इन्टरनेटको दुरुपयोग र मानसिक प्रदूषण – भुवन कुमार वाग्ले

इन्टरनेटको दुरुपयोग र मानसिक प्रदूषण – भुवन कुमार वाग्ले

एक्काईसौं शताब्दी लागेपछि भएको इन्टरनेटको तीव्र विकासले एउटा नयाँ  प्रदूषण सृजना गरेको छ , जसलाई म मानसिक प्रदूषण ठान्दछु । भलै सुचना र संचारले विकास गरेको कनेक्टिभिटीले  संसारलाई ग्लोबल भिलेज वनायो, हामी नागरिकहरुलाई वैश्विक नागरीक वनायो, ओलाङ्चुङ गोलाको लामा वेलायतमा पुग्यो, स्क्यान्डिनेभियन पाष्टरले मकवानपुरका चेपाङलाई क्रिस्चियन बनायो । यसले गरेको यान्त्रिक विकासले जीवनलाई थप सजिलो फुर्तिलो र आरामदायी वनायो । तर ढिंडो रोटी खाएर भावना र सहिष्णुता वोकेर रमाएर वांचेका हामी नेपालीहरुको दिमागमा साम्राज्यवादका साइवर सेनाले यस्तो प्रदूषण खांदिदिएका छन कि हामी आज असहिष्णु, हिंस्रक र कसैको प्रोक्सी एजेण्डाको झोले वन्दै गएका छौ । यस बिषयमा अव गहन वहस तथा अध्ययन गर्न जरुरी छ ।

आज फेसबुक, ट्वीटर, इन्स्टाग्राम टिकटक र युट्युवमा ट्रेन्डिङमा आएका खवर, भिडियो, विष्लेषण, भ्लग, पोष्ट र कमेन्टहरु नियाल्दा   मलाई असाध्यै पीडा हुन्छ । आजभोलि भाईरल भएका व्यक्तिहरू, उनीहरुको पारिवारिक व्यक्तिगत सामाजिक पृष्ठभूमि खोतल्छु, यिनीहरुका विचारको आधार, प्रोत्साहन र सम्वन्ध, अनि लक्ष्य जांच्छु र मुल्यांकन गर्छु । मलाई गहिरो पीर पर्छ । हाम्रो समाज कता गैरहेको छ भन्ने प्रश्नले कटकटी खाएपछिको हुटहुटीमा मैले यो लेख लेखेको हुं।

संचारको विकास र स्मार्टफोनको व्यापक उपलव्धताले मान्छेको घरघरमा ईन्टरनेट र हातहातमा मोवाईल पुगेको छ ।  मान्छे वरु खाना खांदैन तर  रिचार्ज किन्छ, नेटको प्याकेज किन्छ र आफ्नो व्यसनको परिपुर्ति गर्छ । जसको जति चेतनास्तर छ र जे विषय वा विधामा रुचि( इन्ट्रेस्ट) छ, सामाजिक संजालका कम्पनीहरूले त्यस्तै कन्टेन्ट उसको वालमा पठाईदिन्छन । यसपछि उसले आफ्ना जस्तै रुचिका मान्छेहरुको समुह वनाउंछ र साथी वनाउंछ । यस्ता रुचिका उमेरगत, विषयगत, विधागत लाखौ करोडौ विषयवस्तु हुनसक्छन । कतिपय युनिभर्सल रुचिका विषय भएपनि व्यक्ति वा समुहबिशेषको भिन्न रुचि हुन्छन् । समय मुड र मौसमी हिसाबले मानिसहरुका रुचिहरुमा भेरिएसन आईरहेको हुन्छ ।

आजको समाज यिनै रूचिका विषयमा वांडिएको छ ।  आज फेसबुकमा र ट्वीटरमा मान्छेहरू आफ्नो रुचिका युट्युव भिडियो, च्याउसरी उमारिएका अनलाइनहरु, रंगीविरंगी फेसबुक पेजहरु, इन्स्टाग्राम र टिकटकका भिडीयोहरु, आधिकारिक अनधिकृत मान्छेका अन्तरवार्ता, लिन्कहरू शेयर गर्दछन ।  हामीले आफ्नो टाइमलाइन स्क्रोल गर्दा अधिकांश हाम्रो निजी रुचिका र केही सामान्य र केही भाईरल भएका पोष्टहरु आउंछन् । यदि सो प्रयोगकर्ता पढेलेखेको,सचेत र उच्च नैतिकताको छ भने उ अवश्य नै नरमपन्थी विचारको हुन्छ (याद रहोस्, विश्वविद्यालयको डिग्री लिदैमा, ठुलो र महत्वपूर्ण पदमा पूग्दैमा कोही वुद्धिजीवी वा सचेत हुदैन, यो त संस्कारको कुरा हो )। उ आफुलाई मनपर्ने चीजको रसास्वादन गर्छ, साथीभाईको सफलता र खुशीमा ईन्जोय गर्छभने  संवेदनशील विषयमा सृजनात्मक र रचनात्मक सुझाव दिन्छ । उसले धर्म, देश, समाज, नैतिकचरित्र, यौन, आदि संवेदनशील विषयमा प्रमाण र आधारविहीन खवरहरुलाई गम्भीरतापूर्वक लिदैन र फैलाउंदैन । मननपर्ने विषयलाई वेवास्ता गर्छ र गलत टिप्पणी वा घृणा अभिव्यक्त गर्दैन । तर अफसोस, नेपालमा यस्ता प्रयोगकर्ता अत्यन्त न्युन छन ।

