विराटनगरका निजी अस्पतालमा पीसीआर मेशिन जोडिए, सरकारीका बिग्रिए

विराटनगरका निजी अस्पतालमा पीसीआर मेशिन जोडिए, सरकारीका बिग्रिए

विराटनगर । पन्ध्र दिन अगाडी साउन ३० गते प्रदेश १ मा एकैदिन २ हजार २०५ स्वाब नमूनाको पीसीआर परीक्षण भएको थियो । वीपी, कोशी र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा एकैदिन धेरै संख्यामा पीसीआर परीक्षण भएपछि मुख्यमन्त्री कार्यालयले समेत यस विषयलाई प्राथमिकताका साथ सञ्चारमाध्यममा सम्प्रेषण लागि सूचना इमेल ग¥यो ।

त्यसको पन्ध्र दिनपछि शनिबार प्रदेश १ का चार प्रयोगशालामा १ हजार २२० जना स्वाब मात्रै परीक्षण भएको छ । वीपी, कोशी, मेची र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शनिबारको परीक्षणबाट ११२ जनामा कोरोना पोजेटिभ देखिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलदैं जाँदा सरकारी अस्पतालमा पीसीआर परीक्षणको क्षमता बढ्नुपर्ने माग सरकारले पूरा गरेको थियो । तर, परीक्षणको संख्या किन घटिरहेको छ भन्ने चासो भने सरकारीस्तरमै दिएको देखिदैन । पीसीआर मेशिनहरु सरकारले अनुदानमै मागेर भएपनि थप्दै प्रयोगशालाको क्षमता बढाएको थियो । दातृ निकायसँग हात थापेर राखिएको मेशिन १५ दिन नबित्दै कामविहीन भएर थन्किएको छ ।

प्रदेश १ मा चारवटा ल्याब सञ्चालनमा आएसँगै विराटनगरका तीन निजी अस्पतालमा पीसीआर मेशिन जडानको प्रक्रिया सुरु भएको छ । जतिजति निजीमा पीसीआर मेशिन थपिदैं जान्छन्, त्यति–त्यति सरकारी ल्याबको पीसीआर मेशिन भने बिग्रदै जान थालेका हुन् । नोबेल मेडिकल कलेज विराटनगर र न्यूरो अस्पतालमा पीसीआर मेशिन खरिद गरिएका छन् । न्यूरोले पीसीआर मेशिन भित्र्याएसँगै कोरोना संक्रमण परीक्षणको प्याकेज नै घोषणा गरेको छ ।

छुट्टै आईसोलेशन अस्पताल सञ्चालनमा ल्याएका विराट र न्यूरोले कोरोना संक्रमितको उपचार र परीक्षण गर्ने सुविधा दिने घोषणा गर्दै गर्दा सरकारी अस्पताल कोशीको पीसीआर मेशिन बिग्रियो । चार महिनासम्म धानेको कोशीको पुरानो पीसीआर मेशिन बिग्रिएपछि आपूर्तिकर्तामार्फत नयाँ मेशिन मगाएर पुरानो मर्मतमा पठाइएको थियो । त्यस बखत निजीमा पीसीआर मेशिन जडान भईसकेका थिएनन् ।

कोशी अस्पतालका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासले पुरानो बिग्रिएपछि आपूर्तिकर्तासँग नयाँ मेशिन मगाएर सट्टामा राखेर मर्मत गरिएको बताउनुभयो । मर्मतपछि नयाँ मेशिन फिर्ता गरेर पुरानैबाट काम भईरहेको छ । हामीसँग विराटनगर महानगरले दिएको नयाँ मेशिन समेत आईपुगेको छ, मेसु दासले भन्नुभयो–त्यसलाई स्टलेशन गरेर सञ्चालनमा ल्याएपछि अझै सेवाको प्रभाव बढ्छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा रहेको पीसीआर मेशिनको रिएजेन्ट सकिएर पछिल्लो साता थन्किएको छ । स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको मेशिन १५ दिनपनि नपुग्दै रिएजेन्ट सकिएर थन्किएको हो ।
बिग्रिएको पनि हैन, चल्ने अवस्थामा पनि छैन, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.जयबेन्द्र यादवले भन्नुभयो–अत्याधुनिक मेशिनमा निर्माण कम्पनिकै सामाग्री मात्रै लाग्ने रहेछ । उहाँले अझै केहिदिनमा आपूर्तिकर्ताले आवश्यक पर्ने रिएजेन्ट ल्याउन लाग्ने जानकारी दिइएको बताउनुभयो । अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा रहेका पुराना तीनवटा साना मेशिनहरुमा परीक्षण हुँदै आएको छ ।

जनस्वास्थ्य प्रयोगशालामा एकै पटकमा ९६ वटा स्वाब नमूना राखेर परीक्षण गर्न सकिने मेशिन बिग्रिएपछि दैनिक परीक्षणको दर भने घट्दै गएको छ । समुदायस्तरमा कोरोनाको संक्रमण बढ्दै जाँदा प्रयोगशालाको परीक्षणको दर घट्ने क्रमले संक्रमितको मृत्युको जोखिम धेरै हुने चिकित्सकहरुको भनाई छ ।
स्वास्थ्यमा समस्या देखिएपछि आपत्कालिन रुपमा अस्पताल भर्ना गरिएका विरामीको मृत्युपछि मात्रै संक्रमण पुष्टि हुनुमा ‘क्विक’ स्वाब संकलन र परीक्षणमा समस्या रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका इन्चार्ज एवं वरिण्ट फिजिसियन डा.दिपक सिग्देलको भनाई छ । अस्पताल भर्ना भएका विरामीको तत्काल स्वाब परीक्षण गरेर पीसीआर परीक्षण भएको अवस्थामा मात्रै संक्रमण भए वा नभएको यकिन हुने र उपचार गर्ने बाटो खुल्ने अहिलेको अवस्था छ ।

उपचार अभावले भन्दा पनि उपचार ढिलो भएकै कारणले कोशी अस्पताल विराटनगरमा अहिलेसम्म संक्रमितको मृत्यु भएको सम्बन्धित क्षेत्रका सरोकारवालाको भनाई छ । जस्तो सुकै समस्या भएर अस्पताल पुगेपनि चिकित्सकले स्वास्थ्य चेकजाँच गर्नका लागि उसको पीसीआर परीक्षण रिपोर्टलाई अनिवार्य बनाइएको छ । जसका कारण कोरोना संक्रमित नभए पनि कतिपय विरामीको ज्यान जाने जोखिम धेरै रहेको छ ।

यस्तो बेला सरकारी ल्याबको पीसीआर परीक्षणको दर बढ्नु पर्ने भएपनि दैनिक घटिरहेको छ । कतिपयले निजीको सेवालाई प्रोत्साहन दिन सरकारी अस्पतालका ल्याबमा भएका मेशिन बिग्रिएको आशंका समेत गर्न थालेका छन् । सरकारी अस्पतालको सेवालाई विस्तारै सुस्त बनाउँदै लैजादा निजीप्रति आकर्षण बढ्ने गरेको छ । तर, सरकारी अस्पताल सरहको सुविधा समेत नागरिकले निजीमा पाउँदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्