विराटनगर । विराटनगर महानगरपालिकालाई कोरोना परीक्षणका लागि पीसीआर मेशिन खरिदका लागि सहयोग जुट्न थालेको छ ।
महानगरपालिकाले सार्वजानिक नीजि साझेदारी अवधारणा अन्तर्गत पीसीआर मेशिन खरिद गरि कोशी अस्पतालको ल्याबमा सञ्चालन गर्ने निर्णय गरेसँगै रकम सहयोग गर्नेहरु बढ्दै गएका हुन् ।
विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले मात्रै सात लाख सहयोग गर्नुभएको छ । उद्योगी राउतले शुक्रबार उक्त रकमको चेक विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तानान्तरण गर्नु भएको हो ।
सरकारले चैत ११ गते आह्वान गरेको लकडाउनपछि विराटनगरका अधिकांश उद्योगी–व्यवसायीले राहत मागिरहेको बखत उद्योगी राउत प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा ११ लाख रुपिँया सहयोग उपलब्ध गराउनु भएको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि समाजसेवी राउतले महानगरपालिकालाई समेत शुक्रबार सहयोग गर्नु भएको हो ।
सङ्क्रमण बढेसँगै कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिदका लागि महानगरपालिकामाथि दबाब बढ्दै गएको थियो । देशका अन्य स्थानीय तहले समेत चन्दा उठाएर भएपनि पीसीआर मेशिन खरिद गर्दा विराटनगर महानगर चुप बसेको भन्दै आलोचना हुँदै आएको थियो ।
त्यसपछि महानगरपालिकाका प्रमुख पराजुलीले आफूले पाउने एक वर्षको सेवा सुविधाबापत पाँचलाख प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पनि सङ्घले १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा द्रूत गतिमा फैलिन लागेको कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न नगरवासीले दवाव दिँदै आएको अवस्थामा निजी तहबाट हुन लागेको सहयोगले कोरोना सङ्क्रमण रोकथाममा सहयोग पुग्ने विश्वास प्रमुख पराजुलीको छ ।