गछिया खोलामा तस्करको लाइन

गछिया खोलामा तस्करको लाइन

विराटनगर । खोलाको अवैध उत्खनन् र नदीजन्य पदार्थ तस्करीमा प्रयोग गरिएका पाँचवटा ट्याक्टर शनिबार बिहान प्रहरीले गछिया खोलाबाट नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी गछियाका नायव निरीक्षक (सई) बलदेव सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहैंचा नगरपालिका–३, ४, ६ वडास्थित खोला किनारबाट बालुवा र मिक्स गिट्टी लोड गर्दै गरेको अवस्थामा ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरु को २ त ९०१५, को २ त ३५३२, को २ त ७८९६, ना ६ त १८४८ र को २ त ६९१९ नम्बरका रहेका छन् । प्रहरीलाई देख्नसाथ ट्याक्टरका चालक तथा बालुवा र गिट्टी लोड गर्दै गरेकाहरु फरार भएकाले खोजी भइरहेको जनाइएको छ ।
सुवेदी नेतृत्वकै टोलीले अवैध उत्खनन् गरेर नदीजन्य पदार्थ लोड गर्दै गरेको अवस्थामा शुक्रबार पनि सुन्दरहरैंचा–७ स्थित गछिया खोलाबाट को १ त ६९४९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । उत्खनन्मा प्रयोग गरिएका ट्याक्टर लगायत अरु साधनलाई नियन्त्रणमा लिने क्रम जारी छ । प्रहरीले अवैध उत्खनन्मा प्रयोग गरिएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नगरपालिकाको कार्यालयमा बुझाउने गरेको छ ।

दुई साताको अवधिमा मात्रै गछिया खोलाबाट अवैध उत्खनन्मा प्रयोग गरिएका ३५ वटा ट्याक्टर, दुईवटा जेसीबी र दुईवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । यसले गछिया खोलाबाट अवैध रुपमा उत्खनन् एवं बालुवा र मिस्क गिट्टीको तस्करी हुने गरेको पुष्टि गर्छ ।
पछिल्लो समयमा पक्राउ परेका ट्याक्टरहरु उत्खनन् गरिरहेकै बेला यसअघि पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । यसबाट कारबाहीमा परेर छुटे पनि पटकपटक एउटै साधनको प्रयोग गरेर तस्करले गछिया खोलाबाट नदीजन्य पदार्थ तस्करी गर्ने गरेको पुष्टि हुने प्रहरी अधिकारीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार यस खोलाबाट निकालिएको बालुवा प्रति ट्याक्टर चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । अरु खोलाको बालुवा दुई हजार पाँच सयभन्दा बढी नपर्ने प्रहरीको भनाइ छ । महँगो मूल्यमा बिक्री हुने भएकैले तस्करको नजर गछिया खोलातिर सोझिएको प्रहरीको बुझाइ छ । त्यही भएर कारबाहीमा परेर छुट्न साथ त्यही साधन तस्करीमा प्रयोग हुन्छ ।
कोरोना भाइरस संक्रमणका कारण निषेधाज्ञा गरिए पनि तस्करले गछिया खोलालाई छाडेका छैनन् । प्रहरी कडाईका बावजुत पनि लुकिछिपी त्यहाँको बालुवा र मिस्क गिट्टी धमाधम तस्करी भइरहेको छ ।

मोरङको गछिया खोला बालुवा र मिस्क गिट्टीका लागि प्रख्यात मानिन्छ । यहाँको बालुवा पूर्वका अरु खोलामा पाइने भन्दा उच्च गुणस्तरको रहेको निर्माणमा खटिने प्राविधिकहरु बताउँछन् । त्यही भएर प्रहरीले उत्खनन्मा प्रयोग गरिएका साधनलाई पक्राउ गर्दै कारबाहीको दायरामा ल्याए पनि तस्कर समूहको नजर भने यही खोलामा बारम्बार परिरहने गरेको प्रहरीका एक अधिकृतले बताए ।

कोरोना नियन्त्रण र निषेधाज्ञा पालनामा प्रहरी व्यस्त भएका समयमा गछिया खोला उत्खनन् गर्दै बालुवा, मिक्स गिट्टी, ढुंगा लगायतका नदीजन्य वस्तुुको तस्करी भइरहेको हो । प्रहरीबाट छलिन तस्करीमा संलग्नले विशेष गरेर रातको समयमा ट्याक्टर, टिपर र जेसीबी लगेर खोलाबाट अवैध उत्खनन् गर्दै तस्करी धन्दा चलाइरहेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएर बुझाइसकेपछि नगरपालिकाले एउटा ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गरेर छाड्छ । यसअघि पाँच हजार रुपैयाँ लिने गरेकोमा तस्करी नियन्त्रण नभएको भन्दै बढाएर जरिवानाको रकम १५ हजार पु¥याइए पनि खोलाबाट भइरहेको नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आउन सकेको छैन ।

असारदेखि भदौसम्म खोला तथा नदीहरुबाट नदीजन्य वस्तु उत्खनन्मा पूर्ण रुपमा रोक लगाइएको छ । तर तस्कर समूहले पटकपटक कारबाहीमा पर्दै छुटेको साधनकै प्रयोग गरेर नदीजन्य पदार्थको तस्करीलाई निरन्तरता दिने गरेका हुन् ।
त्यसलाई नियन्त्रण गर्न मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रहरीको छुट्टै विशेष टोली बनाएर परिचालन गरेका छन् । खोला आसपासमा उच्च निगरानी बढाएर कडाई गर्दै नदीजन्य पदार्थको अवैध तस्करी रोक्न प्रहरीले आफ्नो ध्यान केन्द्रीत गरेको उनको भनाइ छ ।
खोलाबाट भइरहेको बालुवा, मिक्स गिट्टी, ढुंगा लगायतको तस्करीलाई पूर्ण रुपमा नियन्त्रण गर्न एक पटक पक्राउ परेको साधन पुनः दोस्रो पटक संलग्न रहेमा कारबाहीको दायरा बढाउनु पर्ने र थप कारबाहीको विकल्प खोज्नु पर्ने सुझाव प्रहरीको छ । नत्र नदीजन्य वस्तुको तस्कारी नियन्त्रण चुनौतीपूर्ण बन्ने प्रहरीको विश्लेषण छ ।

जति पटक पक्राउ परे पनि तस्करीमा प्रयोग भएको साधनलाई जरिवाना भने एउटै तिराइन्छ । सुन्दरहरैंचा नगरपालिका स्रोतका अनुसार तस्करीमा लगाइएका साधनलाई जति पटक पक्राउ गरिए पनि जरिवाना बाहेक अरु थप कारबाही गर्न नियमले रोकेको छ ।
नगरपालिकाले प्रहरीले पक्राउ गरेर बुझाएका साधनमध्ये ट्याक्टरलाई १५, टिपरलाई २५ र जेसीबीलाई ३५ हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्