विराटनगर । लामो समयदेखि बन्द भएको विराटनगर जुट मिल्समा भारतीय लगानीकर्ताले चासो देखाएसँगै मिल्सले ३५ वर्ष उद्योग संचालनका लागि आशयपत्र पेश गर्न सूचना निकालेको छ । भारतको बिड्ला समूह र कोलकाताका केही जुट उद्योगीले मिल्स संचालन गर्न चासो देखाएपछि मिल्सले दैनिक १२५ टन क्षमतामा उत्पादन गर्नुपर्ने शर्त राख्तै आशयपत्र प्रकाशित गरेको हो ।
मिल्सका अध्यक्ष नन्दलाल देवकोटाले नयाँ लगानीकर्ताले मिल्सका विगतका ऐतिहासिक, वित्तीय र श्रमका कुनै पनि दायित्व वहन गर्नुनपर्ने गरी सुरक्षित व्यवस्थापनको सुनिश्चितता प्राप्त गर्ने बताए । अध्यक्ष देवकोटाले यसअघि प्रधानमन्त्रीको कार्यालयले गठन गरेको कार्यदलको सिफारिसका आधारमा नयाँ रणनीतिक साझेदारका लागि आह्वान गरेको जानकारी दिए ।
गत साउनमा प्रधानमन्त्री कार्यालयले उद्योग मन्त्रालय अन्तर्गतको संस्थान महाशाखाका प्रमुख नमराज घिमिरेका संयोजकत्वमा कानुन र अर्थ मन्त्रालयका सहसचिव तथा २ विषयविज्ञ सहितको कार्यदल गठन गरेको थियो ।
मिल्सको सूचनामा कम्तीमा दैनिक एक सय टन क्षमतामा जुट मिल्स संचालन गरिरहेको उद्योगीले मात्र आशयपत्र पेश गर्नसक्ने जनाइएको छ ।
तर नेपालमा यस्तो क्षमता भएको कुनै पनि जुट उद्योग छैन । आरके गोल्छा ग्रुपबाट संचालित अरिहन्त मल्टिफाइबर्सले दैनिक ६५ टन जुटका सामग्री उत्पादन गरिरहेको छ ।
दैनिक एक सय टन उत्पादन क्षमताका जुट उद्योग नेपालबाहिर भारत र बंगलादेशमा मात्र छन् ।
‘यसअघि दैनिक ४७ टन सम्म उत्पादन भएको अभिलेख रहेछ । अब ४७ टनले पुग्दैन । दैनिक १२५ टन जुटका सामग्री उत्पादन गर्ने हाम्रो लक्ष्य हो । त्यसैले दैनिक सय टनको क्षमता भएको उद्योगले मात्र आशयपत्र पेश गर्न सक्ने गरी सूचना प्रकाशित गरिएको हो’, देवकोटाले भने ।
उनले नेपालको एक उद्योगको दैनिक १ सय टन क्षमता पुग्दैन भने ज्वाइन्ट भेन्चरमा पनि आशयपत्र पेश गर्न सकिने स्पष्ट पारे ।
मिल्सका पूर्व अध्यक्ष एवम् मिल्स संचालनका लागि लबिइङ गरिरहेका कांग्रेस नेता फूलकुमार लालबानीले आफूसित भएका भारतीय लगानीकर्ताले चासो देखाइरहेको बताए ।
पूर्व अध्यक्ष लालबानीकै सक्रियतामा यसअघि कोलकाताको विनसम इन्टरनेशनल नामको कम्पनी २५ वर्षको संचालन सम्झौता गरेर उद्योग चलाउन आएको थियो । तर नेपाल सरकारले सम्झौता अनुसार विद्युतको ३३ केभिए प्रसारण लाइन विनसमलाई उपलब्ध गराउन सकेन । त्यस बेला लोडसेडिङको चर्को समस्या थियो । विनसम ३३ केभिए प्रसारण लाइन नपाएपछि १८ महिना उद्योग संचालन गरेर भारत नै फर्केको थियो ।
लालबानीले भने, ‘सरकारले आवश्यक सहजीकरणको सुनिश्चितता गर्ने हो भने भारतीय लगानीकर्ताको खाँचो हुनेछैन । जेनजी आन्दोलनभन्दा पहिलेको सरकारसित पनि भारतको बिड्ला ग्रुपले मिल्स संचालनका लागि बारम्बार इच्छा व्यक्त गरेको थियो ।’
