विराटनगरमा कोरोना संक्रमिणबाट थप एकको मृत्यु

विराटनगरमा कोरोना संक्रमिणबाट थप एकको मृत्यु

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति ९ बजे थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय कार्की थरका पुरुषको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले उपचारका लागि अस्पताल ल्याइपुर्याएको एक घण्टामै पुरुषको मृत्यु भएको जानकारी दिए ।
श्वासप्रश्वासमा एक्कासि समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो । ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ सिग्देलले भने, ‘धेरै प्रयास गरे पनि बचाउन सकिएन ।’ मृतक पुरुष अवकाश प्राप्त शिक्षक हुन् ।
परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका उनको स्वाब संकलन गरेर भदौ ४ गते परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएको थियो । रिपोर्ट आइतबार दिउँसो ३ बजे पोजेटिभ आएको थियो । दिउँसो रिपोर्ट पोजेटिभ आएका पुरुषलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका तीनै जना अहिले ‘होम आइसोलेसन’मा छन् ।
पुरुषको पछिल्लो मृत्युुसँगै विराटनगरको कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना संक्रमितको ज्यान गइसकेको छ । यसअघि विद्युत् प्राधिकरणका प्राविधिक विराटनगर–३ का ५७ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको थियो ।
हालसम्म कोरोनाबाट संक्रमित विराटनगरका एक महिलासहित १० जनाको मृत्यु भइसकेको छ । विराटनगरकै कोशी अस्पतालमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सात जनाको मृत्यु भएको थियो । एक जना संक्रमितको घरमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्