सामाजिक सञ्जालमा थोरै तर असरदार यस्ता युजर सक्रिय छन जो एउटा मिसनमा हुन्छन् । उनीहरुलाई भाईरल भएर रोयल्टी खाने र धनी वन्ने धुन हुन्छ । यस मिसनमा लागेको मान्छेले भाईरल हुनका लागि जेसुकै गर्न तयार हुन्छ । उसका लागि लोकलाज, समाज,  देश, मर्यादा, कानुन, सत्य, असत्य केही कुराको मतलव हुदैन । उ प्राविधिक रुपमा सबल र शातिर हुन्छ । उसलाई कुनै कन्टेन्ट कसरी कुन कोणवाट मोड्ने र पव्लिक एटेन्सन प्राप्त गर्ने भन्ने धुन हुन्छ । उसलाई थाहा हुन्छ कि मार्केटमा पोजिटिभ भन्दा नेगेटिभ कन्टेन्ट वढि विक्छ ।  उ फोटोसप भिडियो र अडियो ईडिट गर्न सिपालु भएकोले उसले नेगेटिभ फन्डाहरु फालिरहेको हुन्छ । सबै फण्डा भाईरल हुंदैनन् तर उसका फण्डाहरुले मानिसको दिमागमा नकारात्मक छापहरु पैदा गरिरहेको हुन्छ । उदाहरणका लागि रुकुममा लकडाउनका वेला छ जना युवाहरुको सामुहिक हत्या भएको वेला युट्युवरहरुले पूलिस, वकिल, प्रशासन अदालत, लगायतका निकायले गर्ने काम सबै गरिदिएकोले न्याय निरुपण नै संकटमा परेको थियो । न्यायालयले जे सुकै निर्णय गरेपनि विवाद नै हुने परिस्थिति निर्माण भएकोले ढिलो गरी न्याय निरुपण भयो । यसरी  यो समुहले देशका जोसुकैलाई देवता र जोसुकैलाई दानव वनाउन सक्छन । यस समुहवाट कोहीपनि सुरक्षित छैनन् ।
यिनीहरूको निरन्तर प्रहारले राज्यप्रणालीमा कार्यरत व्युरोक्रयाट र राजनितिक मानिसहरु झन जव्वर भएकोले अनियमितताको सम्भावना वढिरहेको देख्न सकिन्छ । यसैपनि उसैपनि वदनाम हुने भएपछि जे गरेपनि हुन्छ भन्ने मनोविज्ञान हावी भएको छ । यो ठुलो क्षति हो ।

सामाजिक संजालमा सबैभन्दा ठूलो प्रयोगकर्ता समुह चाहिँ पगालेको लाहा जस्तै गलिवल छ जसलाई जतापनि मोड्न र ठप्पा लगाउन सकिन्छ । उसको ठोस लाईन, विचार पद्दति र रुचिको आकार एवं सीमितता हुदैन ।  सबभन्दा पहिले त उ सामाजिक संजालमा नयाँ प्रयोगकर्ता हुन्छ । उसंग  डिजिटल चेतना कम छ, पढाइलेखाइ र आलोचनात्मक चेत न्युन छ । उ सानासाना कुराहरुले विचलित र पुलकित हुन्छ । उ होहरेमा लागेर जोसूकैलाई सराप्न वा जोसुकैलाई पुजा गर्न पछि पर्दैन । उसलाई कुनै सामान्य डिजिटल्ली ईडिटेट कन्टेन्टले प्रभावित पार्न सकिन्छ । उ समाचार वा तथ्यको पुष्टि खोज्दैन । उसलाई आधिकारिकता चाहिँदैन । उसलाई साइवर स्वतन्त्रताको सीमा र‌ साइवर कानुन पनि थाहा र मतलव हुदैन । अर्को अर्थमा भन्दा यो चुनावका वेलाको आम नेपाली मतदाता जस्तै हो जो कुनै उमेद्धारको योग्यता क्षमता, उसको पार्टीको नीती सिद्धान्त नहेरी कसैको वहकाउमा एक गिलास दारु र एक सय भारु /नेरुमा भोट हाल्छ र उसको आफ्नै तरीकाले पुनः जिउंछ ।  यस्ता प्रयोगकर्ताले देश र प्रणालीमा तात्कालिक, र दीर्घकालीन नकारात्मक असर पार्न पोष्ट गरिएका जातीय, क्षेत्रीय, भाषिक, लैगिक र धार्मिक नकारात्मक स्ट्राटेजीक कन्टेन्टलाई लाईक, कमेन्ट, शेयर गरेर फैलाइरहेका हुन्छन् । यसले सामाजिक सन्जाल नकारात्मकता र पक्षधरताका आधारमा हुने घृणित वाक्युद्दको रणभुमि भएको छ । यसले हाम्रो धार्मिक सामाजिक सहिष्णुतामा ठुलो क्षति भैरहेको छ ।

