कोरोना नियन्त्रण जोखिम : प्रदेश १ मा उपचारका लागि अस्पतालको क्षमता बढाउने तयारी

कोरोना नियन्त्रण जोखिम : प्रदेश १ मा उपचारका लागि अस्पतालको क्षमता बढाउने तयारी

विराटनगर । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि धरानको बीपी, विराटनगरकोे कोशी, सुन्दरहरैंचाको पीयू र उदयपुरको चौदण्डीगढीमा ३५३ बेडको आईसोलेशन उपचार केन्द्र स्थापना गरेको छ ।
यी अस्पतालहरुमा १८८ जना उपचारतः रहेका छन् । शुक्रबारसम्म जम्मा संक्रमित ५८८ मध्ये ४०० डिस्चार्ज भईसकेका छन् । शुक्रबार नै ३८ जना थपिएका छन् ।

आगामी दिनमा आउन सक्ने संभावित जोखिमलाई लक्षित गरी अस्पतालको क्षमता बृद्धि गर्ने तयारी समेत गरिएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले सरकारको प्रतिवेदन गर्दै जानकारी दिइएका छन् ।
सरकारले कोशीको कोभिड–१९ उपचार केन्द्रलाई १०० सयबाट बृद्धि गरेर ३००, मेची अस्पताल झापामा २०० सय र धाईजन हेल्थ पोष्ट मेची नगरपालिकामा २५ शैयाको आईसोलेशन अस्पताल बृद्धि गर्न रकम निकासा गरिसकेको सचिव भट्टराईले जानकारी दिनु भएको हो । तीमध्ये मेची अस्पताल झापामा १०० शैयाको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसैगरी बीपी, कोशी, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दैनिक ६०० पीसीआर परीक्षण क्षमता रहेको छ । तीन प्रयोगशालाबाट हालसम्म २५ हजार ३४० जनाको परीक्षण गरिसकिएको छ । जसमध्ये ६१५ जनाको परीक्षण नतिजा पोजेटिभ देखिएको हो । आरडीटीतर्फ १८ हजार २५ जनाको नमूना संकलन गरिएकोमध्ये २३१ जनाको पोजेटीभ देखिएको उल्लेख छ ।

क्वारेन्टीन र होल्डिङ एरिया
प्रदेश सरकारले भारतसँग सीमा जोडिएका चारवटा जिल्लामा २४ वटा होल्डिङ एरिया स्थापना गरेको थियो । झापामा १९, मोरङमा १, सुनसरी २ र इलाममा २ वटा होल्डिङ एरियामा २ हजार ९७२ जना रहेका छन् ।
प्रदेशका १४ जिल्लामा स्थापना गरिएका ४५२ क्वारेन्टीनमा १२ हजार २५५ जनाको क्षमता रहेको प्रमुख सचिव भट्टराईले जानकारी दिनुभयो । हालसम्म ११ हजार ४९४ जना क्वारेन्टीनमा बसिसकेका छन् । बिहीबार साँझसम्म २ हजार ८४१ जना क्वारेन्टीमा रहेका छन् । त्यसैगरी ३ हजार १७२ जनालाई मापदण्ड अनुसारको होम क्वारेन्टीनमा बस्नका लागि अनुमति प्रदान गरिएको छ ।
प्रमुख सचिव भट्टराईका अनुसार हालसम्म भारतबाट १५ हजार ७४७ जना नेपाल प्रवेश गरिसकेका छन् । जसमध्ये प्रदेश १ का ११ हजार ७४६ जना रहेका छन् । यसैगरी तेस्रो मुलुकबाट २ हजार ३०१ जना फिर्ता आएका छन् । नेपालबाट भारततर्फ भने २४ हजार ८१४ जना गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्