विराटनगर । रोजगारी र पारिश्रमिक कटौती गरिएपछि विराटनगरका सफाई मजदुर आन्दोलनमा उत्रेका छन् । महानगरपालिका क्षेत्रको सरसफाई गर्दै आएका १८० कर्मचारी आन्दोलित भएका हुन् ।
फोहोर संकलन तथा व्यवस्थापन गर्ने ठेक्का लिइएको वेष्ट मेनेजमेन्ट ग्रुपले सफाई मजदुरलाई रोजगारीबाट निकालेको तथा पारिश्रमिक समेत कटौती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका छन् ।
न्यून आयआर्जन भएका परिवारमा कोरोना संक्रमणपछि आयश्रोतमा समस्या रहेकै बेला पारिश्रमिक कटौतीसँगै रोजगारीबाट हटाउने काम गरिएको विराटनगर–११ का सिकन्दर मरिकको भनाई छ ।
महानगरले वेष्ट मेनेजमेन्टलाई २०७३ वैशाख १२ गते सम्झौता गरेर फोहोर संकलन तथा व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । तत्कालिन सम्झौता अनुसार महानगरले परिचालन गर्दै आएका सफाई कर्मचारी र महानगरले प्रयोग गर्ने सवारी वेष्ट मेनेजमेन्टले प्रयोग गर्ने प्रावधान तोकिएको थियो । महानगरमा अहिले तीन सय सफाई कर्मचारी आवश्यक रहेपनि १७० जना कार्यरत रहेका छन् । उनीहरुको पनि पारिश्रमिक कटौतीदेखि रोजगारी खोस्न थालिएको हो ।
सफाई कर्मचारीले कोरोना बिमा र रोजगारीको सुनिश्चितताको माग गर्दै वेष्ट मेनेजमेन्टसँग माग राखेर आन्दोलन सुरु गरिेका छन् । उनीहरुले माग पूरा नहुँदासम्म महानगरको फोहोर संकलनको काम रोक्ने चेतावनी दिइएका छन् ।
विराटनगरमा ६ घण्टा काम गर्ने सरसफाईकर्मीको पारिश्रमिक ८ हजार र ८ घण्टा काम गर्नेको सरसफाईकर्मीको पारिश्रमिक १५ हजार तोकिएको छ । चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउन र विराटनगरमा जारी निषेधाज्ञाका कारण आर्थिक व्ययभार थपिएकाले रोजगारी कटौती गर्नुपरेको वेष्ट मेनेमेन्टका प्रमुख देवी आचार्यको दावी छ ।
फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरपालिकाले वेष्ट म्यानेजमेन्टलाई अनुदानस्वरुप मासिक ११ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यस्तै वेष्ट म्यानेजमेन्ट गु्रपले पनि सेवाग्राहीहरुबाट सेवा शुल्कबापत मासिक २८ देखि २९ लाख रुपैयाँसम्म आम्दानी गर्ने महानगरको तथ्यांक छ ।
वेष्ट मेनेजमेन्टले आफैं कर्मचारी नियुक्ति गरेर काममा खटाउने योजनास्वरुप अहिले महानगरपालिकाबाट हस्तान्तरण गरिएको सफाईकर्मीलाई हटाउन खोजेको बुझिएको छ ।