नेपालमा सुरु भयो, कोरोना जीन अध्ययन

नेपालमा सुरु भयो, कोरोना जीन अध्ययन

विराटनगर । नेपालमा देखिएको कोरोना भाईरस (कोभिड–१९)को जीन अध्ययन सुरु गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस का १५ जना संक्रमितको ‘जीन सिक्वेन्सिङ’ को अध्ययन सुरु गरेको हो ।

जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुनेछ ।
यसबाट संक्रमितको मुत्युदर कम हुनु र ९८ प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण नहुनुको कारण पनि पत्ता लाग्ने एनएचआरसीको अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताए ।

 

नेपालमा ९८ प्रतिशत केस लक्षणविहीन छन्, २ प्रतिशतमा मात्र लक्षण देखिएको र मृत्युदर पनि अरु देशको तुलनामा कम रहेकोले अध्ययन आवश्यक रहेको डा धिमालले बताएका छन् । अध्ययनमा कुन देशबाट आएका संक्रमितको मृत्यु भयो र लक्षण थियो कि थिएन भन्ने जीन सिक्वेन्सिङ गरिने भएको हो ।
यो अध्ययनका लागि आवश्यक पर्ने प्रयोगशाला, रिएजेन्ट तथा प्रविधिहरुको खर्च ५० लाखसम्म लाग्ने छ ।
जीन सिक्वेन्सिङका लागि १५ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । कोरोना संक्रमणबाट मृत्यु भएका, कोरोना निको भएका फरकफरक उमेर समूह भएका व्यक्ति र विभिन्न जिल्लाका संक्रमित छनोट गरी नमुना संकलन गरिएको छ ।

 

सुरुमा १५ वटा नमुनाबाट अध्ययन सुरु हुनेछ । एनएचआरसीमा कार्यरत जनशक्तिका साथै निजी ल्याबसँग समन्वय गरिने भएको छ । यसको नतिजाका आधारमा नमुना संख्या बढाउने एनएचआरसीको तयारी छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आग्रहमा गर्न लागिएको तेस्रो चरणको क्लिनिकल ट्रायल भने स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डब्लुएचओले आह्वान गरेको क्लिनिकल ट्रायलमा सहभागिता जनाउन सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम अगाडि बढाउन अनुमति दिएपनि यो रोकिएको हो ।
अन्य देशमा क्लोरिक्विनको प्रभावकारितामाथि प्रश्न उठेकाले डब्लुएचओकै आग्रहमा क्लिनिकल ट्रायल रोकिएको एनएचआरसीका अनुसन्धान प्रमुख डा. धिमालले जानकारी दिए ।
डब्लुएचओले रेम्डेसिभर, क्लोरोक्विन हाइड्रोअक्साइड, लोपिनाभिरररिटोनाभिर, लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटा औषधिको नेपालमा पनि प्रभावकारिता परीक्षण गरिदिन परिषद्सँग अनुरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्