सबभन्दा खतरनाक कुरा त अमेरिका र चीनबीचको व्यापार युद्ध र त्यसमा भारत अमेरिकाको जल्लाद भएको वर्तमान अवस्थामा नेपालको सामरीक महत्व झन वढेको छ । त्यसको प्रतिरोधमा चीनले पनि कदम चालेपछि नेपालमा रणनैतिक घम्साघम्सी पर्न थालेको छ । अमेरीकी र भारतीय शक्तिलाई चीन विरुद्ध खुला चलखेल गर्न नेपालमा स्थिर शासन हुंदा सम्भव हुँदैन । त्यसैले उनीहरु नेपालको सरकार गिराउन नेपालको मुख्य पदहरुमा आफ्ना एसेट्स नियुक्त गर्न चाहन्छन । यसर्थ उनीहरुको प्रायोजनमा हाम्रो सरकार, राष्ट्रपति, न्यायालय, सेना, प्रहरी, प्रशासनिक निकाय राजनीतिक दललाई सामाजिक संजालमार्फत निरन्तर आक्रमण गरिरहेका छन । मेरो मतलव नेपालका सबै चीजहरु सही र सत्य छन भन्ने हैन । तर वैदेशिक राजदुतावासवाट नेपाली अभुतपूर्व एकताको सांग्लो तोड्न नियमित तलव वुझ्ने आईएनजीओकर्मी, पूर्व कर्मचारी, पत्रकार, तथाकथित वुद्धिजीवी, नागरीक अभियन्ता, राजनैतिक नेता हरुले सृजना गरेका फन्डाहरुले सोझासिधा आमनेपाली नागरिकमा यो देश, राष्ट्रपति, सरकार, न्यायालय, सेना, प्रहरी कर्मचारी सबै भ्रष्ट हुन, यो प्रणाली नै खराव हो भन्ने सन्देश प्रवाह गरेकाले राज्य प्रणाली नै खतरामा परेको छ । सामाजिक सन्जाल यस कामको लागि सबैभन्दा सजिलो र भरपर्दो माध्यम वनेको छ । ट्वीटर ,फेसबुक र ह्वाट्सएप ग्रुपमा सल्लाह गरेर नेपालमा नयाँ पुस्ताका युवा परिचालन गरि आफु अदृश्य वसेर अकुपाई वालुवाटार, ईनफ ईज ईनफ जस्ता प्रायोजित आन्दोलनले माईतिघर मण्डला व्यस्त हुन थालेको छ । यो खतरनाक लक्षण हो ।

यी सबै कारणहरुले गर्दा नेपाललाई यी सबै चीजहरुको नियमन गर्न कडा साइवर कानुन र प्रणाली चाहिएको छ । मौजुदा कानुनमा कडाईका साथ कार्यान्वयन गरी फेसबुक ट्वीटर र युट्युवमा आएका भाईरल पोष्टहरुको एक्सेस र कन्ट्रोल गरी यो मानसिक प्रदूषण हटाउन वेलैमा काम नगरिए नेपाली स्वतन्त्रता, सार्वभौमिकता सदाको लागि मेटिन सक्छ । भलै नेपाली समाज स्वाभिमानी र सहिष्णु भएकोले हालसम्म धेरै उतारचढाव आएपनि आजसम्म गति छोडेको छैन । तर हालको नयाँ पुस्तामा फैलाईएको देश  राज्यका अंगहरु प्रतिको चरम निराशा र घृणाले राम्रो संकेत गर्दैन ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्