विराटनगरसहित भारतसँग सीमा जोडिएका प्रदेशका १८ स्थानीय तह उच्च जोखिममा

विराटनगरसहित भारतसँग सीमा जोडिएका प्रदेशका १८ स्थानीय तह उच्च जोखिममा

विराटनगर । प्रदेश १ मा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसबाट जोगिनका लागि व्यक्ति आफैं सचेत हुनुपर्ने कुरामा सरोकारवाला पक्ष र विज्ञहरुले सुझाव दिएका छन् ।
‘ट्राभल हिस्ट्री’ नभेटिएका व्यक्तिमा लक्षणसहित कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि त्यसबाट अपनाउनु पर्ने सुरक्षामा गम्भीर हुनुपर्ने सुझाव प्रदेश सरकारलाई सरोकारवाला र विज्ञहरुले दिएका हुन् ।

यद्यपी प्रदेश १ मा हालसम्म एकजना पनि संक्रमितको मृत्यु भएको छ । प्रदेश २ बाट उपचारका लागि धरानको वीपीमा भर्ना भएका दुईजनाको मृत्यु भएको छ । उनीहरुको संख्या प्रदेश १ मा जोडिएपनि प्रदेश भित्रै स्थायी बसोबास भएका कसैको पनि मृत्यु भएको छ ।
पछिल्लो समय भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा स्थानीय व्यक्तिहरुमा संक्रमणसँगै लक्षण देखिन थालेको छ । भारतबाट आएकाहरुको सम्पर्कमा भएका वा भारतसम्म पुगेर फर्केकाहरुमा संक्रमणको बढी जोखिम रहेको अनुमान गरिएको छ ।


मोरङको विराटनगर, जहदा, धनपालथान, रंगेली, सुनवर्सी, रतुवामाई, सुनसरीको कोशी, भोक्राहा नर्सिंग, हरिनगर, बर्जु, झापाको मेचीनगर, भद्रपुर, झापा, गौरिगञ्ज, इलामको रोङ, सुर्योदय, माइजोगमाई र सन्दकपुर अति जोखिमका क्षेत्रमा परेका हुन् । यिनीहरु भारतसँग सीमाना जोडिएका स्थानीय तह भएका कारण जोखिम क्षेत्रमा परेका छन् ।

यी स्थानीय तहमा जोखिम बढ्नुमा भारतको बिहार सिक्किम, उत्तरप्रदेशमा बढ्दै गएको संक्रमणको प्रभाव पर्ने देखिएको हो । संक्रमितमध्ये ०–१० २० जना र १०–२० वर्षका १४८ जना रहेका छन् ।

उमेर समूहका हिसाबले सबैभन्दा बढी २०–३० वर्षका व्यक्तिहरुमा संक्रमण देखिएको छ । हालसम्म उमेर समूहमध्ये २०–३० ३५२ जना, ३०–४० का २५४, ४०–५० उमेर समूहका १२० जना र ५०–६० का ३३ जना, ६०–७० का १४ जना, ७)–८० का ३ जना, ८० भन्दा माथिका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५ वर्षमुनीका ७ जना, गर्भवती महिला ४ जना र कोभिडसँगै अन्य रोगले ग्रसित रहेका २४ जना संक्रमित भएका छन् ।

 


लक्षण र संक्रमण देखिएपनि गुणात्मक रुपमा यसको दर नबढेकोले समुदायस्तरमा संक्रमण मान्न नहुने बताइन्छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताका अनुसार जम्मा संक्रमितमध्ये १४ प्रतिशत व्यक्तिको ट्राभल हिस्ट्री पहिचान हुन सकेको छैन । उहाँका अनुसार भारतबाट नेपाल आएका ६८ प्रतिशत, तेस्रो मुुलुकबाट फर्केका १८ प्रतिशत र नेपालमै रहेका १४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । त्यसमध्ये १३ प्रतिशत संक्रमितमा लक्षण देखिएको छ । पछिल्लो समय बढ्दै गएका संक्रमितहरुमा यस्तो समस्या देखिएको हो ।


कोरोना संक्रमणको स्वरुप फेरिएको चिन्तासहित प्रदेश १ सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा विज्ञ तथा सरोकारवाला पक्षसँग छलफलको आयोजना समेत गरेको थियो । सुझावका आधारमा आगामी दिनका योजना निर्माण गर्न भन्दै डाकिएको छलफलमा न्यूनीकरणरका लागि आवश्यक पर्ने संरचना तयार गरिनुपर्ने सुझाव दिइएको थियो ।


प्रदेश १ मा हालसम्म ३९ हजार ५०० जनाको पीसीआर परीक्षण भईसकेको छ । जसमा ४३ जना बराबर १ जना पोजेटिभ देखिदैं आएको छ । यो राष्ट्रिय तथ्यांकको तुलनामा भने संक्रमणको जोखिम न्यून रहेको मानिन्छ ।
प्रदेश १ मा मंगलबार थपिएका २१ जनासहित संक्रमितको संख्या ९६६ जना पुगेको छ । हालसम्म ७४१ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा २ जनाको मृत्यु भएको छ तर उनीहरु दुवैजना प्रदेश २ का हुन् ।


सामाजिक विकास मन्त्री जीवन घिमिरेले अबका दिन कोरोनासँग जोगिदैं दैनिक गतिविधिमा सक्रिय हुनुपर्ने बताउनु भएको छ । उहाँले स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै बन्द भएका संघ र संस्थाहरु सञ्चालनमा ल्याउनु पर्ने तर सावधानी अनिवार्य अपनाउनुपर्नेमा जोड दिनुभयो ।

जोखिम अझै बढ्ने बताउँदै अहिलेसम्म निर्माण गरिएका संरचनामा जनशक्ति परिचालन गरेर संकटबाट जोगिने योजना रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले एकसय जना प्रयोगशालाकर्मीलाई स्वाब संकलन र परीक्षण तालिम दिएको, उच्च जोखिम क्षेत्रको पहिचान गर्ने र परीक्षण गर्ने योजना अगाडी सारिएको बताउनुभयो ।

यसैगरी उदयपुर, पाँचथर, धनकुटा र मेचीनगरमा उपचार सेवा विस्तार गरिने भएको छ । सरकारले १५० स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ टिम बनाएकोले उनीहरुलाई जोखिम देखिएका क्षेत्रमा परिचालन गरिने बताइएको छ । सरकारले यहि बीचमा शवदाह मेशिन समेत खरिद गर्ने तयारी गरिरहेको छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका फिजिसियल डा.डेनप्रसाद आचार्यले प्रत्येक समय आफूलाई अनुशासित नराखे कोरोना संक्रमणको भयावह अवस्था आउनेसक्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुले नागरिकका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्