४९ जना सरकारी र विकास समितिका २६७ जना दरबन्दी रहेको छ । त्यसमध्ये विकास समितिको दरबन्दी न्यून संख्यामा मात्रै खाली नभएपनि सरकारी दरबन्दीका चिकित्सक तथा स्वास्थ्यकर्मी अपर्याप्त रहेको छ ।
मानसिक विभाग मात्रै नभई अन्य विभागमा समेत विशेषज्ञ चिकित्सक अभाव छ, बुढाथोकीले भने–झण्डै ६० जना स्वास्थ्य जनशक्ति अभाव छ । अस्पतालका विभिन्न विभागमा १७ जना विशेषज्ञ चिकित्सक आवश्यक रहेकोमा ३ जना मात्रै कार्यरत रहेको उनले जानकारी दिए ।
मानसिक विभागमा समेत जनशक्ति अभाव भएका कारण अधिकांश समय यो विभागमा बाहिरबाट ढोका लाग्ने गरेको छ । समस्याले ग्रस्त तथा रोगी सरकारी अस्पतालमा आउने भएपनि उपचार हुने अवस्था नभएको हो ।
करारमा राखिएका चिकित्सकले आफ्नो डीउटीमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने भएपनि अन्य समयका लागि चिकित्सक अपुग रहेको छ । कोशीमा तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन पोखरेल हुँदा मानसिक विभागमा केहि सुधार गरिएको थियो । डा.पोखरेल अहिले विभागमा सरुवा भएर गएदेखि कोशी मात्रै नभई पूर्वमा उनले हेर्दै आएका विरामी समेत अफ्ठ्यारोमा परेका हुन् । विशेषज्ञ चिकित्सक पोखरेलकै स्थानमा डा.निकेशलाई करारमा राखिएको हो ।
युवा उमेरमा देखिदैं गएको समस्यालाई तत्काल निरुपण गर्नुपर्ने आवश्यकता देखिदैं गएकोले ढिला गर्न नहुने राजभण्डारी बताउँछन् ।
यसका लागि सरकारले प्रत्येक स्थानीय तहमा परिचालन गर्ने तयारी गरिरहेको मनोसामाजिक परामर्शकर्तालाई तत्काल खटाउनु पर्ने जरुरी रहेको डा.राजभण्डारीको भनाई छ । उनका अनुसार स्वास्थ्य क्षेत्रले मात्रै काम गरेर नपुग्ने भएकोले सामाजिक सद्भाव बढाउनु पर्ने आवश्यकता पनि उतिकै रहेको छ ।
प्रदेश १ मा चालु आर्थिक वर्ष २०७६÷२०७७ को सुरूवाती ८ महिनामा १ हजार २२ जनाले आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । प्रहरीले अभिलेख गरेको तथ्यांक अनुसार गतवर्षको चैतदेखि असारसम्मको अवधी र चालु वर्षको यसै अवधीमा आत्माहत्या गर्नेको संख्यामा खासै अन्तर देखिएको छैन ।
यस अवधीमा मोरङमा आत्महत्या गरि ज्यान गुमाउने सबैभन्दा बढी छन् । मोरङमा ७८ जनाले आत्महत्या गरेका छन् । मोरङपछि झापामा ७६ जनाले आत्महत्या गरेका छन् । यसैगरी सुनसरीमा ५७ जना, र सबैभन्दा कम तेह्रथुम, संखुवासभामा र ताप्लेजुङ्गमा छन् ।
प्रहरीको तथ्यांकमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गमा १४÷१४ जना, इलाममा ३७, उदयपुरमा २७, ओखलढुङ्गमा र धनकुटामा १५÷१५ जना, पाँचथरमा र सोलुखुम्बुमा १६÷१६ सोलुखुम्बुमा १६ जना खोटाङ्गमा र भोजपुरमा १७ जनाले आत्महत्या गरि ज्यान गुमाएका हुन् ।
चैतको ११ गतेदेखि ३० गतेसम्म ६३ जना, बैशाखमा १२० जना, जेठमा १३९ जना र असार १ गतेदेखि १६ गतेसम्म ९१ जनाले आत्महत्या गरेका हुन् ।
आत्महत्याका लागि धेरैले झुण्डिने माध्यमलाई रोजेको देखिन्छ । सामान्य अवस्थामा कुल आत्महत्या दरमा विष सेवन गरेर आत्महत्या गरेको देखिएको थियो । न्यून संख्यामा हामफालेर र डुबेर आत्महत्या गरेको देखिन्छ ।
गत आर्थिक वर्ष २०७५÷२०७६ मा प्रदेश १ मा १ हजार ५८ जनाले आत्महत्या गरि ज्यान गुमाएका थिए । गत वर्षको चैतमा ८४, वैशाखमा १०४, जेठमा १२९ र असारमा ११२ जनाले आत्महत्या गरि ज्यान गुमाएका थिए ।
कारणबाट जोगाउनु आवश्यक
अनावश्यक दवाव, त्रास र उदासले सिर्जना गर्ने (एन्जाईटी) तनावलाई तत्काल बुझ्न आवश्यक रहेको छ । डा.राजभण्डारीका अनुसार यो कुरा परिवार र समाजले नै धेरै बुझ्नुपर्ने हुन्छ । यसको अवधी लामो हुने भएकोले परिवारले वा समाजले प्रत्येक अवस्थामा शंकास्पद देखिएको उसको आत्माबल उठाउन सहयोग गर्नुपर्ने हुन्छ ।
दुःख, पीडाको महसूस गर्नु, दैनिक गतिविधिमा रुचि नहुनु अथवा खुसी नमिल्नु, यस्तो मानिसलाई कहिलेकाहिँ हुनु स्वभाविक नै मानिन्छ । तर, यस्ता लक्षण लामो समयसम्म रहिरहेमा डिप्रेशनको शिकार बन्दै गएको हो भन्ने कुरालाई आफैंले पनिन मनन् गर्नुपर्नेमा चिकित्सकहरुको जोड छ ।
मानसिक स्वास्थ्य विकारको रुपमा डिप्रेशनलाई बुझेर उसलाई स्याहार तथा सुरक्षा गर्ने अवधीमा परिवार र समाजले पनि उतिकै विश्वास बढाउनु पर्नेमा डाक्टर निकेशको जोड छ ।
उदास, शक्तिहीन महसुश, ध्यान बिकेन्द्रीत, दुःखी, रिस र डर जस्ता गतिविधिसँगै आनन्ददायक गतिविधिमा रमाइलो नलाग्नु, निराश हुनु, चिन्तित रहनु, धेरै निदाउनु अथवा पटक्कै निद्रा नलाग्नु, अस्वस्थ आहार गर्न मन लाग्नु, अरुबाट टाढा रहनु, स्पष्ट सोच र निर्णय गर्न नसक्नु,
अपराध बोध हुनु, आफूलाई दुःख दिने विचार आउनु, टाउको अथवा मांसपेशीमा पीडा महसूस हुनु, जथाभावी औषधि र लागूपदार्थको सेवन जस्ता समस्या हुने डिप्रेशनका लक्षण मानिएका छन् ।