शासक र भगवान–मीनकुमार नवोदित
दुःख र आपत पर्दा म
भगवानलाई सम्झन्छु
बा–आमालाई सम्झन्छु
तर, किन सम्झिन्न शासकलाई ?
आफ्नै अगाडिबाट दिनहुँ
ओहोरदोहोर गरिरहने शासकभन्दा
कहिल्यै नभेटेको भगवान
यतिविघ्न प्यारो किन लाग्छ मलाई ?
कहिंकतै देख्या छैन आजसम्म–
भगवानविरुद्ध सडकमा निस्केको जुलुस
सुन्या छैन भगवानलाई गाली गरेको तथानाम
विपक्षी बनाएर आस्थाको न्यायालयमा
थाहा छैन मुद्दा हालेको भगवानका नाममा ।
भगवान हुन खोज्छ सधैं शासक
भगवानलाई जस्तै पुजुन् भन्छ हरेक दिन
गरुन् भन्छ साँझ–बिहान धुपबाती
सडक किनारमा लस्करै उभिएर
गरुन् भन्छ शिर झुकाएर नमस्कार
सधैं चढाउन् भन्छ भक्तजनले झैं प्रशंसाको भेटी
भोकभोकै बसेर गाउन् भन्छ आफ्नै भजन
आफ्नै तस्बिर टाँगुन् भन्छ घरको भित्तोभरि ।
साइरन बजाउँदै दिनदिनै
आधुनिक वस्तीको पुरानो सडकबाट
ओहोरदोहोर गरिरहन्छ शासक
तर, देख्दैन–
भोकले बेहोस क्वारेन्टिन
दूधेबालक च्यापेर सडक किनारमा
मकै पोलिरहेकी एकल महिला
बैसाखी टेकेर उभिएका वृद्धवृद्धा
बटुकामा भीख मागिरहेका बालबालिका
हरियो पासपोर्ट बोकेर
मेनपावर कम्पनीको गेटमा
लामबद्ध देशका कर्णधार
न्याय माग्दै अदालत अगाडि
धर्नामा बसेका बलात्कृत चेली
बेपत्ता छोरो खोज्दै भौतारिरहेको बाबु
उपचारका लागि सहयोग माग्दै हिंडेको
जनयुद्धको घाइते युवक
सिमाना मिचेको विरोधमा निस्केको जुलुस ।
हो, भगवान हुन खोज्छ सधैं शासक
जो आफ्ना विरुद्ध
कोही नबोलून् भन्छ चुइँक्क
सडकका दुवै किनारमा उभिएर
बतासले समेत बजाएर ताली
गरोस् भन्छ भव्य स्वागत ।
ऋतुझैं फेरिरहन्छ
शासकको अनुहार
तर, किन फेरिँदैन
मेरी आमाको अनुहार
किन फेरिंदैन देशको अनुहार ?