विराटनगर । कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा पाँच बेडको भेन्टिलेटर जडान गरिएको छ । कडा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित भेन्टिलेटर सुविधा जडान गरिएको हो ।
अस्पतालमा २ वटा स्थायी रुपमा र तीन वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उपचार केन्द्रमा आईसीयू सेवा सञ्चालनमा आईसकेको थियो । कोशी कोभिड–१९ उपचार केन्द्रमा हाल तीनजना विरामी आईसीयूमा उपचाररतः रहेको अस्पतालका इन्चार्ज डा.दिपक सिग्देलले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयले सेवा विस्तारको विषयमा जानकारी दिनका लागि बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको हो । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार आईसीयू र भेन्टिलेटरका लागि आवश्यक स्वास्थ्य जनशक्ति तत्कालका लागि कोशी अस्पताल र कोभिड उपचार केन्द्रमै रहेकाहरुबाट व्यवस्थापन गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
आईसीयू र भेन्टिलेटर सेवाका लागि आवश्यक जनशक्तिसहित व्यवस्थापनको अभाव भएको भन्दै कोभिड उपचार केन्द्रमा कार्यरत चिकित्सकहरुले गुनासो गर्दै आएका थिए । अक्सिजन आपूर्ती र २४ सैं घण्टा बिद्युत आपूर्तिको व्यवस्थापन मिलाउन पर्ने माग चिकित्सकले गरे अनुसार मन्त्रालयले त्यसको प्रवन्ध गरेको सचिव कार्कीको दावी छ ।
कोभिड–१९ उपचार केन्द्र सञ्चालनका लागि कोशी अस्पतालका मेसु डा.चुमनलाल दास, वरिष्ठ चिकित्सक डा.दिपक सिग्देल, डा.डेन आचार्य र डा.रुपेश गामी सम्मिलित विशेषज्ञ चिकित्सकको टोलि परिचालन भएको छ । तत्काल कोशी र कोभिड उपचार केन्द्रको जनशक्तिले आईसीयू र भेन्टिलेटरमा राखिएका विरामीलाई उपचार सुविधा दिने तर थप जनशक्तिलाई तयारी अवस्थामा राख्ने काम गरिने भएको छ ।
त्यसका लागि १० जना मेडिकल अफिसर र ३० जना स्फाट नर्सलाई क्रिटिकल केयर तालिममा आइतबारदेखि राखिने भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि भन्दै २०७६ चैत २१ गते सञ्चालनमा ल्याइएको कोभिड उपचार केन्द्रमा २०७७ साल बैशाख ४ गतेदेखि संक्रमित भर्ना गरेर उपचार सुरु गरिएको थियो । हालसम्म ३११ जना संक्रमित भनाई भईसकेकामध्ये २६० जना डिस्चार्ज भएका छन् । कोभिड उपचार केन्द्रमा एकजना संक्रमितको मृत्यु भएको छ । बिहीबार बिहानसम्म २४ महिला र २८ जना पुरुष गरि ५२ जनाको उपचार भईरहेको डा.सिग्देलले जानकारी दिनुभयो । भर्ना भएकामध्ये तीनजनालाई आईसीयूमा राखिएको छ ।
कोशिको कोभिड–१९ उपचार केन्द्रमा लक्षणसहितका संक्रमितलाई मात्रै भर्ना लिइने भएको छ । यस अगाडीसम्म कोरोना संक्रमण पोजेटिभ देखिएका सबै संक्रमितलाई राखिदैं आएको थियो ।