नेपाल भारत सम्वन्ध एकपछि अर्को तनाववाट गुज्रिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते नेपाली रामायणका रचयिता आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा चितवनको ठोरीलाई अयोध्या श्रीरामजन्मभूमि भनेपछि सबैको ध्यान यस विषयतर्फ मोडिएको छ । यसको व्यापक चर्चा नेपाल र भारतका मिडिया र सामाजिक संजालमा हुनथालेको छ । यस विषयमा लेखकले स्वअध्ययन र नेपाल भारत सम्वन्धको निरन्तरको फलोअपको आधारमा यो आलेख तयार गरिएको छ ।
के ठोरी नै अयोध्या हो त ?
चितवन जिल्लाको ठोरी नेपालको राजधानी काठमाडौवाट भारत नौतनवा जाने चर्चित ट्रान्जिट प्वाइन्ट थियो । काठमाडौंवाट चन्द्रागिरी या चोभार हुदै चित्लाङ, टिस्टुङ कुलेखानी हुदै भीमफेदी निस्कने र अमलेखगंज हुदै विहार वा कलकत्ता जानेहरु वीरगन्ज रक्सोल जाने, अनि उत्तर प्रदेशको वनारस ,गोरखपुर ,दिल्ली जानेहरु ठोरीको जंगल हुदै नौतनवा भएर जाने प्रचलन थियो । ठोरीमा क्याम्प राखेर राणा तथा राजाहरु महिनौ शिकार खेल्ने गरेको ऐतिहासिक दस्तावेज पनि छ । त्यहाँ अस्थायी दरवार र स-सानो वस्ती पनि रहेको थियो भन्ने तथ्यहरू पाईन्छ ।
रामायण कुनै ऐतिहासिक भन्दा वढी जनश्रुति आधारित हिन्दू लोकधार्मिक आख्यान कृति हो । यो अपार कथ्य कल्पनाशीलतामा उनिएको मर्यादा पुरुषोत्तम भगवान रामको वीरगाथा साहित्य हो । साहित्य यथार्थको परावर्तन मात्र हो, यथार्थ हैन । तसर्थ यसमा उल्लेख सबै कुराहरु शतप्रतिशत यथार्थसंग मेल खादैनन् । फेरि हिन्दु मत अनुसार कलियुगको तीनहजार वर्ष, द्वापरयुगको दशहजार वर्ष जोड्दा नरमकरम पन्ध्र हजार वर्ष पुरानो घटना अहिलेको यथार्थसंग मिल्ने कुरै भएन । त्यतिबेला भारत र नेपाल भन्ने राजनैतिक नक्सामा विभाजित देश थिएनन । यसमा उल्लेख भएका स्थानहरु अयोध्या, जनकपुर, किष्किन्धा, लंका लगायत वास्तविक रुपमा कहाँ हुन भन्ने विषयमा एउटा न्यारेटीभ छ । जसवमोजिम जनकपुर नेपालमा, अयोध्या भारतको युपीमा र लंका श्रीलंकामा भनेर स्विकारिएको छ । रोचक त के छ भने यदि लंका हालको श्रीलंका नै हो र अयोध्या चाहे भारतमै वा प्रधानमन्त्री केपी ओलीले भनेझै ठोरी छेउछाउ हो भने राम लक्ष्मणलाई जिस्काउन शुर्पणखा वहाँ देखि समुद्र तरेर चितवनको जंगलमा कसरी आई ? कि रावणसंग कतार एयरवेजका जति पुष्पक विमान थिए ? अनि उसको नाक कान काटेर लक्ष्मणले पठाएपछि रावण श्रीलंका देखि सीतालाई लिन चार्टर फ्लाईट लिएर आउनु डार्क कमेडी वाहेक केही हैन । गर्भवती सीतालाई लोकोपवाद परेपछि वाल्मिकी आश्रममा छोडेको प्रसंग ओलीले जोडेर यो दावी गरेका हुन । साहित्यमा यस्ता कुराहरुलाई सामान्य रुपमा लिईन्छ तर यसको तथ्य प्रमाण खोज्नू धर्मभीरु पंडितहरुको वुद्दिविलाशको विषय मात्रै हो भन्ने मेरो ठम्याई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको ठोरीलाई अयोध्या भन्नुका गम्भीर तीन कारणहरु छन । पहिलो त नेपाल योगी सन्त महात्माहरुको तपोभूमि हो भनेर हिमवत्खण्ड पुराण लगायतका ग्रन्थहरुमा पाईन्छ । महर्षि व्यास, वाल्मीकि, परासर, इत्यादि मात्र हैन, स्वयं आदियोगी भोलेवावाको पनि विचरण क्षेत्र हालको नेपाल हो भन्ने शिवपुराणमा उल्लेख छ । अव यी धार्मिक विषयमा विभिन्न कथा, उपकथाका जड मान्यताहरु छन जसमा विवाद वढ्दै जांदा