कोशी कोभिड उपचार केन्द्रमा जनशक्ति व्यवस्थापन गर्ने बाटो खुल्यो

कोशी कोभिड उपचार केन्द्रमा जनशक्ति व्यवस्थापन गर्ने बाटो खुल्यो

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमितको उपचारका लागि स्थापना गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनको बाटो खुलेको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले सम्बन्धित क्षेत्रका विज्ञ समेतको सुझावका आधारमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो । कोशी कोभिड १९ अस्पताललाई लेभल टु को सेवा दिनेगरि स्तरोन्नती गरेर आवश्यक जनशक्ति व्यवस्थापन गरिने भएको छ ।

नियुक्ति प्रकृया अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बैठकपछि जानकारी दिनुभएको हो । कोभिड १९ अस्पताल विराटनगरमा आवश्यक जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर सञ्चालनमा समस्या हुँदै आएको छ ।

यसैगरी प्रदेश सरकारको प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्न स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गा प्रदेश प्रयोगशालाको नाममा प्राप्त गर्नका लागि स्वीकृति दिएको छ । स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको आधुनिक पीसीआर मेसिन सञ्चालन गर्न व्यवस्थित प्रयोगशालाको अभाव थियो । त्रिभूवन विश्वविद्यालय, सामाजिक विकास मन्त्रालय र स्नातकोत्तर क्याम्पसबीय यस अघि भएको सम्झौता बमोजिम प्रदेश सरकारले निर्णय गरेको हो ।

बैठकले सामाजिक विकास मन्त्रालयको विविध कार्यक्रम सञ्चालन कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार पर्यटन विकास तथा जलाधार संरक्षण आयोजनाको १ वर्ष म्याद थप गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा केही अनौपचारिक छलफल पनि भएको थियो । केही समयअघि सम्म नियन्त्रित अवस्थामा रहेको कोरोना संक्रमणको अवस्था बिग्रनुका पछाडि सरकारका तर्फबाट भएका कमीहरुको विषयमा छलफल भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्