अध्यक्ष देवकोटाले लगानीकर्ताले ३५ वर्ष सफलतापूर्वक मिल्स संचालन गरेर पुनः इच्छा देखाएमा उसको करार नवीकरण हुनसक्ने जानकारी दिए ।
मिल्सको क्षमता ३० टन पनि छैन
मिल्सका एक पूर्व कर्मचारीका अनुसार अहिलेका अवस्थामा यहाँबाट ३० टन सामग्री पनि उत्पादन गर्न सकिँदैन तर मिल्सले १२५ टन क्षमताको सूचना प्रकाशित गरेको छ ।
यस सम्बन्धमा अध्यक्ष देवकोटाले भने, ‘हाम्रो आशय लगानीकर्ताले अहिले जेजस्तो छ त्यही अवस्थामा मिल्स जिम्मा लिनुपर्नेछ । र, उसले क्षमताविस्तार गर्दै गर्र्दै १२५ टन क्षमता पु¥याउनु पर्छ भन्ने हो । एकैपटक १२५ टनको माग होइन ।’
उनले नेपालको लगानीकर्ता वा उद्योग एक्लैले १२५ टन क्षमतमा मिल्स संचालन गर्न नसक्ने भए संयुक्त लगानीमा पनि आउनसक्ने दोहो¥याए ।
मिल्सले लगानीकर्ताले उद्योगलाई रोयल्टी भुक्तानी, ज्वाइन्ट भेन्चरमा इक्विटी सहभागिता अथा निर्माण, संचालन तथा हस्तान्तरण (बिल्ड, अपरेट, ट्रान्सफर अर्थात् बीओटी) मध्ये कुनै पनि मोडेलमा संचालन गर्ने गरी आशयपत्र पेश गर्नसक्ने सूचनामा जनाएको छ ।
लगानीकर्तालाई यस्ता शर्त
मिल्सले नयाँ लगानीकर्ता जुट वा जुटसँग सम्बन्धित उत्पादन तथा प्रशोधन उद्योगमा कम्तीमा २० वर्षदेखि निरन्तर स्थापित र सफलतापूर्वक उद्योग संचालन गरेको अनुभवी हुनुपर्ने शर्त राखेको छ ।
त्यस्तै जुटका वस्तु उत्पादन गर्ने उद्योग स्थापना संचालन व्यवस्थापन तथा उत्पादन प्रक्रिया संचालन गर्न प्रमाणित क्षमता भएको लगानीकर्ता हुनुपर्नेछ । साथै दैनिक १ सय टन उत्पादन क्षमता भएको उद्योग संचालन गरेको अनुभव चाहिनेछ ।
लगानीकर्ताले आफ्ना जुटजन्य उत्पादनको विक्री वितरणका लागि बलियो घरेलु र अन्तर्राष्ट्रिय बजार स्थापित गरेको हुनुपर्ने छ ।
त्यसैगरी उद्योगको आधुनिकीकरण, प्रविधि स्तरोन्नति तथा दीर्घकालीन पूर्ण क्षमतामा व्यावसायिक संचालन गर्न पर्याप्त वित्तीय स्रोत र प्राविधिक दक्षता भएको लगानीकर्ताको माग गरिएको छ ।
लगानीकर्तालाई यस्ता सुविधा
मिल्सले लगानीकर्तालाई औद्योगिक व्यवसाय ऐन तथा विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन अन्तर्गत उपलब्ध सम्पूर्ण वैधानिक सुविधा प्रदान गरिने जनाएको छ ।
जसअनुसार विदेशी लगानीकर्तालाई नाफा तथा लाभांश विदेश फिर्ता लैजान पाउने अधिकार गरिनेछ । साथै पुँजीगत मेसिनरी तथा स्पेयर पार्टस्को आयातमा भन्सार तथा शुल्क सम्बन्धी सहुलियत दिन सहजीकरण गरिनेछ ।
अध्यक्ष देवकोटाले लगानीकर्तालाई प्रोत्साहनस्वरूप प्रारम्भिक अवधिमा भाडा र रोयल्टीको न्यूनतम दर घोषणा गरेर उद्योग संचालनमा ल्याउन सहुलियत अवधिको सुविधा पनि दिइने बताए ।