‘कोरोनाले नभएको ऋणको भागिदार बनायो’

‘कोरोनाले नभएको ऋणको भागिदार बनायो’

एन्जु शिवाकोटी
विराटनगर । अब पो हुन्छ की, तब पो हुन्छ की राम्रो भन्दाभन्दै झन्झन् वातावरण विकराल हुँदै जाँदैछ । सबैलाई आर्थिक समस्याले थिचिरहेको छ । गरिबीमाथि गरिबी, ऋणमाथि ऋण थपिदै जाँदैछ । सहज वातावरण बन्छ की भनेर जति हेरे पनि कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको संख्या दिनदिनै थपिदैं गएको छ । मृत्यु हुनेको संख्या थपिदैछ ।


कोरोना भाइरस संक्रमण कम भई दैनिकी सहज हुने आशमा ती दिनको पर्खाइमा बसिरहेका छन् रमेश राजवंशी । हुन त उनी मात्र सहज वातावरण बनोस् भन्ने व्यक्ति होइनन् । उनी त एक प्रतिनिधि पात्र मात्र हुन ।
लामो समय देखि होटल व्यवसाय गर्दै आएका रमेश राजवंशी आल घरमै बस्न बाध्य छन् । लकडाउन खुलेसंगै विराटनगर बजार खुल्यो । व्यपार व्यवसायहरु सञ्चालन हुन थाल्यो । तर उनको व्यवसाय सञ्चालन हुन सकेन ।

राजवंशीले हस्पिटल चौकमा ७ बर्ष होटल सञ्चालन गरे त्यसपछि सुरक्षा अस्पताल भित्र क्यान्टिङ्ग सञ्चालन गरेर १ बर्ष बसे ।
लकडाउन हुनु भन्दा २ महिना पहिला उनले विराटनगर १० बगलामुखी मार्गमा ‘आर.एस.सेकुवा घर’ नाम गरेको खाजा घर कटहरी–५ का विनय राजवंशीसँगको साझेदारीमा सञ्चालनमा ल्याए । ८ लाखको लगानीमा सुरु गरेको खाजा घर सधंैका लागि बन्द भएको छ ।

बंैकबाट ऋण लिएर सुरुवात गरेको खाजा घर सञ्चालन भएसँगै बन्द भएपछि बंैकको ऋण र कोठाको भाडा कसरी तिर्ने समस्यामा छन् राजवंशी । ‘राम्रो व्यापार भइरहेको थियो ।’ ‘कोरोनाले नभएको ऋणको भागिदार बनायो ।’ उनी भन्छन्, ‘यस्तो हुन्छ भन्ने थाहाँ हुन्थ्यो त होटल खोलिदैन थियो । ऋण लाग्ने थिएन ।’

सबैलाई आर्थिक समस्यामा लकडाउनले पारेका कारण होटल किन्ने मान्छेहरु पनि पाउन नसकिने उनले बताए । आजभोलीको विराटनगरको अवस्थाले सबैलाई त्रसित बनाएको छ । महानगरपालिका फेरी लकडाउनमा जाने सम्भावना रहेको अवस्थामा होटल व्यवसाय गर्न चाहने व्यक्तिले पनि होटल किनेर सञ्चालन गर्न सक्ने अवस्था छैन ।

‘यो अवस्थामा होटल बिक्रि हुने सम्भावना छैन ।’ उनले भने,‘यदि बिक्रि भईहाल्यो भने पनि लगानी उठ्न सक्दैन ।’ ‘होटल सञ्चालनको लागि प्रयोगमा आएका सामान सबै नयाँ छन् ।’ ‘तर बिक्रि गर्दा त्यसलाई सेकेण्ड हेण्डमा बेच्नु पर्छ ।’ ‘लगानीको आधा दाम तिरेर बेच्नु पर्ने हुन्छ ।’
कसरी दैनिकी चलाउने अवस्थामा होटलको भाडा र बैंकको ऋण तिर्ने समस्या परेको उनले बताए । होटल सञ्चालन गरेर बिना कारण ऋिण माथि ऋिण थपिदै गएको राजवंशीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्