विराटनगर । मोरङका चार स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्थित कोभिड क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले, विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका र कटहरी तथा बुढीगंगा गाउँपालिकाको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले भदौ ५ गते राती १२ बजेदेखि भदौ १० गते रातीसम्म स्थानीय प्रशासन ऐन २०२० को दफा ६(३) अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
विराटनगर महानगरको सम्पूर्ण क्षेत्रसहित रंगेली नगरपालिकाको ४, ५ ६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा तथा बुढीगंगा गाउँपालिकाको १, २, ३ । ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवधीमा औषधी, खाद्यवस्तु तथा अत्यावश्क वस्तु, वा सेवा बाहेकका अन्य सवारी निषेध गरिएको छ । यसैगरी जिल्लाभर जुनसुकै स्थानमा बेलुका ९ बजदेखि बिहान ५ बजेसम्म हिडडुल पूर्ण रुपमा निषेध गरिएको छ ।
अत्वावश्यक सामाग्री अन्तर्गत खाद्यन्न, तरकारी, फलफुट, इन्धन र ग्यास, दुध तथा डेरीका पसल बिहान ९ बजेसम्म सञ्चालन गर्ने दिइने भएको छ । तर, सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । तर, विराटनगरको ग्द्री बजार, सब्जिमण्डि, होटल रेष्टु–राँ र सिटी सफारी सञ्चालनमा रोक लगाइएको छ ।
यसैगरी दैनिक रुपमा हुने नित्य पुजा र प्रार्थना बाहेक कुनै पनि धार्मिक तथा साँस्कृतिक, मेला तथा चापपर्वका भेला लगायतका कार्यक्रममा रोक लगाइएको छ । यसैगरी सरकारी सेवासहित अत्यावश्यक सञ्चार, विद्युत, फोहोर, फलफुल, तरकारी, पशुु आहार तथा दाना, दुध, इन्धन र ग्यास बाहेकका सबै सवारीलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
सरकारी कार्यालयले आलोपालो गरेर न्यूनतम संख्यामा मात्रै कर्मचारी राखेर सञ्चालन गर्नेछन् । यसैगरी विराटनगर आईसीपी क्षेत्रबाट हुने निकासी पैठारी बाहेक र स्वदेश फर्कन चाहने नेपालीका लागि सरकारले तोकेको रानी नाका बाहेकको आवतजावतलाई समेत रोक लगाइएको छ ।
निषेधाज्ञाको अवधीमा उपभोग्य वस्तुको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, नाफाखोरी गर्ने र जम्माखोरी गर्ने, लुकाउने विरुद्ध कडा कारवाही गरिने भएको छ ।