विराटनगर। प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा साउन पहिलो साता जडान गरिएको पीसीआर मेशिनको रिएजेन्ट सकिएपछि परीक्षणमा असर गर्ने भएको छ ।
साउन पहिलो साता स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका दुई वटा पीसीआर मेसिनमध्ये प्रदेश प्रयोगशालामा भएको मेशिनको ओयल प्लेट सकिएको हो ।
पीसीआर परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट (ओयल प्लेट) आउन केहिदिन लाग्ने भएकोले परीक्षणको दर घट्न सक्ने संभावना देखिएको छ । स्वीस सरकारले उपलब्ध गराएको यो मेशिनमा एकै पटक ९६ वटा स्वाब नमूना परीक्षण गर्न सकिन्थ्यो । अर्को मेशिन भने मेची अस्पतालमा जडान गरिएको छ ।
प्रदेश प्रयोगशालामा ठूलो पीसीआर मेसिनबाट र साना पोर्टेबल ३ वटा मेसिनबाट कोरोना जाँच हुने गरेको छ । बिहीबारबाट ठूलो पीसीआर मेसिनको रिएजेन्ट ‘ओइल प्लेट’ सकिएका कारण परीक्षण गर्न नसकिने भएको छ ।
दैनिक चारसय भन्दा बढी परीक्षण गर्दै आएको पीसीआर मेशिनमा समस्या देखिएको हो । सानो तीनवटा मेशिनले दैनिक बढीमा ३ सयसम्म पीसीआर जाँच मात्रै गर्दै आएका छन् । साना मेशिनहरु ३२ वटा मात्रै स्वाब राखेर परीक्षण गर्न सकिने छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर जयबेन्द्र यादव अझै मंगलबारसम्म मेशिनका लागि आवश्यक पर्ने सामाग्री नआउने सूचना पाएको बताउनुभयो । मेशिन उत्पादक कम्पनिकै सामाग्री आवश्यक भएकोले आपूर्तिकर्ताबाट मगाइएको दावी गरिएको छ ।