झापाको दमकमा समुदायस्तरमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्यान्सर रोगको उपचारका लागि दमकबाट भरतपुर गएका एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अप्रेसन गर्नु अघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनका परिवारका सदस्यहरु क्वारेन्टाइनमा रहेकाछन् । पछिल्लो समयमा शल्यक्रिया अघि स्वाब परीक्षण गर्न थालिएको छ ।
उनमा कहाँँबाट र कसरी कोरोना संक्रमण पुष्टि भयो भन्ने नखुलेको स्वास्थ्यकर्मीहरुले बताएकाछन् । उनको हेलमेलमा रहेकाहरुको स्वाब परीक्षण गरेर जाँचका लागि पठाईएको छ, दमक नगरपालिका स्वास्थ्य शाखा श्रोतको भनाई रहेको छ ।
दमकमा यसभन्दा अघि १ जनामा समुदायस्तरमा कोरोना सक्रमण रहेको थियो । उनि निको भएर घर फर्किसकेकाछन् । क्वारेन्टाइनमा रहेका र विदेशबाट आएका ५ जनामा कोरोना पुष्टि भएको थियो ।
यो संगै दमकमा कोरोना संक्रमण पुष्टि भएको संख्या ७ पुगेको छ । यद्यपी पछिल्लो १ जनामा कोरोना संक्रमण देखिएको बिषय भने औपचारिक रुपमा बाहिर सार्वजनिक गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा भरतपुरमा झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको भनेर जनाए पनि दमक भन्ने उल्लेख भएको थिएन ।
दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार उक्त संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम गर्न लागिएको छ ।
यसैबीच दमकको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण रिर्पोट आज आँउदैछ । क्वारेन्टाइन ब्यवस्थापन समितिका सचिब कुवेर भट्टराईका अनुसार क्वारेन्टाइनमा रहेकाहरु सबैको स्वाब परीक्षण हुँदै आएको छ ।
क्वारेन्टाइनमा भौतिक दुरी कायम गरेर सचेतताका साथ विदेशबाट आएकाहरुलाई र कोरोना संक्रमण आंशका गरिएकाहरुलाई राखिएको छ ।