कसैले तथ्य प्रमाण दिन सक्दैन । त्यसैले यो लामो विवाद सृजना गर्ने उत्तम राजनैतिक हतकण्डा हो । अंग्रेजहरूले भारत छोड्नु अघि हिन्दु मुस्लिम विच यस्तै विवाद उमारेर र भारत पाकिस्तान विचको काश्मिरलाई अड्काएर आज पचहत्तर वर्षसम्म झगडाको वीउ उत्तिकै तरोताजा राखेको उदाहरण हाम्रै सामु छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, समग्र भाजपा र आरएसएसको अयोध्या राममन्दिर र वावरी मस्जिद विवाद एउटा ठुलो राजनैतिक हतियार हो । यसमा भारतीय सर्वोच्च अदालतको फैसला उनीहरूकै पक्षमा आएको छ। उनीहरुलाई यो मुसलमानहरुलाई प्रतिरोध गर्दै भारतका १०२ करोड कट्टर हिन्दुवादी जनताको भोट तान्ने प्रमुख एजेण्डा हो । वेलामौकामा योगी आदित्यनाथले नेपालका पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्ने, नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्ने, तिव्वतवाट पाठ सिक्नुपर्ने आदि विवादास्पद कुरा गर्ने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको यो भर्सन आएको हुनुपर्दछ । उनले मुलमर्ममा योजनावद्ध प्रहारको लागि असार २९ रोजेको अनुमान लगाउन सकिन्छ ।
अर्को कारण भारतले हिन्दू र वौद्ध धार्मिक आधारमा नै नेपालको सार्वभौमिकतामा प्रहार गरिरहेको छ । भारतले वुद्ध जन्मस्थल लुम्बिनीको प्रोटोटाईप भारतको पिपरहवामा वनाएर पर्यटन प्रवर्द्धन गर्न वोधगया, वाराणसी, कुशीनगर, बुद्धिस्ट सर्किट निर्माण गरेर भगवान वुद्ध भारतमै जन्मिएका हुन् भनेर प्रचार गरिरहेको छ । पुरातत्वविद्हरुको लामो अध्ययन र अनुसन्धानबाट हालको लुम्बिनी नै भगवान वुद्धको जन्मभूमि हो भन्ने प्रमाणित भैसकेकोमा यो काम मुर्खतापुर्ण छ । यस ईतिहासविरोधी र नेपाली जनमतलाई उपहास गरी एकोहोरो पेल्ने भारतीय रणनितिप्रति नेपालीहरु क्रूद्ध छन । ओलीले रामजन्मभुमि अयोध्या ठोरीमा भनेर यसको प्रतिकात्मक प्रतिवाद गरेका हून सक्छन् ।
यसैगरी कालापानीमा भारतले कृतिम कालीमन्दिर वनाएर एउटा खोल्सोलाई महाकालीको मुहान भनि हाम्रो कालापानी लिपुलेक लिम्पियाधुरा माथि आफ्नो रणनैतिक रक्षाको खातिर नेपाली जमीन जवरजस्ती सेना राखेर हडप गरेको छ । यसैको प्रतिरोध प्रधानमन्त्री केपी ओलीले हिजोको भाषणमा गरेका हुन ।
अन्त्यमा, धार्मिक पुस्तकहरु ग्रन्थहरु नैतिकता, आस्था र आचरण सिकाउने साभार स्रोत हुन । यसका व्याख्याहरु इश्वरप्रति भक्तिभाव, लोककल्याण र आत्माशान्तिको लागि केन्द्रित हुनुपर्छ । यसलाई राजनितिक चालवाजी र तथाकथित तथ्यहरूका आधारमा व्याख्या मन्थन गर्नु विष उत्पादन गर्ने समुद्र मन्थन मात्र हो । अतिवादले कसैको फाईदा गर्दैन । भलै प्रधानमन्त्री ओलीले भारतीय हस्तक्षेपको विरुद्ध यस्लाई प्रयोग गर्दा एकप्रकारको तुष्टि प्राप्त भएको छ र यो जायज लाग्दछ । तर आस्थालाई तर्क र तर्कलाई आस्थाको कसी लगाउनु गलत छ । धार्मिक पुस्तकहरुलाई राजनैतिक चश्माले हेरिनु हुँदैन । हिन्दु धार्मिक उग्रवादले ग्रसित वर्तमान भारतीय संस्थापनलाई ओलीले जस्ताको तस्तै उत्तर दिएर एक किसिमको प्रतिरोध त गरेका छन तर यसले नेपाल भारत सम्वन्धमा एउटा अर्को तिक्तता थपिएको छ । सबैलाई थाहा छ, छिमेकी फेर्न सकिदैन । आशा गरौ, यी सबै विवादहरुको वार्ता र कुटनैतिक पहलवाट शान्तिपूर्ण अवतरण हुने नै छ ।
धन्यवाद